बिराटनगर, असोज ४ ।बिराटनगरमा अवस्थित जिग्री ल्याब एण्ड पोलिक्लिनिक प्रा.लि.को पाँचौँ वार्षिकोत्सव शनिबार (२०८२ असोज ४ गते) क्लिनिक हलमा सम्पन्न भएको छ। कार्यक्रम क्लिनिकका अध्यक्ष नौसाद आलमको अध्यक्षतामा सम्पन्न भएको हो।
कार्यक्रमका प्रमुख अतिथि संविधानसभा सदस्य तथा नेपाल हज समिति अध्यक्ष मुख्तार अहमद रहनुभएको थियो। कार्यक्रममा विशेष अतिथि हरिनगर गाउँपालिकाका अध्यक्ष डा. गफार अन्सारी, डा. वकार अहमद तथा अन्य अतिथिहरूमध्ये डा. इकबाल अहमद, डा. इमरान अन्सारी, डा. कमरुल हक, डा. फैयाज अन्सारी, हफिज सानाउल हक अन्सारी, मौलाना साहन हबीब फलाही, मौलाना इतेखार र मोहम्मद माजिद उपस्थित थिए।

कार्यक्रमको सुरुवातमा राष्ट्रिय गान “सयौं थुँगा फूलका हामी एउटै माला नेपाली” गाइयो। साथै हालैको Gen-Z आन्दोलनमा सहिद भएकाहरूको सम्झनामा एक मिनेट मौन धारण गरिएको थियो।
प्रमुख अतिथि अहमदले नेपाल हाल सामान्य अवस्थामा नभए पनि संविधान र नियमको पालना गर्दै देशलाई सामान्यतर्फ लैजानुपर्नेमा जोड दिनुभयो। उहाँले हज कार्यक्रम सञ्चालनमा केही समस्या भए पनि उत्कृष्ट ढङ्गले सम्पन्न भएको बताउनुभयो। साथै, Gen-Z आन्दोलनको क्रममा नेपाल एक हातमा पर्न सक्ने अवस्था आए पनि राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा संविधान सुरक्षित भएको स्मरण गराउनुभयो। पाँच वर्षदेखि बिरामीहरूलाई निरन्तर सेवा प्रदान गर्दै आएको जिग्री ल्याब एण्ड पोलिक्लिनिकलाई शुभकामना दिँदै अझ सफलताको कामना गर्नुभयो।

विशेष अतिथि डा. वकार अहमदले स्वास्थ्य क्षेत्रमा चुनौतीहरू रहेको तर सबै मिलेर त्यसलाई पार गर्दै अगाडि बढ्नुपर्नेमा जोड दिँदै क्लिनिकलाई निरन्तर प्रगतिका शुभकामना दिनुभयो।

त्यस्तै, हरिनगर गाउँपालिकाका अध्यक्ष डा. गफार अन्सारीले स्वास्थ्य र समाज दुवै क्षेत्रमा चुनौती भए पनि सबै मिलेर अघि बढ्दा देशलाई माथि लैजान सकिने उल्लेख गर्दै जिग्री ल्याब एण्ड पोलिक्लिनिकलाई पाँचौँ वार्षिकोत्सवको शुभकामना दिनुभयो।