काठमाडौँ, ६ वैशाख
प्रधानमन्त्री केपी शर्मा ओलीले आन्दोलनरत शिक्षकहरूको माग सम्बोधन गर्दै संसद्मा विचाराधीन विद्यालय शिक्षा विधेयक छिट्टै पारित गराउने प्रतिबद्धता जनाएका छन्।
शुक्रबार साँझ बालुवाटारमा शिक्षक महासंघका पदाधिकारीहरूसँग भएको करिब दुई घण्टा लामो छलफलमा प्रधानमन्त्री ओलीले विधेयक टुंग्याउन सत्ता गठबन्धन, संसद्का पदाधिकारी र सरोकारवालासँग संवाद गर्ने आश्वासन दिएका हुन्।
शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीका अनुसार, छलफलका क्रममा महासंघले मागहरूको विस्तृत जानकारी गराएको थियो। उनले भने, “हामीले माग सुनायौं। यसअघिको २४ बुँदे ध्यानाकर्षणपत्रबारे पनि जानकारी गरायौं। प्रधानमन्त्रीज्यूले विधेयकका विषयमा सकारात्मक धारणा राख्नुभयो।”
प्रधानमन्त्रीको सचिवालयका अनुसार, छलफल आन्दोलन र समस्या समाधानका सम्भाव्य विकल्पहरूमा केन्द्रित रहेको थियो। प्रधानमन्त्री ओलीले संसद्मा विचाराधीन विधेयक छिट्टै निष्कर्षमा पुर्याउने वचन दिएको भए पनि शिक्षक महासंघले विश्वसनीय सुनिश्चितता नभएकाले आन्दोलन जारी राख्ने जनाएको छ।
छलफलमा महासंघका अध्यक्ष सुवेदीसँगै सहअध्यक्ष नानुमाया पराजुली, महासचिव तुलाबहादुर थापा र उपमहासचिव मदनराज जोशी सहभागी थिए।
शिक्षकहरू १७ दिनदेखि काठमाडौंको माइतीघर–बानेश्वर क्षेत्रमा प्रदर्शनमा छन् भने २५ चैतदेखि शैक्षिक हडताल घोषणा गरेका छन्। आन्दोलनका कारण २ वैशाखदेखि सुरु भएको विद्यार्थी भर्ना अभियान, पाठ्यपुस्तक वितरण लगायतका शैक्षिक गतिविधिहरू प्रभावित भएका छन्।
आन्दोलनले कक्षा १२ को परीक्षा तथा एसईई उत्तरपुस्तिका परीक्षणसमेत अनिश्चित बनाएको छ। राष्ट्रिय परीक्षा बोर्डले भने परीक्षा तोकिएको समयमै सञ्चालन हुने बताउँदै आएको छ।
यसअघि शिक्षामन्त्री विद्या भट्टराईलाई २४ बुँदे ध्यानाकर्षणपत्र बुझाएको महासंघले औपचारिक वार्ता अस्वीकार गर्दै आएको छ। प्रधानमन्त्री ओलीले आन्दोलनमा उठाइएका मागहरूबारे गृहकार्य गर्न अर्थमन्त्री, गृहमन्त्री र शिक्षामन्त्रीलाई निर्देशन दिएको भए पनि हालसम्म सरकारी पक्ष र शिक्षकबीच अनौपचारिक छलफल मात्र जारी छ