✍️ चन्द्रप्रसाद अधिकारी (बरिष्ठ प्राध्यापक, शिक्षाविद्, विश्लेषक तथा अनुसन्धानकर्ता)
नेपाली कम्युनिस्ट वृत्तमा नेकपा माओवादी केन्द्र, नेकपा एस सहित अन्य बिभिन्न आठ राजनीतिक दलहरुको एकीकरण हुने एक किसिमको सहमति देखिदै गर्दा नेकपा एसका सम्मानित नेता झलनाथ खनालले माओवादी केन्द्र संगको एकता भन्दा नि आफ्नो पुरानो पार्टी एमालेसँग एकताका लागि अघि सारेका चार आधारभूत वैचारिक सर्तहरूका कारण खनाल अहिले चर्चाको केन्द्रमा छन्। मार्क्सवाद–लेनिनवादको व्यवहारिक अवलम्बन, समाजवादी क्रान्तिको बाटो, र नेतृत्वमा ‘सुस्थिर चिन्तन’को माग गरिरहँदा, नेपाली राजनीतिक विश्लेषकहरूमा एउटा गम्भीर प्रश्नले घेरेको छ: त्यो के भने खनालको यो वैचारिक अडान आदर्शको उच्चता हो? या ओलीको ‘सर्पस्मरण’ युक्त राजनीतिक घेराबाट आफू सुरक्षित हुने चतुर्याइँपूर्ण बाटो? यो गम्भीर अध्ययनको बिषय बनेको छ।
ओलीको राजनीतिक इतिहास, जसले वामदेव गौतम, भीम रावल, घनश्याम भुसाल र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीजस्ता नेताहरूलाई पनि ‘निमिट्यान्न’ पार्न पछि परेन, त्यसले खनाललाई सहजै स्वीकार्ने सम्भावना शून्य छ। यस्तो निरङ्कुश एकाधिकारको पृष्ठभूमिका खनालले पद वा हिस्साको मोलमोलाइ नगरी वैचारिक शुद्धता को सर्त राखेर एकसाथ दुईवटा उद्देश्य साधेको देखिन्छ:
१. एमालेलाई वैचारिक परीक्षाको अग्निपरीक्षामा होम्नु (यदि सर्त स्वीकार भए क्रान्ति र रूपान्तरणको ढोका खुल्छ)
२. सर्त अस्वीकार भएमा, पार्टी विभाजनको औचित्य पुष्टि गर्दै भविष्यका लागि सुरक्षित वैचारिक धरातल तयार गर्नु (अर्थात्, आफूलाई ओलीको निषेधको राजनीतिबाट ‘बस्ने ठाउँ सुरक्षित’ बनाएर निस्कनु)।
१. ‘निषेध’को इतिहास र खनालको सैद्धान्तिक ढाल
एमाले अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक शैलीलाई नजिकबाट नियाल्ने हो भने, उहाँको मुख्य रणनीति भनेको आफूलाई चुनौती दिन सक्ने हरेक शक्तिलाई ‘एम्बुस’ मा पार्नु हो। भीम रावलजस्ता हस्तीलाई कारबाही गरी निष्कासन गर्नु र घनश्याम भुसाल र वामदेव गौतम जस्तालाई पार्टी छाड्न बाध्य पार्नुले ओलीको एकाधिकारवादी चरित्रलाई स्पष्ट पार्छ। सबैभन्दा ठूलो उदाहरण, ओलीका हरेक कठिन मोडमा साथ दिनेरातको १२ बजे पनि रास्ट्रपति कार्यालय खुल्ला गरि ओलीको असंबैधानिक ससद विघटनको पत्रलाई आँखा चिम्लेर रास्त्रपतिको ओचालाई सुद्द धरापमा पर्दै सदर गर्ने पूर्वराष्ट्रपति भण्डारीको सदस्यता नवीकरणमा लगाएको निषेध हो, जसले ओलीका लागि व्यक्तिगत स्वार्थ र सत्ता सर्वोच्च हो भन्ने प्रमाणित गर्छ।
यस्तो विषम परिस्थितिमा झलनाथ खनालले राखेका चार बुँदे सर्तहरू, विशेषगरी ‘समाजवादी क्रान्तिको बाटो’ र ‘सुस्थिर चिन्तन’ (ओलीको अस्थिर कार्यशैलीमाथि प्रहार) को माग, खनालका लागि सुरक्षाको वैचारिक ढाल बनेका छन्।
यसै सवालमा महान चिन्तक निकोलो म्याकियावेली (Niccolò Machiavelli): “मानिसहरूलाई कि त खुशी पार्नुहोस् कि त निमिट्यान्न पार्नुहोस्; किनकि उनीहरूले सानो चोटको बदला लिन सक्छन्, ठूलोको होइन।” खनालले पदको सानो चोट मा अल्झिएनन्। बरु, उनले वैचारिक रूपान्तरण को ठूलो सर्त राखेर ओलीलाई दुईधारे धारमा उभ्याइदिएका छन्। यदि ओलीले सर्त मानेनन् भने, खनाललाई “मैले त वैचारिक शुद्धता चाहेको थिएँ, ओली तयार भएनन्” भन्ने राजनीतिक र नैतिक ‘कभर’ मिल्छ, जसले उनलाई भावी राजनीतिको लागि सुरक्षित मार्ग प्रशस्त गर्छ।
२. ‘घर फर्क’ आह्वानको भ्रम र खनालको ‘मार्गदर्शक सिद्धान्त’
ओलीको तर्फबाट ‘घर फर्क’ भन्ने आह्वान केवल कम्युनिस्ट एकताको भाष्य निर्माण गर्नु र ११औं महाधिवेशनलाई निर्विरोध बनाउने रणनीति अन्तर्गत आन्तरिक प्रतिस्पर्धा नियन्त्रण गर्नु हो। ओलीले व्यक्तिगत रूपमा आउनेलाई स्वागत गर्ने, तर समूहगत एकता नहुने स्पष्ट पारेका छन्। यसको अर्थ हो, खनाललाई एमालेमा समाहित गरिए पनि अध्यक्षको उम्मेदवार बन्ने योग्यता वा प्रतिस्पर्धाको ठाउँ दिइने छैन।
यही राजनीतिक स्वार्थलाई राम्ररी बुझेका खनालले वार्ताको आधारलाई व्यक्तिगत पद भन्दा ‘मार्क्सवाद-लेनिनवादलाई मार्गदर्शक सिद्धान्त मान्ने’ जस्ता वैचारिक सर्तमा केन्द्रित गरे। यो सर्तले ओलीलाई सैद्धान्तिक रूपमा खुला चुनौती दिएको छ, जुन खनालले आफूलाई ‘ओलीको निषेध’ बाट जोगाउने एक उच्च रणनीतिक चाल खेलेका हुन् वा ओलीको भ्रम भित्र लुटुपुटु भएका हुन् हेर्न बाकी नै छ।
महान चिन्तकको कार्ल मार्क्सको भनाई पनि यहा सान्दर्भिक हुन्छ (Karl Marx): “दार्शनिकहरूले विभिन्न तरिकाले संसारको व्याख्या मात्र गरेका छन्; तर मुख्य कुरा यसलाई बदल्नु हो।”
खनालले राखेको दोस्रो सर्त ‘समाजवादी क्रान्ति र रूपान्तरणको बाटो’ ले यही परिवर्तनलाई जोड दिन्छ। खनालले ओलीलाई ‘जनताको बहुदलीय जनवाद’ (जबज) को पुरानो कार्यदिशामा अल्झिएर बस्ने छुट नदिएर, नेपाली विशेषताको समाजवादी कार्यक्रम लाई स्वीकार्न बाध्य पार्ने छन वा छैन हेर्ने बाकी छ। यो अडानले खनाललाई एमालेभित्रै फर्किए भने एमालेको ११ औ महाधिवेशनमा अध्यक्षको प्रत्यासीको रूपमा स्थापित गर्ने देखिन्छ तर त्यो खनालको आफ्नो मनको लड्डु नै हुने देखिन्छ।
३. ‘सुस्थिर चिन्तन’को माग: विधि र व्यक्तिको द्वन्द्व
खनालको चौथो सर्त, ‘पार्टी नेतृत्वमा सुस्थिर चिन्तनको अपेक्षा’, सिधै ओलीको अस्थिर र एकलौटी कार्यशैलीलाई लक्षित छ। ओलीले हालै विधान संशोधन गरी ईश्वर पोखरेलको वरिष्ठ उपाध्यक्ष पद हटाएर अध्यक्षको अधिकार विस्तार गर्नुले उहाँको निरङ्कुश एकाधिकार लाद्ने चाहनालाई पुष्टि गर्छ। खनालले यो सर्त राखेर पार्टीलाई व्यक्ति होइन, विधि, नीति र सामूहिक नेतृत्वको भावना अनुसार चलाउनुपर्ने माग गरेका छन् यो पनि ओलीले सजिलै स्वीकार्ने देखिदैन।
यहानिर एक महान चिन्तकको एन्टोनियो ग्राम्सी(Antonio Gramsci)को भनाई अति उपयोगी हुन्छ: “संकट तब आउँछ जब पुरानो मरिरहेको हुन्छ र नयाँ जन्मन सक्दैन; यो अन्तरालमा धेरै प्रकारका रोगका लक्षणहरू देखा पर्छन्।”
खनालले ओलीको नेतृत्वमा देखिएको अस्थिरता (पुरानो नेतृत्वशैली) र समाजवादी रूपान्तरण को आवश्यकता (नयाँ बाटो) बीचको संकट लाई वैचारिक सर्तको रूपमा प्रस्तुत गरेका छन्। यदि ओली यी सर्त मान्न तयार भए भने खनालको राजनीतिक स्थान स्वतः सुरक्षित र सम्मानित बन्ने सोचेका होलान। यदि मानेनन् भने, एमालेभित्रको अराजकताको दोष ओलीको टाउकोमा जान्छ र खनालले वैचारिक शुद्धताको संवाहकको रूपमा नयाँ राजनीतिक ध्रुवीकरणको नेतृत्व गर्न सोच राखेको होलान तर त्यो पनि सर्पस्मरण नै हुने देखिन्छ।
निष्कर्ष: अग्निपरीक्षामा ओली, सुरक्षित मार्गमा खनालको भ्रम
झलनाथ खनालले प्रस्तुत गरेका वैचारिक सर्तहरू ओलीको ‘सर्पस्मरण’ (प्रतिशोधपूर्ण) राजनीतिबाट आफूलाई जोगाउँदै सुरक्षित मार्ग खोज्ने चतुर चाल देखिए पनि, यो कदमले उनलाई अन्तिममा ‘सुरक्षित’ नभएर ‘मानसिक भ्रम’ को अवस्थामा पुर्याउने सम्भावना बढी छ।
खनालको रणनीति र भ्रमको विन्दु
- रणनीति: खनालले यी सर्तहरूलाई ओलीको निषेधको राजनीतिको सामना गर्दै आफूलाई वैचारिक र सांगठनिक रूपमा सुरक्षित राख्ने चतुर्याइँपूर्ण बाटो का रूपमा अघि सारेका छन्।
- द्वैध सन्देश: खनालको कदमबाट दुईवटा स्पष्ट सन्देश देखिन्छन्:
- सर्त मानेमा: “म क्रान्तिका लागि तयार छु, किनकि ओली वैचारिक रूपान्तरणको बाटोमा आए।”
- सर्त नमानेमा: “मैले शुद्धीकरणको प्रयास गरें, तर ओलीको हठका कारण सम्भव भएन भन्दै सम्मानित तरिकाले आफ्नो राजनीतिक मार्ग तय गर्नेछु।”
- भ्रमको विन्दु: खनालले यसलाई ‘सुरक्षित’ राजनीतिक मार्ग ठाने पनि, राजनीतिक यथार्थमा ओलीको निषेधको राजनीति ले उनलाई यो ‘सम्मानित तरिकाले मार्ग तय गर्ने’ भन्ने सोच एक किसिमको मानसिक भ्रम मात्रै हुने देखाउँछ। किनकि पहिलो कुरा, एमाले बाट माओवादीको साथ पाएर खनाललाई प्रधानमन्त्री हुदा प्रधानमन्त्री खुस्काउने मुख्य व्यक्ति नै ओली थिए । दोस्रो कुरा, ओलीका लागि खनालका यी सर्तहरू स्वीकार्नु भनेको आफ्नो एकाधिकार तोडेर राजनीतिक स्वभाव विपरीत प्रतिस्पर्धा र रूपान्तरणलाई स्वीकार्नु हो। ओलीको विगतको इतिहास र स्वभावले यस प्रकारको सम्मानित तरिकाको सम्भावनालाई कम गरिदिन्छ। उल्टो, ओलीले खनालको यस कदमलाई आफ्नो राजनीतिक नियन्त्रण थप मजबुत बनाउने अवसरको रूपमा प्रयोग गर्न सक्छन्।
