रमेश कुमार मण्डल
जेष्ठ १२, सोमवार

रंगेली – जेठ महिनाको अमावास्याका दिन विशेषतः नवविवाहित महिलाले पतिको दीर्घायु, सौभाग्य र दाम्पत्य जीवनको समृद्धिको कामना गर्दै मनाउने पर्व वट सावित्री पूजा हो। मिथिला क्षेत्रमा यसलाई वसराइत पनि भनिन्छ। यो पर्वमा महिलाहरूले निराहार व्रत बसी, शुभ पहिरनमा सजिएर, वर पिपल वृक्षमुनि सामूहिक पूजा अर्चना गर्ने चलन छ।

यस व्रतको मूल प्रेरणा पौराणिक पात्र सावित्रीबाट लिइएको हो। जनश्रुति अनुसार, सावित्रीले आफ्नो पतिको अकाल मृत्यु भएपछि तप, व्रत, साधना गरी यमराजबाट पतिको प्राण फिर्ता गराएकी थिइन्। त्यस बेलादेखि नै वट वृक्षमुनि सावित्री व्रत गर्ने परम्परा सुरु भएको मानिन्छ।

वर वृक्ष हिन्दू धर्ममा अत्यन्तै पवित्र मानिन्छ। यसको जरामा ब्रह्मा, थुँगामा विष्णु र अग्रभागमा शिवको वास रहने धार्मिक विश्वास छ। यसै कारण, वटवृक्षलाई पूजा गर्दा सबै देवताको कृपा प्राप्त हुने मान्यता छ। मैथिली भाषामा ‘वट’ लाई ‘वर’ भनिन्छ, र पतिलाई पनि ‘वर’ भन्ने परम्परा छ। जसले यो पर्वलाई अझ बढी प्रतीकात्मक बनाउँछ।

यो व्रत महिलाहरूले विशेष विधिपूर्वक पहिलो पटक नवविवाहपछि सम्पन्न गर्छन् भने दोस्रो पटकदेखि सामान्य तरिकाले मनाउने परम्परा रहेको छ।

धार्मिक मात्र नभई वैज्ञानिक दृष्टिकोणले पनि वट सावित्री पूजाको महत्व उल्लेखनीय छ। वर वृक्ष दीर्घायु हुने र पर्यावरणीय दृष्टिले अत्यन्त लाभदायक मानिन्छ। यसले वातावरणको हानिकारक कार्बन ग्यासहरू शुद्ध पार्ने कार्य गर्छ। साथसाथै, यसको छायाँ, पात, जराबाट औषधीय गुण पाइने भएकाले आयुर्वेदमा पनि यसको ठूलो महत्व छ।

यसरी, वट सावित्री पूजा एउटा धार्मिक अनुष्ठि मात्र नभई प्रकृति संरक्षण र सामाजिक समर्पणको सन्देश बोकेको परम्परा हो । जसले मिथिला मात्र होइन, समग्र नेपाली समाजमा आस्थाको जरो गाडेको छ।

0
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *