सुनसरी/मोरङ — जेन-जी आन्दोलनका कारण प्रहरी चौकीहरू विस्थापित भएपछि सीमावर्ती क्षेत्रमा लागुऔषधको तस्करी तीव्र बन्दै गएको छ। यसै क्रममा सशस्त्र प्रहरीले ठूलो परिमाणमा गाँजा बरामद गरेको छ।

गएराति सुनसरीको इटहरी–५ स्यार्सेकाली पेट्रोल पम्पअगाडि पार्किङ गरेर राखिएका दुई ट्रकबाट ५ हजार केजी गाँजा बरामद गरिएको हो। सशस्त्र प्रहरी बल वराह वाहिनी मुख्यालय पकलीका वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) सुधीरजङ्ग थापाका अनुसार, नियमित गस्तीका क्रममा ना ४ ख २९०१ नम्बरको ठूलो ट्रकबाट १ सय २४ बोरा र बा ५ ख ११६९ नम्बरको मिनी ट्रकबाट ३४ बोरा गरी १ सय ५८ बोरा गाँजा बरामद गरिएको हो।
बरामद गरिएको गाँजा थप अनुसन्धानका लागि आजै जिल्ला प्रहरी कार्यालय सुनसरीमा बुझाउने तयारी भएको प्रहरीले जनाएको छ। तर, दुवै ट्रकका चालक फरार छन्।
यस्तै, गएराति नै मोरङको विराटनगर–१५ पेट्रोल पम्प नजिकैबाट प्रहरीले बन्दाकोभी लोड गरेको बोलेरो गाडी चेकजाँच गर्ने क्रममा २ सय ६२ किलो गाँजा बरामद गरेको छ। यस घटनामा तीन जना पक्राउ परेका छन् भने चालक भने फरार रहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।