देवनारायण शर्मा
बिराटनगर, ०९ जेठ
१० दिनमै भत्कियो कालोपत्रे सडक, स्थानीय आक्रोशित
मोरङको रंगेली नगरपालिका वडा नं. ६ मा निर्माण भएको कालोपत्रे सडक १० दिन नपुग्दै भत्किन थालेपछि स्थानीयवासी चिन्तित र आक्रोशित भएका छन्।

मलंगथान मार्ग अन्तर्गतको उक्त सडक संघीय शहरी विकास तथा भवन निर्माण कार्यालय मोरङको आयोजना अन्तर्गत कालोपत्रे गरिएको हो। तर निर्माण सम्पन्न भएको छोटो समयमै कालोपत्रे सडक ठाउँ–ठाउँमा उक्लिन थालेको छ। स्थानीयको आरोप छ कि निर्माण कम्पनीले कम गुणस्तरका सामग्री प्रयोग गरेर काम गरेको हो।
स्थानीयबासी रामकृष्ण मण्डल भन्छन्, “बर्खा पनि राम्ररी नलाग्दैं सडक भत्किनु भनेको गुणस्तरमा खेलवाड भएको प्रमाण हो। यो त सरकारी बजेटमाथिको मजाक हो।”

तत्काल अनुगमन, इन्जिनियरले माने दोष
संघीय शहरी विकास तथा भवन निर्माण कार्यालयका इन्जिनियर श्रवणकुमार यादवका अनुसार जेठ २७ गते कालोपत्रे कार्य सम्पन्न भएसँगै भोलिपल्टै अर्थात् जेठ २८ गतेको अनुगमनमै समस्या देखिएको थियो।

इन्जिनियर यादव भन्छन्, “अनुगमनका क्रममा कालोपत्रेमा समस्या देखिएकोले तत्काल निर्माण कम्पनीका प्रोजेक्ट म्यानेजर रोशन बराललाई जानकारी गराएर छलफल गरिएको हो। निर्माण व्यवसायीसँग बसेर बिग्रिएको भाग पुनः निर्माण गर्ने सहमति भएको छ। अब केही दिनमै काम सुरु हुनेछ।”
निर्माण कम्पनीको स्वीकारोक्ति
निर्माण कार्य सम्पन्न गरेको खरिढुङ्गा/सफल जे.भी. निर्माण कम्पनीका प्रोजेक्ट म्यानेजर रोशन बरालले प्राविधिक त्रुटिका कारण यस्तो समस्या आएको स्वीकारेका छन्।
बराल भन्छन्, “सडकमा देखिएको समस्या प्राविधिक त्रुटिको कारण हो। हामी चाँडै बिग्रिएको भाग उखाली पुनः निर्माण गर्छौं।