✍️ चन्द्रप्रसाद अधिकारी
(बरिष्ठ प्राध्यापक, शिक्षाविद्, विश्लेषक तथा अनुसन्धानकर्ता)
ऐतिहासिक जेन-जी विद्रोहको एक महिना आज पूरा हुँदै, अब समय आएको छ— कि त्यो बोद्रोहको गहिरो आत्मसमीक्षा। अब उप्रान्त थप मुठभेड र विग्रहको बाटो होइन, बरु अग्रगामी रूपान्तरणले सजिएको दिगो शान्ति र समृद्धिको मार्ग प्रशस्त गरी देश विकासमा लाग्नु।
यस विद्रोह केवल एक आकस्मिक घटना नभई, विगत लामो समयदेखि सत्ताको बागडोर सम्हालेका दलका प्रमुख टाउका’हरू र त्येसा माथि पनि केपी ओली र रमेश लेखाखारु मा मौलाएको चरम सत्तालिप्सा, कुशासन, र भ्रष्टाचारले युवा तथा आम जनमानसमा जम्मा भएको आक्रोशको ज्वालामुखीका रूपमा बुझ्न सकिन्छ।
देशभित्र जब जनअसुरक्षाको कालो बादल मडारिन्छ, राज्यका बिभिन्न अंगहरू दलीयकरणको भूमरीमा फसेर क्षयीकरण हुन्छन्, तब अचानक जनविद्रोहको विष्फोट हुँदा कस्तो भयावह स्थिति सिर्जना हुन्छ र कसरी संवेदनशील भूराजनीति क्रियाशील हुन्छ भन्ने जलानता उदाहरण भद्र २३ र २४ गतेको जेन जी बिद्रोहले प्रस्ट पारेको छ, त्यो जेन जी विद्रोहको सत्यलाई अझै पनि तत्कालिन सरकारका प्रधानमन्त्री ओली स्वीकार्न तयार नभएको जस्तो हिजो गुन्डुको सम्बोधनले देखाउछ सायद यहि नै उहाको अर्को महा भुल हुन् पनि सक्ला l त्येसैले जेन जी बिद्रोहलाई बेलैमा बलियोसँग आत्मसात गरौं।
लोकतन्त्रमा लोकतन्त्रका खम्बा राजनीतिक दलहरू नै सुशासनका वाहक हुन् भन्ने तथ्यलाई स्वीकार गर्दै, पुराना दलहरूको रूपान्तरण सहित पुस्तान्तरण र नयाँ वैकल्पिक शक्तिहरूको बृहद् ध्रुवीकरण/मोर्चाबन्दी मार्फत देशलाई पुनर्निर्माण र नवनिर्माणको द्रूत मार्गमा हिडाउनुको विकल्पै छैन।
तुरुन्तै, विद्रोहका नायक जेन-जी युवाहरूका जायज मागहरू प्रत्यक्ष निर्वाचित प्रधानमंत्रीको निर्वाचन, तत्कालिन दमनकारी सरकारलाई गिरफ्तार, भ्रष्टाचारीमाथि कार्वाही, निर्वाचनमा उम्मेदवारको न्यूनतम उमेर २१ वर्ष कायम, विदेशबाट मतदानको व्यवस्था आदि पूरा गरी स्वतन्त्र र निष्पक्ष निर्वाचन समयमै सम्पन्न गरौं।
स्मरण रहोस, जसले अहिले पनि हठ प्रदर्शन गर्दै देशलाई थप द्वन्द्वको दिशामा धकेल्ने धृष्टता गर्छ र देशको स्वाधीनता तथा लोकतान्त्रिक गणतन्त्रलाई नै धरापमा पार्ने कुकृत्य गर्छ, उसलाई नेपाली इतिहासले कहिल्यै क्षमा गर्ने छैन!
यो लेखमा, विद्रोहको मूल भावना र यसलाई पछ्याएर आएका विभिन्न सकारात्मक र नकारात्मक दृष्टिकोणहरूको विश्लेषण गर्दै, देशलाई अग्रगामी रूपान्तरणको बाटोमा डोऱ्याउने साझा संकल्प सहित प्रस्तुत गरिएको छ ।
सकारात्मक दृष्टिकोण: जेन-जी विद्रोहको औचित्य र मागहरूको विस्तृत विश्लेषण
जेन-जी विद्रोहलाई केवल सडकको आक्रोशको रूपमा बुझ्नु सतही हुनेछ। यो विद्रोह लामो समयदेखि नेपाली राजनीतिमा जमेको विकृतिविरुद्ध युवा पुस्ताको चेतनामूलक विद्रोह हो, जसले देशमा गम्भीर र सकारात्मक परिवर्तनका लागि आधार तयार पारेको छ।
१. जायज आक्रोशको सशक्त अभिव्यक्ति (युवा पलायन र आर्थिक संकट): यो विद्रोह पुरानो राजनीतिक नेतृत्वको असफलता र चरम गैरजिम्मेवारी विरुद्धको एउटा निर्णायक घण्टी हो भन्दा न्यायोचित नै हुन्छ होला।
- जन-जीवनमाथिको गम्भीर प्रभाव: विगतमा सत्ताको बागडोर सम्हालेका नेताहरूको सत्तालिप्सा, कुशासन र संस्थागत भ्रष्टाचारको परिणामस्वरुप देशले ठूलो मूल्य चुकाउनुपर्यो।
- युवा पलायनको पीडा: लगभग ८० लाखभन्दा बढी युवाहरू (देशको सक्रिय जनशक्तिको ठूलो हिस्सा) लाई विदेशको तातो घाममा ‘खाडीको राँग’ बन्न बाध्य पार्ने नेतृत्व विरुद्धको आक्रोश पूर्णतः न्यायोचित छ। यसले देशको भविष्यमाथि नै प्रश्न उठाएको छ।
- आर्थिक संकटको भार: नेताहरूको अदूरदर्शी नीति र भ्रष्टाचारले गर्दा देश माथि रु ३० खर्ब जति ऋणको भार थपियो। नयाँ पुस्तालाई विकास होइन, ऋणको बोझ मात्र थमाइएकोमा गरिएको विरोध स्वाभाविक छ।
- सार्वजनिक क्षेत्रको निजीकरण: विद्यालय र अस्पताल जस्ता आधारभूत सेवाका क्षेत्रहरू समेत धन कमाउने ‘पसल’ बन्नु तथा रेल, उद्योग, विकासका योजनाहरू केवल नेताका पोस्टर र भाषणमा मात्र सीमित हुनुजस्ता विकृतिहरूको विरुद्धमा यो प्रहार आवश्यक थियो।
२. रूपान्तरण र पुस्तान्तरणको अनिवार्य आवश्यकता: विद्रोहले राजनीतिक संरचनालाई नै गहिरो आत्मसमीक्षाका लागि बाध्य बनाएको छ।
- पुरानो शक्तिको रूपान्तरणमा दबाब: लोकतन्त्रका सुन्दर खम्बा मानिने राजनीतिक दलहरूलाई उनीहरूको भ्रष्ट, अधिनायकवादी र व्यक्तिवादी शैली त्यागेर नैतिकवान् बन्न यो विद्रोहले बाध्यकारी दबाब सिर्जना गरेको छ।
- पुस्तान्तरणको मार्गचित्र: नेतृत्वमा केवल अनुहार फेर्नुको साटो पुस्तान्तरण सहितको गुणात्मक रूपान्तरण अपरिहार्य रहेको स्पष्ट सन्देश दिएको छ।
- नयाँ शक्तिको ध्रुवीकरण: देशलाई पुनर्निर्माण र नवनिर्माणको द्रूतमार्गमा हिँडाउन अब पुराना र नयाँ शक्तिहरूको बृहद् ध्रुवीकरण/मोर्चाबन्दी को विकल्प छैन भन्ने स्पष्ट मार्गनिर्देश गरेको छ।
- दिगो शान्ति र समृद्धिको आह्वान: थप मुठभेड र विग्रहको बाटो नरोजेर अग्रगामी रूपान्तरणसहितको दिगो शान्ति र समृद्धिको मार्ग प्रशस्त गर्नुपर्ने उच्च आह्वान गरेको छ।
३. तत्कालिन र दूरगामी सुधारका स्पष्ट मागहरू: जेन-जी युवाहरूले उठाएका मागहरू केवल भावनात्मक नभई, देशको राजनीतिलाई स्वच्छ बनाउने व्यावहारिक सुधारमा केन्द्रित छन्।
- प्रप्रत्यक्ष निर्वाचित प्रधानमन्त्री: प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको निर्वाचन प्रणाली लागू गर्ने मागले अस्थिर संसदीय व्यवस्थाको अन्त्य गरी स्थिर सरकार र जवाफदेही नेतृत्वको चाहना युवाहरुमा बढेको देखाउँछ।
- दण्डहीनताको अन्त्य: तत्कालिन आन्दोलनमा हिंस्रक दमन गर्ने तकालिन सरकारका प्रधानमन्त्री र मंत्री परिषदका सदस्यहरु, अस्थानिय तह देखि केन्द्र सम्मका भ्रष्टाचारीहरू माथि तुरून्त कार्वाही हुनुपर्ने मागले देशमा मौलाएको दण्डहीनताको संस्कारलाई तोड्न खोजेको देखिन्छ।
- राजनीतिमा युवा पहुँच: उम्मेदवारको न्यूनतम उमेर हद २५ वर्षबाट घटाएर २१ वर्ष कायम गर्ने मागले युवाहरूलाई राजनीतिमा औपचारिक रूपमा प्रवेश गरी नेतृत्व लिन सहजता प्रदान गर्ने देखाउँछ।
- समावेशी निर्वाचन: विदेशबाट मतदानको व्यवस्था (डायस्पोरा भोटिङ) लागू गर्ने मागले ती ८० लाख भन्दा बढी विदेशिएका नेपाली नागरिकको मतदान अधिकार सुनिश्चित गरी उनीहरूलाई देशको निर्णय प्रक्रियामा सहभागी गराउन खोजेको देखाउँछ।
४. नेताहरूको दमनकारी अहंकारको खण्डन (सिंहदरबार जलनुको जिम्मेवारी): विद्रोहले नेताहरूको अधिनायकवादी, हठी र आत्ममुग्ध शैलीलाई पौराणिक दृष्टान्तको माध्यमबाट खण्डन गरेको छ।
- ऐतिहासिक तुलना: २०४६ र २०६३ सालमा राजाले समेत जनताको मागलाई सम्मान गर्दा होस् वा तकालिन माओवादीले चलाएको १० बर्षे जान बिद्रोहमा सम्तेत सिंहदरबार, सर्बोच्च अदालत लगायत अन्य सरकारी कार्यालयहरु नजल्नु तर कथित ‘लोकतन्त्रका हिमायती’ दावी गर्ने नेताहरूको भ्रष्ट हठका कारण ती रास्ट्र धरोहरहरु जल्नुले उनीहरूको अहंकार राणा, पञ्च, राजा वा माओवादी जनयुद्दको भन्दा पनि बढी हानिकारक रहेको पुष्टि गर्दछ।
- रावणको अहंकारसँग तुलना: बिभिन्न सामाजिक संजाल र अनलाईन खबरहरुमा रास्ट्र धरोहरहरु जल्नुको घटनामा ‘लंका जल्नुमा हनुमानजीको चञ्चलता होइन, रावणको अहंकारको नै मुख्य दोष हो’ भन्ने तर्कले जेन-जी युवा दोषी नभई आन्दोलनलाई भिजिलान्ते प्रयोग गरेर ‘हइज्याक’ गर्न खोज्ने र तत्कालिन ओली सरकारको दम्भ मुख्य दोषी रहेको पुष्टि गर्दछ।
- ‘दुर्योधन’को आत्ममुग्धतामाथि प्रहार: जनताको भरोसा, नैतिकता र समयले दिएको चेतावनी सबै गुमाएर पनि ‘हामी लुकेका होइनौं, आराम गर्दैछौं’ भन्ने तत्कालिन सरकारका प्रधानमन्त्रीलाई महाभारतका ‘दुर्योधन’ सँग तुलना गर्दै उनीहरूको अहंकारी आत्ममुग्धता माथि कडा प्रहार गरेको पुष्टि गर्दछ।
यसरी, जेन-जी विद्रोहलाई नेपाली इतिहासले देशको राजनीतिक रोगको निदान र अग्रगामी बाटोको खोजी का रूपमा चिन्ने निश्चित छ।
नकारात्मक दृष्टिकोण: अराजकता र संवैधानिक संकटको खतरा
जेन-जी विद्रोहले राजनीतिक सुधारको माग गरे पनि, यसको प्रतिक्रियामा पुरानो राजनीतिक नेतृत्व ओली सरकारलेले देखाएको कार्यशैली र अडानले देशलाई गम्भीर संवैधानिक एवं राजनीतिक चुनौती को भुमरीमा धकेलेको छ।
१. राजनीतिक अस्थिरता र द्वन्द्वको उच्च जोखिम: नेतृत्वले समाधानको बाटो खोज्नुको सट्टा थप सङ्घर्ष र द्वन्द्व निम्त्याउने हठ देखाएको छ।
- जाँचबुझ आयोगको अस्वीकृति: केपी ओलीले शुशुला कार्की सरकारद्वारा गठित छानबिन आयोगको प्रतिवेदन लाई समेत ‘नमान्ने’ चेतावनी दिनुले मुलुकमा अराजकता फैलिने स्पष्ट खतरा बढेको देखिन्छ। यसले राज्यका संबैधानिक अंगहरु प्रति नै अनास्था र नकारात्मक संदेश फैलाउन सक्छ।
- अवैधानिक बाटोमा मुलुकलाई धकेल्ने प्रयास: जनआन्दोलनबाट उत्पन्न संकटलाई संवैधानिक दायराभित्र समाधान गर्नुको सट्टा ‘अवैधानिक बाटो’ रोजेर देशलाई थप द्वन्द्वको दिशामा धकेल्ने धृष्टता भइरहेको देख्दा राज्यमा मुडभेड हुने संकेतलाई उजागर गर्छ।
- चुनाव बहिष्कार र संसद पुनर्स्थापनाको हठ: केपी ओली लगायत अरु केहि नेताहरूले चुनावमा नजाने घोषणा गर्दै, असंवैधानिक रूपले विघटन गरिएको तत्कालीन संसद पुनर्स्थापना को माग गरिरहनुले संवैधानिक प्रक्रियामाथि नै प्रश्न उठाएको छ। यसले लोकतान्त्रिक बाटोमा फर्कनुको सट्टा पुरानै बर्बादीतर्फ जाने खतरा देखाउँछ।
२. शक्ति प्रदर्शन, धम्की र व्यक्तिगत दम्भको राजनीति: जनभावनाको कदर गर्नुको साटो, नेताहरू शक्ति प्रदर्शन र दम्भ को राजनीतिमा उत्रिएका छन्।
- देश जलाउने धम्की: एमाले नेताहरूले “अध्यक्ष ओलीलाई छोए मात्र देशभरि आगो बल्छ” जस्ता कडा, भडकाउ र अराजक चेतावनीहरू दिनुले समस्यालाई राजनीतिक रूपमा समाधान गर्नुको सट्टा व्यक्तिगत दम्भ र गुण्डागर्दीको शैली लाई प्राथमिकता दिएको देखिन्छ।
- संवैधानिक अंगहरूमाथि दम्भ: यस्तो धम्कीपूर्ण अभिव्यक्तिको सीधा सम्बन्ध अख्तियार, अदालत, पुलिस प्रशासन र कर्मचारी माथिको दलीय र व्यक्तिगत नियन्त्रणको दम्भ सँग रहेको भन्दै तीव्र आलोचना भएको छ। यसले विधिको शासन लाई कमजोर बनाउन सक्छ।
- ‘दुर्योधन’हरूको अहंकारी हठ: महाभारतको कथाका ‘दुर्योधन’ जस्तै, जनताको भरोसा, नैतिकता र समयले दिएको चेतावनी लाई बेवास्ता गर्दै नेताहरूले ‘हामी लुकेका होइनौं, आराम गर्दैछौं’ भन्नुले उनीहरूमा आत्ममुग्धताको तन्तु अझै टुटेको छैन र अहंकारी हठ कायम रहेको स्पष्ट हुन्छ। जेन जी भाईबहिनीको कृष्णको भूमिकालाई बिर्सिएर ‘दुर्योधन’हरूको अहंकारी हठ गरेर बसेमा भोलिका दिनमा अझै झन् ठुलो क्षति हुने सम्भावना देखिन्छ l
३. विद्रोहलाई बदनाम र विखण्डित गर्ने प्रयास: पुरानो नेतृत्वले युवा आक्रोशलाई सम्बोधन गर्नुको सट्टा उल्टै आन्दोलनलाई दूषित पार्ने प्रयत्न गरिरहेको निम्न आधारमा पुस्टि हुन्छ।
- ‘षड्यन्त्र’को झूटो आरोप: देशभित्र ‘षड्यन्त्र भयो’ भन्ने पुरानो नेतृत्वको बयानबाजी समस्यालाई समाधान गर्नुभन्दा पनि विद्रोहको वैधतामाथि प्रश्न उठाउने र यसलाई बदनाम गर्नेतर्फ केन्द्रित रहेको देखिन्छ।
- आन्दोलन ‘हाइज्याक’ गर्ने दुष्साहस: भिजिलान्ते पठाएर जेन-जी युवाहरूको निष्पक्ष आन्दोलन लाई ‘हइज्याक’ गर्न खोज्ने र देश जलाउने प्रयास गर्नेहरू नै भ्रष्टाचारी र हत्यारा दोषी भएको तर्कले पुरानो नेतृत्वको विद्रोह दबाउने नियत स्पष्ट गर्छ।
- जनतालाई उचाल्ने र भड्काउने प्रवृत्ति: ‘’यस्तै तत्वहरूले भाँडभैलो मच्चाएर आन्दोलन भएको हो’’ भन्ने जस्ता भनाइहरूले समस्यालाई राजनीतिक रूपमा सम्बोधन गर्नुको सट्टा युवाहरूलाई उचालेर अराजकता फैलाउने प्रवृत्तिलाई बढावा दिएको देखिन्छ।
४. संवैधानिक मर्यादा र राष्ट्रियताको ठाडो उल्लङ्घन: नेताहरूको अभिव्यक्तिले संवैधानिक मूल्यमान्यता प्रति नै घोर अनादर गरेको निम्न कारणले देखाउछ।
- संविधान र कानुन अस्वीकार: देशमा सासद, मंत्री तथा प्रधानमन्त्री भैसकेका मान्छेहरुले नै ‘कानुन मान्दिनँ’, ‘कर तिर्दिनँ’, ‘तिम्रो संविधान मान्दिनँ’, ‘तिम्रो देश मान्दिनँ’ जस्ता अभिव्यक्तिहरूले संवैधानिक मर्यादा र लोकतान्त्रिक मूल्यमान्यता लाई ठाडो चुनौती दिनुले खतरा हुन् सक्छ।
- राष्ट्र र राज्यप्रतिको अनास्था: ‘कुन देशमा गएर दर्ता गर्दिनँ भन्छन्’ जस्ता अभिव्यक्तिहरूले देशको कानुन, संविधान र राज्य प्रति नै अनास्था फैलाउन खोजेको देखिन्छ, जसले देशलाई थप बर्बादीतर्फ लैजान सक्ने खतरा हुन् सक्छ।
- अराजकता नियन्त्रणमा चुनौती: मंत्री तथा प्रधानमन्त्री भैसकेका मान्छेहरुले नै जाँचबुझ आयोगको प्रतिवेदन नमान्ने र सरकार पनि नमान्ने भन्दै खुला रूपमा अभिव्यक्ति दिनुले मुलुकको थप अराजकता नियन्त्रण मा चुनौती खडा भएको छ। उनीहरूको यस्तो हठलाई नियन्त्रण नगरे संघीय लोकतान्त्रिक गणतन्त्र नै धरापमा पर्न सक्छ।
समाधान र अग्रगामी रूपान्तरणको मार्ग: संकटलाई अवसरमा बदल्ने संकल्प
जेन-जी विद्रोह नेपाली राजनीतिमा लामो समयदेखि लागेको ‘खिया’ लाई जरैदेखि हटाउने एक ऐतिहासिक अवसर हो। अब थप मुठभेड र विग्रहको बाटो बन्द गरी दिगो शान्ति र समृद्धिको मार्ग प्रशस्त गर्न यी कार्यहरू अनिवार्य रूपमा पूरा गर्नुपर्ने हुन्छ:
१. हठ, दम्भ र आत्ममुग्धताको पूर्ण अन्त्य: संकट समाधानको पहिलो शर्त भनेको पुरानो नेतृत्वको दम्भी अडान र आत्ममुग्धता को अन्त्य हो।
- नैतिकता र जनभावनाको कदर: नेताहरूले महाभारतका ‘दुर्योधन’ जस्तो अहंकारी हठ त्यागेर नैतिकता का साथ जनभावनाको सम्मान गर्नैपर्छ। जनताको आक्रोशलाई ‘षड्यन्त्र’ वा ‘आराम’ को नाम दिनुको सट्टा त्यसलाई वास्तविक आत्मसमीक्षा को आधार बनाउनु पर्छ।
- इतिहासको फैसला स्वीकार: जसले अझै पनि देशलाई थप द्वन्द्वको दिशा मा धकेल्ने धृष्टता गर्छ र देशको स्वाधीनता तथा गणतन्त्र लाई नै धरापमा पार्ने कुकृत्य गर्छ, उसलाई नेपाली इतिहासले कहिल्यै क्षमा गर्नेछैन भन्ने सत्यलाई सबै राजनीतिक खेलाडीले गम्भीरतापूर्वक आत्मसात गर्नुपर्छ।
२. जेन-जीका जायज मागहरूको तत्काल सम्बोधन: युवा आक्रोशलाई शान्त पार्दै उनीहरूको ऊर्जालाई देश निर्माणमा लगाउन तत्काल जेन जीहरुका निम्न मागहरू पूरा गरिनुपर्छ:
- स्वतन्त्र र निष्पक्ष निर्वाचनको सुनिश्चितता: तोकिएको मितिमै प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको निर्वाचन सम्पन्न गर्ने गरी वातावरण तयार गर्नुपर्छ, जसले जनतालाई नयाँ नेतृत्व चयन गर्ने अवसर प्रदान गरोस्।
- भ्रष्टाचारीमाथि तुरून्त कार्वाही: दण्डहीनताको अन्त्य गर्न र राज्यको विश्वसनीयता पुनर्स्थापित गर्न स्थानीय तह देखि केन्द्र सम्मका सम्पूर्ण भ्रष्टाचारीहरू माथि कुनै पनि ढिलाइ नगरी कडा र निर्णायक कार्वाही गर्नुपर्छ। यसले मात्र आम जनता र युवाहरूमा सुशासनको अनुभूति दिलाउँछ।
- राजनीतिमा युवा पहुँचको विस्तार: युवाहरूको माग अनुसार उम्मेदवार बन्ने न्यूनतम उमेर हद २५ वर्षबाट घटाएर २१ वर्ष कायम गर्नुपर्छ, जसले गर्दा ऊर्जावान् युवाहरूलाई औपचारिक राजनीतिमा नेतृत्व लिन सहज हुन्छ र युवाहरुले राज्य हाम्रो पनि हो भनि सम्झने छन।
- विदेशबाट मतदानको व्यवस्था: विदेशमा रहेका ८० लाखभन्दा बढी नेपाली नागरिकहरुको मतदान अधिकार सुनिश्चित गरी उनीहरूलाई देशको निर्णय प्रक्रियामा सहभागी गराउन विदेशबाट मतदान गर्ने व्यवस्था तुरुन्तै मिलाउनु पर्छ।
३. पुस्तान्तरण र नयाँ शक्तिको बृहद् ध्रुवीकरण: देशलाई पुनर्निर्माण र नवनिर्माणको द्रूतमार्ग मा डोऱ्याउन राजनीतिक शक्ति संरचना मा परिवर्तन अपरिहार्य छ।
- पुराना दलहरूको अनिवार्य रूपान्तरण: सत्ताको नेतृत्व गरि सकेका दलहरूले भ्रष्ट र व्यक्तिवादी शैली त्याग गरी नैतिकवान् नेतृत्व सहितको पुस्तान्तरणको बाटो समाउनुको विकल्प छैन। नेतृत्वले आफ्नो स्वेच्छाले युवालाई पार्टी तथा सत्ता हस्तान्तरण गर्नुपर्छ।
- नयाँ तथा वैकल्पिक शक्तिहरूको बृहद् ध्रुवीकरण: पुराना दलहरु नसचिएको अवस्थामा चारैतिर छरिएर रहेका नयाँ, वैकल्पिक र स्वच्छ छवि भएका राजनीतिक शक्तिहरू बीच बृहद् ध्रुवीकरण वा मोर्चाबन्दी मार्फत देशलाई एउटा बलियो, विश्वसनीय र आशावादी विकल्प दिनुपर्ने हुन्छ।
- नेतृत्वको गुणात्मक विकास: नयाँ पुस्ता वा नया दलहरुले पनि केवल विरोध मात्रै होइन, देश विकासको स्पष्ट खाका र योजना सहितको गुणात्मक नेतृत्व दिन तयार हुनुपर्ने हुन्छ जुन कुरा यसपालीको जेन जी विद्रोहमा नेतृत्वको कमि भएको देखियो। वालेन शाह, हर्क साम्पांग र रवी लामिछाने जस्ता नया नेतृत्वको अभ्यास गर्दै गर्ने मान्छेहरुमा पनि धर्यता र गुणात्मक विकाश भएको देखिएन l हर्क सानो कुरामा पनि रिसाउने, उत्तेजित अभिव्यक्ति दिने, रवी बढी बोलेर आफै सकिन खोज्ने र वालेन काम त गर्ने तर त्यसको दुरगामी असर के हुन्छ भनि विश्लेषण नगर्ने हो कि भनि जनताले मुल्याकन गरेको पाईन्छ l
४. संवैधानिक मर्यादा र विधिको शासनमा फिर्ता: देशलाई अराजकता र संवैधानिक संकट बाट बचाउन सबै दलहरू संवैधानिक दायरा भित्र फर्कनुपर्छ।
- संवैधानिक बाटोलाई सर्वोच्चता: नेताहरूले जाँचबुझ आयोगको प्रतिवेदन नमान्ने वा असंवैधानिक बाटोमा जाने हठ त्यागेर संवैधानिक बाटो र विधिको शासन लाई नै अन्तिम सत्यका रूपमा स्वीकार गर्नु सक्नुपर्छ।
- अस्थिरता अन्त्यको सुनिश्चितता: प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री को माग जस्ता प्रणालीगत सुधारहरूमा गम्भीर छलफल गरी देशको राजनीतिलाई स्थिरता र जवाफदेहिता तर्फ लैजानुपर्छ।
- संविधान र राज्यप्रतिको सम्मान: कुनै पनि बहानामा ‘कानुन मान्दिनँ’ वा ‘तिम्रो संविधान मान्दिनँ’ जस्ता अराजक अभिव्यक्तिहरू बन्द गरिनुपर्छ, किनकि यसले लोकतान्त्रिक प्रणालीको जगलाई नै कमजोर बनाउँछ।
अन्त्यमा, जेन-जी विद्रोह एक चेतावनी हो—राज्यका सबै अंगहरूको दलीयकरण र क्षयीकरण हुँदा कति भयावह स्थिति उत्पन्न हुन्छ भन्ने शिक्षा लिन सकिएन भने फेरी अर्को बिद्रोह हुदैन भन्न सकिन्न। यो विद्रोहलाई अग्रगामी रूपान्तरणका लागि उपयोग गर्न नसके, विनाशको घडी आईसक्दा पनि अहंकारको आगो ओकल्ने नेताहरूको कारण देश गम्भीर संकटमा फस्न सक्छ। अब शान्ति र समृद्धिको मार्ग रोज्ने कि द्वन्द्व र अराजकताको, त्यो निर्णय सम्पूर्ण नेपालमा राजनीतिक गर्ने दलहरुको नेतृत्वको हातमा छ।

