सम्माननीय प्रधानमन्त्री शुशिला कार्कीलाई खुल्ला पत्र l क्रान्तिको माग र अटल संकल्प (अन्तिम आह्वानसहित)सम्माननीय प्रधानमन्त्री शुशिला कार्कीलाई खुल्ला पत्र l क्रान्तिको माग र अटल संकल्प (अन्तिम आह्वानसहित)

क्रान्तिको माग र अटल संकल्प (अन्तिम आह्वानसहित)

✍️ चन्द्रप्रसाद अधिकारी

श्रीमान् सम्माननीय प्रधानमन्त्री ज्यू,

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय,

नेपाल सरकार।

नेपालीहरूको महान् चाड बडादशैँको रौनक सकिएसँगै, देशले अब हजुरको सरकारबाट जनआकांक्षा को कठोर अग्निपरीक्षामा उत्तीर्ण हुने अटल संकल्पको अपेक्षा गरेको छ। यसै सन्दर्भमा, जनआक्रोशको राप र क्रान्तिको भाव बोकेर हजुरलाई म यो खुल्ला पत्र लेख्दैछु। मलाई पूर्ण विश्वास छ, हजुरले यसलाई केवल कागजको टुक्रा नभई करोडौँ नेपालीको हृदयको आवाज ठानेर कार्यान्वयनका लागि ऐतिहासिक साहस जुटाउनु हुनेछ भनि पूर्ण विश्वास पनि राखेको छु।

१. क्रान्तिको ज्वाला र नेपाल आमाको पीडा

प्रधानमन्त्री ज्यू, देश अहिले इतिहासको जटिल र संवेदनशील मोडमा उभिएको छ। यहि २०८२ साल भाद्र २३ र २४ गतेको ‘जेन जी विद्रोह’ कुनै सामान्य घटना थिएन। यो त जनताको दशकौं “लामो पीडा”, “युवाको आक्रोश” र “अब सहँदैनौं” भन्ने अटल संकल्पको ज्वलन्त आगोको ज्वाला  थियो भनि बुझ्न अब कुनै बेद वा शास्त्र नै पढिरहनु पर्दैन होला। तर, दुःखका आँसुले भन्नुपर्छ, त्यो यथार्थ आन्दोलनलाई केही गलत तत्त्वले घुसपैठ गरी तोडफोड, आगजनी र विनाशतिर मोडिदिए। सिंहदरबार, सर्बोच्च अदालत, शीतल निवास, आदि राष्ट्रका धरोहरहरू जले। यस्तो विदारक दृश्य देख्दा नेपाल आमा अहिले पनि रोई नै रहेकिछंन।

‘जेन जी विद्रोह’को सन्देश स्पष्ट छ, अब सहनशीलताको सीमा नाघिसकेको छ l यदि परम्परागत व्यवस्थाको फोहर सफा हुँदैन भने, यो नयाँ पुस्ता अझ शक्तिशाली आँधीका रूपमा अझै ससक्त भएर उठ्ने नै छ। त्यसैले, हजुरको सरकारका हरेक कदमले नेपालको भविष्य मात्र होइन, अबको क्रान्ति कति निर्मम हुन्छ भन्ने कुराको पनि तय गर्नेछ भन्ने मैले बुझेको छु।

“प्रधानमन्त्री ज्यू, हजुरलाई यो कुरा राम्रोसँग ज्ञात छ कि आजको यो ऐतिहासिक जिम्मेवारी केवल ०८४ को निर्वाचन ०८२ मा गराउनका लागि मात्र हजुरलाई सुम्पिएको होइन। यो सत्ताको बागडोर त नेपाली युवा, जेन जी भाइबहिनीहरूको क्रान्तिले सृजना गरेको असाधारण दबाब र राष्ट्रलाई बचाउने ‘आवश्यकताको सिद्धान्त’ बाट प्रभाभित भएर “प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री”चुन्ने आशाका साथ हजुरलाई प्राप्त भएको एउटा गहन जिम्मेवारी हो। हजुरजस्तो कानुनको गम्भीर ज्ञाता र न्यायको प्रतिमूर्तिले यो कटु सत्य र जनताको पवित्र भावना लाई कदापि बिर्सनुहुन्न भन्नेमा म पूर्ण आश्वस्त छु।”

२. कामको माग, आर्थिक शुद्धीकरण र नीतिगत भ्रष्टाचारको प्रश्न

जनताले स्पष्ट सन्देश दिइसकेका छन्—अब मीठा भाषण र खाली आश्वासनको पुलिन्दा चाहिँदैन l जनतालाई रोजगारी, समानता, न्याय, र भ्रस्टाचारमा शून्य सहनशीलता सहितको भ्रष्टाचारमुक्त शासन चाहिन्छ।

जनताले अरू सबै कुरा बिर्सेलान्, तर सांसद खरिदबिक्री, आर्थिक मन्दी, बेरोजगारीको कहर, कालोबजारी, भ्रष्टाचार र असमानताले दिनदिनै पिल्सिएको पीडा कहिल्यै बिर्सन सक्नेछैनन्। जनताले अब भाषण होइन, तत्काल ‘काम’ चाहेका छन्। अर्थतन्त्रलाई शुद्ध पार्ने, बेरोजगारी घटाउने, भ्रष्टाचारलाई जरैदेखि उखेल्ने—यिनै काममा अब देशको भविष्यको श्वास जोडिएको छ।

कानुन विज्ञ प्रधानमन्त्री ज्यू, मेरो सीधा र अटल प्रश्नहरु यस प्रकारका छन:

  • देशमा जनता बेरोजगारी भएर सिटामोल किनेर खान नसकिरहेको यो अवस्थामा ‘जेनजी समर्थन सरकार’ अहिले पनि किन पुराना दलका नेतालाई सुरक्षाकर्मीबाट सुरक्षा दिँदै राज्यकोष अनावश्यक दोहन किन गर्दैछ? हिजो दलहरुले यही गरे भनी ‘जेन जी विद्रोह’ भएको हैन र? के यो नीतिगत भ्रष्टाचार भएन कानुन बिग्य प्रधानमन्त्री ज्यू? के मैले यहि फागुन २१ गते बिहिबार यो देशको “प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री” चुन्ने अवसर पाउने हु ? के निर्वाचन अधि नै अब प्रदेश र रास्ट्र सभा खारेज हुने हो त ?
  • २००७ सालसम्म राणाहरूले, ०४७ सालसम्म पाचायती राजतन्त्रले, र ०८२ सम्म लगभग ३६ वर्षसम्म यिनै दलको नाममा देश लुटियो भनेर जेनजी बिद्रोह भएको हैन? अब फेरी ०८२ देखि ‘जेन जी’को नाम बेचेर अर्को लुट नमचिहोस् सरकार, हामी सचेत छौं l

३. शहीदको सपना र क्रान्तिको अन्तिम अल्टिमेटम

प्रधानमन्त्री ज्यू, हजुरले कहिल्यै नबिर्सनुहोला, राणा शासन, पञ्चायत, राजसंस्था आदि फालेको संविधानले होइन, जनताको क्रान्तिले सृजना गरेको “आवश्यकताको सिद्धान्त”ले हो। जनताको अवाश्यकता र खुशी भन्दा संबिधान कहिल्यै माथि हुन् सक्दैन ।

छाती र टाउकोमा गोली लाग्नु भन्दा एक सेकेन्ड अगाडिसम्म हरेक ‘जेन जी शहीद’को दिमागमा खेलिरहेको अटल मागहरू यी हुन्:

  • प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री
  • प्रदेश खारेज
  • भ्रष्टाचारमा शून्य सहनशीलता
  • स्वदेशमै रोजगारी
  • पूर्व विशिष्टको नाममा राज्यकोषको दोहनको अन्त्य आदि l

जेनजी अगुवा मिराज ढुंगाना सग तपाईले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको चुनाव गराउन म सक्दिन, अहिलेको संबिधानले दिदैं भनेर भन्नु भएको कुरा के सत्य नै हो त? यदि त्यो कुरा सत्य हो भने, हजुरको सरकार पनि कुनै संविधानको धारा हेरी वा कुनै निर्वाचन जितेर आएर बनेको सरकार होइन, यो त केवल नेपाली युवा जेन जी भाइबहिनीहरूको अगुवाइमा भएको ऐतिहासिक क्रान्तिले सृजना गरेको दबाब र परिस्थितिको कारण “आवस्कताको सिदान्त” बमोजिम गठन भएको सरकार हो भन्ने कटु सत्यलाई हजुर जस्तो कानुनको बिग्यले यति छिट्टै पक्कै बिर्सनु हुन्न भन्ने आशा लिएको छु।

यसका साथै, क्रान्तिको माग र न्यायको सिद्धान्त अनुसार निम्न कदम चाल्नु अपरिहार्य छ:

क. जेन जी नरसंहारको न्यायिक फैसला र कारबाही

एउटा शक्तिशाली आयोग बनाएर तत्कालिन ओली सरकारले जेन जी आन्दोलनमा सरकारका भिजिलान्ते पठाएर आफै घुसपैठ गरेर किन १३,१८२ राउण्ड फायरिङ गर्यो? त्यसको पूर्ण छानबिन गरि तत्कालिन ओली सरकारलाई कारबाहीको दायरामा ल्याउन किन ढिला भएको हो? यो काम तुरुन्तै कार्यान्यन गरियोस। साथै, जेन जी आन्दोलनमा सहादत प्राप्त ७४ जना शहीद बनाउने तत्कालिन ओली सरकारका मन्त्रीहरू सबैलाई ज्यान माराको मुद्दा दर्ता गराई तुरुन्तै कारावासको व्यवस्था गरियोस।

ख. २००७ पछिका सबै भ्रष्टाचार फाइल खोल्ने

२००७ सालदेखि यताका भ्रस्टाचारका सबै फाइल खोलि उच्चस्तरीय छानबिन गरि, दोषी ठहरिएमा आजीवन कारावासको व्यवस्था गरियोस्।

सक्नुहुन्छ भने ‘जेन जी शहीद’हरूको सपना अनुसार एउटा अध्यादेश ल्याएर राष्ट्रिय सभा, प्रदेश खारेज गरिदिनुहोस् र निर्वाचन प्रणालीमा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको ब्याबस्था गरिदिनुहोस l यो पुण्य काम गरेर इतिहासमा आफ्नो नाम अमर बनाउनुहोस् भनि शुभकामना दिन चाहन्छु l हजुरलाई सफल हुने वा इतिहासमा कलङ्कित हुने दुवै किसिमका अवसर यहीँ छ। जेनजी र जनताले मागेका मागहरू पूरा गर्न तपाईं तत्काल तयार हुनुहोस् ।

यदि सक्नुहुन्न भने, तत्काल राजिनामा दिएर मार्ग प्रसस्त गरिदिनु होला, अन्यथा तपाईंलाई ‘जेन जी’ घाइते र शहीदहरूको रगतले जुनीजुनी सम्म पनि सरापी नै रहने छ l

अन्त्यमा

म यो आग्रह विनम्रतापूर्वक राख्दै भन्न चाहन्छु कि सरकारले जनआकांक्षालाई आँखा छोपेर हेर्नु हुँदैन। व्यवहारिक र पारदर्शी नीति ल्याएर जनताको आशा पूरा गर्नु नै हजुरको सरकारको वर्तमान क्रान्तिकारी जिम्मेवारी हो। आशा छ, सम्माननीय प्रधानमन्त्री ज्यू र सम्बन्धित निकायले यस पत्रलाई गम्भीरतापूर्वक विचार गरी कार्यन्वयनका लागि आवश्यक पहल गर्नुहुनेछ।

जय राष्ट्र!

तपाईंको विश्वासी,

चन्द्रप्रसाद अधिकारी

(एक सचेत नागरिक र क्रान्तिको साक्षी)

By Dev

Leave a Reply

Your email address will not be published. Required fields are marked *