देव नारायण शर्मा
विराटनगर, २२ चैत
नेपालीहरूले अब भारत र भुटानमा पनि क्यूआर कोडमार्फत भुक्तानी गर्न सक्ने भएका छन्। नेपाल राष्ट्र बैंकले विदेशी विनिमय व्यवस्थापन विभागको एकीकृत परिपत्र-२०८१ जारी गर्दै यो नयाँ व्यवस्था लागू गरेको हो।
संशोधित परिपत्रअनुसार, नेपाली वाणिज्य बैंक तथा राष्ट्रियस्तरका विकास बैंकमा खोलिएको खातासँग सम्बन्धित क्यूआर कोड लगायतका विद्युतीय माध्यमबाट भारत र भुटानमा भुक्तानी गर्न सकिनेछ। यो सुविधा राष्ट्रिय भुक्तानी स्विच पूर्ण रूपमा सञ्चालनमा नआएसम्म रिटेल पेमेन्ट स्विचमार्फत प्रदान गरिनेछ।
नयाँ व्यवस्थाअन्तर्गत कार्डमार्फत हुने भुक्तानीको सीमा नै क्यूआर कोडमार्फतको भुक्तानीका लागि पनि लागू हुनेछ। यसअनुसार, भारतमा क्रेडिट, डेबिट र प्रिपेड कार्ड लगायतका विद्युतीय माध्यमबाट सामान वा सेवा खरिद गर्दा मासिक एक लाख भारतीय रुपैयाँसम्म भुक्तानी गर्न सकिनेछ। तर, होटल, अस्पताल र औषधि पसलमा भने यो सीमा लागू हुनेछैन।
यस व्यवस्थाले नेपाली नागरिकलाई भारत र भुटानमा कारोबार गर्न थप सहज बनाउने विश्वास गरिएको छ।