✍️ चन्द्रप्रसाद अधिकारी(बरिष्ठ प्राध्यापक, शिक्षाविद्, विश्लेषक तथा अनुसन्धानकर्ता हुन)

राजनीति भनेको कुनै पनि समाज, राज्य वा देशलाई व्यवस्थितरुपमा सञ्चालन गर्ने एउटा गतिशिल प्रक्रिया हो। यो कुनै पनि समूहभित्र शक्ति, स्रोत-साधन र अधिकारको बाँडफाँड कसरी गर्ने भन्ने विषयसँग सम्बन्धित छ। यसमा विभिन्न विचार, सिद्धान्त र निर्णयहरू समावेश हुन्छन् l राजनीतिले समाज, गाउ, सहर र राज्य भित्र बसोबास गर्ने मानिसहरूको जीवनलाई प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा प्रभावित गर्ने गर्छ। सरल भाषामा भन्नुपर्दा, राजनीति भनेको सामूहिक निर्णयहरू लिने कला र विज्ञान हो, जसले सबैका लागि न्याय, सुरक्षा र विकास सुनिश्चित गर्न मदत गर्दछ। के त्यसोभए नेपालमा राजनीति यसै गरि चलेको छ त ? यदि छैन भने किन नेपालमा राजनीति सहो किसिमले चलन सकेन ?

राजनीतिक पार्टी किन आवश्यक छन् ?

नेपालमा राजनीतिक गर्ने पुराना वा नया कुनै पनि पार्टी अहिलेको नेपालको बर्तामन परिबेशमा किन सफल हुन् सकेनन? के नेपालको राजनीतिक परिबेश नै गलत हो त? कुनै पनि राज्य संचालनको निम्ति राजनीतिक पार्टीहरू आधुनिक लोकतन्त्रका लागि अभिन्न अङ्ग नै हुन्। कुनै पनि देशको आर्थिक क्रान्ती त्यो देशको राजनीतिक पार्टीहरुले लिएको सिद्धान्त र नेतृत्वमा भर परेको हुन्छ त्यसैले राजनीतिक दलको आवश्यकता निम्न कारणले गर्दा हुने गर्छ:

  • विचार र सिद्धान्तको प्रतिनिधित्व: राजनीतिक पार्टीहरूले विभिन्न किसिमका विचार र सिद्धान्त बोक्छन्। यिनीहरूले समाजका फरक-फरक वर्ग, समुदाय र समूहहरूको आवाज र हितलाई प्रतिनिधित्व गर्दछन, जसले गर्दा राजनीतिमा सबैको विचारले ठाउँ पाउँछ।
  • जनतालाई संगठित गर्ने: पार्टीहरूले छरिएर रहेका जनतालाई एउटै विचारमा संगठित गरी उनीहरूको शक्तिलाई एकीकृत गर्छन्। यसले जनतालाई आफ्नो अधिकार र माग पूरा गराउनका लागि एउटै मञ्च प्रदान गर्छ।
  • नेतृत्व चयन र सरकार गठन: राजनीतिक पार्टीहरूले निर्वाचनमा भाग लिएर जनताको बीचबाट योग्य नेतृत्व चयन गर्न मद्दत गर्छन्। चुनावमा बहुमत प्राप्त गर्ने पार्टीले सरकार गठन गरी देशको शासन व्यवस्था चलाउँछ।
  • सरकारलाई जवाफदेही बनाउने: सत्तामा रहेको पार्टीले सरकार चलाउँछ भने, अन्य पार्टीहरूले विपक्षमा बसेर सरकारका कामको निगरानी गर्छन्। यसले सरकारलाई निरङ्कुश हुनबाट रोक्छ र जनता प्रति जवाफदेही बनाउन दबाब दिन्छ।
  • राजनीतिक स्थिरता: पार्टीहरूले देशमा राजनीतिक स्थिरता कायम राख्न महत्त्वपूर्ण भूमिका खेल्छन्। फरक-फरक विचारलाई एकै ठाउँमा ल्याएर छलफल र सहमतिबाट निर्णय लिने वातावरण बनाउँछन्, जसले देशमा अशान्ति र अराजकता फैलिन दिँदैन।
  • विकासको मार्गचित्र: प्रत्येक राजनीतिक पार्टीको आफ्नै नीति र कार्यक्रम हुन्छन। यसले देशको आर्थिक, सामाजिक र भौतिक विकासका लागि एउटा स्पष्ट मार्गचित्र तयार गर्छ। यसैको आधारमा जनताले कुन पार्टीलाई भोट दिने भनेर निर्णय गर्न सक्छन्।

राजनीतिक पार्टी किन टुटफुट हुन्छन ?

राज्य संचालन गर्न राजनीतिक पार्टीको भूमिका धेरै महत्वपूर्ण हुन्छ तर पनि कुनै पनि राजनीतिक पार्टी आफैंमा किन टुटफुट भएका छन् त ? कुनै पनि राजनीतिक पार्टी आफैंमा कहिल्यै टुट्दैन। यो तबसम्म सुरक्षित र सुदृढ रहन्छ, जबसम्म यसको नेतृत्व एक परिपक्व, धैर्यवान् र विशाल हृदय भएको व्यक्तिले गर्छ। यस्तो व्यक्ति जसले आफ्नो स्वार्थभन्दा पार्टी र राष्ट्रको हितलाई माथि राख्छ। तर जब पार्टीभित्र नेतृत्वलाई नै दोष लगाउन थालिन्छ, सबैले आफूलाई ‘ठूलो’ प्रमाणित गर्न खोज्छन्, जब ‘म ठीक र तिमी गलत’ भन्ने भावना हावी हुन्छ र ‘मेरो विचार नै अन्तिम हो’ भन्ने अडान लिइन्छ, तब त्यो पार्टी प्रेम र सहकार्यको पार्टी नभएर अहंकार र षड्यन्त्रको मञ्च बन्छ।

यस सन्दर्भमा विन्स्टन चर्चिलको भनाइ सान्दर्भिक देखिन्छ, ‘राजनीतिमा कुनै स्थायी शत्रु वा स्थायी मित्र हुँदैन, केवल स्थायी स्वार्थ हुन्छ।’ जब पार्टीभित्र सामूहिक स्वार्थभन्दा व्यक्तिगत अहंकार र स्वार्थले प्राथमिकता पाउँछ, तब पार्टीको जग कमजोर हुन थाल्छ। नेताहरू ‘म नभए पार्टी चल्दैन’ भन्ने सोच राख्न थाल्छन् र आफ्नो पार्टी भित्रका सदस्यहरूको कुरा सुन्नु भन्दा बाहिरका मान्छेको बहकाउमा लाग्न थाल्छन्।

राजनीतिक पार्टी त्यतिबेला टुट्छ, जब अहंकारले पार्टीगत सिद्धान्त र प्रेमलाई जित्छ। यो तब चिरिन्छ, जब संवादको सट्टा शब्दको चोटहरु साटिन थाल्छन्। पार्टी त्यतिबेला भत्किन्छ, जब क्षमा भन्दा आरोप बलियो हुन्छ। पार्टीभित्रको आन्तरिक कलहले त्यसलाई मात्रै कमजोर बनाउँदैन, यसले सिंगो राजनीतिक प्रणाली माथि नै जनताको विश्वास डगमगाइ दिन्छ। नेल्सन मन्डेलाले भनेझैं, ‘कसैलाई सँगै लैजानका लागि तपाईंले उसको भाषा बोल्न सक्नुपर्छ र ऊ हिँड्ने बाटोमा हिँड्न सक्नुपर्छ।’ पार्टी भित्रका सदस्यहरूको भावना बुझ्न र उनीहरूलाई एकताबद्ध राख्न नसक्दा पार्टीको जग खल्बलिन पुग्छ।

एउटा जीवन्त राजनीतिक पार्टी टिकाउन त्यसको भव्य कार्यालय वा नाराले होइन, बरु भित्र बस्ने नेता र कार्यकर्ताहरूले ‘म एक्लो होइन, हामी हौं’ भन्ने भावना राख्नुपर्छ। जहाँ एकअर्काका कमी-कमजोरीलाई ढाकिदिने र सच्याईदिने मन हुन्छ l कोही पनि ‘ठूलो’ बन्न हतार गर्दैनन्, त्यस्तो पार्टीमा जनताको विश्वास र आशिर्वाद हुन्छ। महात्मा गान्धीको विचारमा, ‘राजनीतिमा कुनै पनि कुरा असम्भव छैन, यदि तपाईंमा धैर्यता र साहस छ भने।’ तर जब धैर्यताको ठाउँमा हतार, र साहसको ठाउँमा अहंकारले स्थान लिन्छ, तब पार्टीको पतन निश्चित हुन्छ।

यो कुरा सधैं याद राखौं, राजनीतिक पार्टी चलाउन गाह्रो छैन, तर अहंकार छोड्न गाह्रो छ। यदि पार्टीका हरेक सदस्यले एकअर्काको कुरा सुन्ने अभ्यास गरे र ‘म’ भन्दा ‘पार्टी र सम्बन्ध’ ठूलो हो भन्ने बुझे भने, त्यो पार्टी सधैं अटुट रहन्छ। प्लेटोले भनेका थिए, ‘राजनीतिमा सबैभन्दा ठूलो पुरस्कार भनेको असल नेतृत्व प्राप्त गर्नु हो।’ तर जब नेताहरू व्यक्तिगत लाभ र प्रशंसामा लिप्त हुन्छन्, तब पार्टी र देश दुवैले असल नेतृत्व गुमाउँछन्।

अन्तमा, देवीलाल पाण्डेको भावपूर्ण भनाइमा थपिएका यी महान विद्वानहरूको विचारले पुष्टि गर्छ कि एक जीवन्त राजनीतिक पार्टी त्यसबेलासम्म मात्रै जीवन्त रहन्छ, जबसम्म त्यहाँ ‘हामी’को भावना प्रबल हुन्छ, र ‘म’ को अहंकारले टाउको उठाउन पाउँदैन। पार्टीको अस्तित्व त्यसको विचारधारामा मात्र होइन, बरु नेता तथा कार्यकर्ताबीचको आपसी विश्वास, सम्मान र सहकार्यमा निहित हुन्छ।

राजनीतिक पार्टी टुटफुट हुनुका विभिन्न कारणहरू छन्। यी कारणहरूलाई मुख्यतः वैचारिक, नेतृत्वगत र व्यक्तिगत स्वार्थको कोण बाट हेर्न सकिन्छ।

नेतृत्वको टकराव र अहंकार

  • अहंकारको जित: जब पार्टी भित्रका नेताहरू बीच ‘म ठीक, तिमी गलत’ भन्ने भावना हावी हुन्छ र आफ्नो अहंकारलाई पार्टीको हितभन्दा माथि राखिन्छ, तब पार्टी टुट्छ।
  • सामूहिक निर्णयको अभाव: नेतृत्वले सामूहिक छलफल र सहमतिमा भन्दा एकलौटी रूपमा निर्णय लिन थाल्दा अन्य नेता तथा कार्यकर्तामा असन्तुष्टि बढ्छ र पार्टीभित्र विभाजनको बीउ रोपिन्छ।
  • नेतृत्व हस्तान्तरणमा समस्या: नयाँ पुस्तालाई जिम्मेवारी दिन हिचकिचाउने र एउटै व्यक्ति लामो समयसम्म नेतृत्वमा बसिरहँदा युवा नेताहरूमा निराशा पैदा हुन्छ, जसले गर्दा उनीहरूले नयाँ पार्टी खोल्ने बाटोमा हिडने गरेको पाईन्छ।

वैचारिक विचलन

  • सिद्धान्तबाट विचलित हुनु: जुन विचार र सिद्धान्तका आधारमा पार्टी स्थापना भएको हुन्छ, त्यसबाट पार्टी विचलित हुँदा वा आफ्नो मूल दर्शन त्याग्दा कार्यकर्ता र शुभेच्छुकहरूमा भ्रम पैदा हुन्छ। यसले पार्टीभित्र वैचारिक ध्रुवीकरण ल्याउँछ।
  • नीति र कार्यक्रममा अस्पष्टता: पार्टीको नीति र कार्यक्रममा स्पष्टता नहुँदा फरक-फरक नेताहरूले आआफ्नो तरिकाले व्याख्या गर्छन्, जसले गर्दा वैचारिक विभाजन हुन्छ।

गुटबन्दी र व्यक्तिगत स्वार्थ

  • अधिकार र अवसरको होडबाजी: पार्टीभित्रका नेताहरूबीच पद, शक्ति र आर्थिक लाभका लागि गुटबन्दी हुँदा आन्तरिक कलह बढ्छ।
  • पार्टीभित्रको असहिष्णुता: फरक विचार राख्ने नेतालाई निषेध गर्ने र आफ्नै गुटलाई मात्र अवसर दिने प्रवृत्तिले पार्टीभित्र न्यायको भावना हराउँछ।
  • आरोप-प्रत्यारोप: संवाद र छलफलको सट्टा एकअर्कालाई सार्वजनिक रूपमा आरोप-प्रत्यारोप लगाउन थाल्दा पार्टीको छवि मात्र बिग्रँदैन, यसले पार्टी भित्रको आन्तरिक सम्बन्ध पनि बिग्रन्छ।

अन्त्यमा, राजनीतिक पार्टीहरू टुटफुट हुनुको मूल कारण संवादहीनता, वैचारिक अस्पष्टता र व्यक्तिगत स्वार्थको टकराव नै हो। जबसम्म नेताहरू ‘म’ भन्ने भावना भन्दा माथि उठेर ‘हामी’ भन्ने सामूहिक भावनाको कदर गर्दैनन्, तबसम्म कुनै पनि पार्टी अटुट रहन सक्दैन।

एक जीवन्त राजनीतिक पार्टीलाई सुधार गर्नका लागि केही उपायहरू:

नेतृत्वमा सुधार: नेतृत्व भनेको पार्टीको मार्गदर्शक हो। जब यो कमजोर हुन्छ, पार्टीको दिशा पनि अनिश्चित बन्छ। यसलाई सुधार्नका लागि निम्न काम गर्नुपर्छ:

  • सामूहिक नेतृत्वको विकास: पार्टीभित्र एकजना मात्र नेताको वर्चस्व नभई सामूहिक नेतृत्व प्रणाली अपनाउनु पर्छ, जहाँ सबैको सदस्यको विचारहरुको कदर होस्।
  • जवाफदेहिता र पारदर्शिता: नेतृत्वले गरेका हरेक निर्णय पारदर्शी हुनुपर्छ र त्यसको पूर्ण जवाफदेहिता आफैले लिनु सक्नुपर्छ। यसस्ता कार्यले कार्यकर्ता र जनतामा विश्वास जगाउँछ।
  • सक्षमतामा आधारित छनोट: नेतृत्व चयन गर्दा परिवारवाद वा गुटगत स्वार्थ भन्दा योग्यता, क्षमता र निष्ठालाई प्राथमिकता दिनुपर्छ।

आन्तरिक लोकतन्त्रको सुदृढीकरण: पार्टीभित्र लोकतान्त्रिक अभ्यास नहुँदा कार्यकर्तामा निराशा बढ्छ र पार्टी कमजोर हुन्छ। आन्तरिक लोकतन्त्रलाई बलियो बनाउन निम्न काम गर्नुपर्छ:

  • नियमित अधिवेशन र भेला: पार्टीका सबै तहमा नियमित रूपमा अधिवेशन, भेला र बैठकहरू आयोजना गर्नुपर्छ ताकि सबै कार्यकर्ताहरूले आफ्नो तहका कमिटीहरुमा आफ्ना कुरा राख्ने मौका पाऊन्।
  • निर्णय प्रक्रियामा सबैको सहभागिता: महत्त्वपूर्ण निर्णयहरू लिँदा केन्द्र देखि स्थानीय तह सम्मका सबै सदस्यको सुझावलाई समेट्नुपर्छ। ‘म’को सत्ता ‘हामी’को भावना विकास गर्नु अनिवार्य छ।
  • विचारको सम्मान: पार्टीभित्र फरक मत वा आलोचनालाई निषेध गर्नुको सट्टा त्यसलाई स्वस्थ बहसको रूपमा लिई रचनात्मक तरिकाले सम्बोधन गर्नुपर्छ। कहिलेकाही फरक मत पनि पार्टीको हितका लागि एउटा गतिलो कवज बन्न सक्छ भने सोच राख्न सक्नुपर्छ l

बौद्धिक व्यक्तिहरूको समूह: कुनै पनि राजनीतिक पार्टीलाई जीवन्त र प्रभावकारी बनाउन बौद्धिक व्यक्तिहरूको समूह अपरिहार्य हुन्छ। केवल नारा र भाषणले मात्र पार्टी बलियो हुँदैन, त्यसलाई दूरगामी सोच र वैज्ञानिक नीतिहरूले निर्देशित गर्नुपर्छ। यसका लागि बौद्धिक व्यक्तिहरूको समूह निम्न कारणले गर्दा अनिवार्य नै हुन्छ:

  • नीति निर्माणमा विज्ञहरूको संलग्नता: पार्टीले नीति तथा कार्यक्रम बनाउँदा आफ्ना कार्यकर्ताहरूका अतिरिक्त विभिन्न क्षेत्रका बौद्धिक व्यक्तिहरू, विज्ञहरू, र प्राध्यापकहरूको छुट्टै समूह बनाएर उनीहरूको सुझाव लिनुपर्छ। यसले पार्टीका नीतिहरूलाई थप व्यावहारिक, वैज्ञानिक र दूरगामी बनाउन मद्दत गर्छ।
  • बौद्धिक बहस र अनुसन्धान: पार्टीले नियमित रूपमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मुद्दाहरूमा बौद्धिक बहस र अनुसन्धान गर्ने वातावरण सिर्जना गर्नुपर्छ। यसबाट पार्टीका नेता र कार्यकर्ताहरूमा निर्णय क्षमता र वैचारिक स्पष्टता बढ्छ।
  • ज्ञानमा आधारित नेतृत्वको विकास: पार्टीले आफ्ना नेताहरूलाई सैद्धान्तिक र वैचारिक रूपमा सबल बनाउनका लागि बौद्धिक गोष्ठी, तालिम र पठन संस्कृतिलाई प्रोत्साहन दिनुपर्छ। यसले उनीहरूलाई व्यक्तिगत स्वार्थभन्दा माथि उठेर राष्ट्र र जनताको हितमा काम गर्न प्रेरित गर्छ।

कार्यकर्ता व्यवस्थापन र परिचालन: कार्यकर्ता पार्टीका मेरुदण्ड हुन्। उनीहरूको उचित व्यवस्थापन र परिचालन बिना पार्टी बलियो हुन सक्दैन। यसका लागि निम्न अनुसाको काम गर्नुपर्छ:

  • कार्यकर्ताको सम्मान र मूल्यांकन: पार्टीका लागि खट्ने कार्यकर्ताहरूको योगदानलाई उचित कदर गर्दै उनीहरूको क्षमताको आधारमा जिम्मेवारी दिदै कार्यकर्ता तथा अरु सदस्यहरुको विश्वास पनि गर्न सक्नुपर्छ ।
  • भ्रष्टाचार र अनियमितता माथि शून्य सहनशीलता: पार्टीभित्र हुने कुनै पनि किसिमको भ्रष्टाचार वा अनियमितताको गन्ध आएमा त्यसलाई कडाइका साथ नियन्त्रण गर्नुपर्छ। नत्र त्यो पार्टीको अस्तित्व सदाको लागि समाप्त भएर जान सक्छ l
  • प्रशिक्षण र वैचारिक शिक्षा: कहिलेकाही कार्यकर्ताहरु सामाजिक संजाल र अन्य कुराको बकाउमा कुदिरहेका हुन्छन यस्तो अवस्था आउँन नदिन कार्यकर्ताहरूलाई पार्टीको सिद्धान्त, विचार र राष्ट्रिय मुद्दाका बारे नियमित रूपमा प्रशिक्षित गर्नुपर्छ ताकि उनीहरू सैद्धान्तिक रूपमा सबल बनून्।

पार्टी र जनताबीचको सम्बन्ध सुधार: जनताको विश्वास गुमाएको पार्टी लामो समय टिक्न सक्दैन। जनता सँगको सम्बन्ध सुधार्न निम्न अनुसारको कार्य गर्नुपर्छ:

  • जनतासँगको निरन्तर संवाद: पार्टीले आफ्ना कार्यक्रम र नीतिबारे जनतालाई जानकारी दिनुका साथै उनीहरूको गुनासो र सुझाव सुन्नका लागि बौदिक व्यक्तिहरुको स्थायी संयन्त्र बनाउनुपर्छ। जुन संयन्त्रले जनगुनासो सुन्ने र नेतृत्वलाई कबदारी गर्न सक्ने अधिकार दिएको हुनुपर्छ l
  • जनमुखी कार्यक्रम: पार्टीले जनताको वास्तविक आवश्यकता र समस्यामा आधारित कार्यक्रमहरू ल्याउनुपर्छ, केवल चुनावका लागि मात्र होइन।
  • अहंकारको त्याग: नेता तथा कार्यकर्तामा हुने ‘म’ भन्ने भावनाको अन्त्य गरी ‘हामी’ भन्ने भावना स्थापित गर्नुपर्छ। अहंकारले प्रेम र सद्भावलाई मेटाउँछ, जसले पार्टीलाई कमजोर बनाउँछ।

यी सबै सुधारका उपायहरूले पार्टीलाई झन् शक्तिशाली र जनमुखी बनाउन मद्दत गर्छ। जब पार्टीभित्र आन्तरिक लोकतन्त्र सुदृढ हुन्छ र सबै सदस्यले आफ्नो भूमिका महत्त्वपूर्ण भएको महसुस गर्छन्, तब मात्र त्यो पार्टीले देश र जनताका लागि सकारात्मक परिवर्तन ल्याउन सक्छ।

निष्कर्ष

नेपालको राजनीतिमा दलहरू टुटफुट हुनुको मूल कारण सैद्धान्तिक विचलनभन्दा पनि नेताहरूको अहंकार, व्यक्तिगत स्वार्थ र संवादहीनता हो। राजनीतिक दलहरू कुनै पनि लोकतान्त्रिक राज्य सञ्चालनका लागि अपरिहार्य भए पनि नेपालमा यिनीहरू ‘अहंकारको मञ्च’ मा परिणत भएका छन्।

एउटा जीवन्त पार्टीले आफ्नो अस्तित्व जोगाउनका लागि ‘म’ को भावना त्यागेर ‘हामी’ को भावनालाई स्थापित गर्नुपर्छ। यसका लागि सामूहिक नेतृत्व, आन्तरिक लोकतन्त्रको अभ्यास र निर्णय प्रक्रियामा सबैको सहभागिता, बौव्दिक समर्थन आदि अनिवार्य हुन्छ। पार्टीको नेतृत्वले योग्य र क्षमतावान् व्यक्तिलाई अगाडि बढाउने, वैचारिक बहसलाई प्रोत्साहन दिने र कार्यकर्ताको योगदानलाई कदर गर्ने परिपाटी बसाउन सक्नुपर्छ ।

अन्त्यमा, राजनीतिक पार्टीहरूलाई टिकाउन भव्य कार्यालय वा ठूला नाराले मात्र पुग्दैन, बरु नेता तथा कार्यकर्ता बीचको पारस्परिक विश्वास, सम्मान र सहकार्य आवश्यक हुन्छ। जब सम्म दलका नेताहरू व्यक्तिगत लाभ र कुर्सीको मोहबाट माथि उठेर राष्ट्र र जनताको हितमा केन्द्रित हुँदैनन्, तबसम्म कुनै पनि पार्टीले दिगो सफलता हासिल गर्न सक्दैन। तसर्थ, नेपालको राजनीतिलाई सहि दिशामा डोर्याउन दलहरूमा सुधार र नैतिक क्रान्तिको आवश्यकता देखिन्छ।

By Dev

Leave a Reply

Your email address will not be published. Required fields are marked *