मोरङ – धनपालथान गाउँपालिका–६ कदमाहस्थित हुलाकी सडकमा आज दिउँसो करिब ०६:०० बजे ओभरलोड ट्रकले बिजुलीको तारमा ठक्कर दिंदा आगलागी भएको छ।
विराटनगरबाट गौरीगञ्ज जाँदै गरेको PB 13 BP 9887 नम्बरको भारतीय ट्रकमा ढालाभन्दा करिब ४ फिट अग्लो सामान लोड गरिएको थियो। बाटोमा रहेको बिजुलीको तार ट्रकमा ठोक्किँदा तारहरू आपसमा शर्ट भएर आगलागी भएको प्रत्यक्षदर्शीहरूले बताएका छन्।
आगलागी भएपछि रंगेली नगरपालिकाको दमकल घटनास्थलमा पुगेर आगो नियन्त्रणमा लिएको छ। घटनामा कुनै मानवीय क्षति नभए पनि स्थानीयको केहि काठपात जलेर नष्ट भएको छ।
ट्रक चालकका अनुसार उनले उक्त बिजुलीको तार देख्न सकेनन् र जोगबनीबाट यहाँसम्म आइपुग्दासम्म कुनै पनि यस्ता झुण्डिएका तार नभएकाले उनले ध्यान नदिएको बताए।
स्थानीय बासिन्दाले ओभरलोड ट्रक तथा सडकका अव्यवस्थित तारहरूको कारणले दुर्घटना हुनसक्ने भन्दै सरोकारवालासँग ध्यान दिन आग्रह गरेका छन्।