✍️ चन्द्रप्रसाद अधिकारी (बरिष्ठ प्राध्यापक, शिक्षाविद्, विश्लेषक तथा अनुसन्धानकर्ता)
नेपालको कम्युनिष्ट आन्दोलनमा २०८२ साल कार्तिक १९ गते बुधबार एक नयाँ युगको आरम्भ भएको छ। माओवादी केन्द्रको नेतृत्वमा नेकपा एस सहित विभिन्न दश राजनीतिक दलहरू एकताबद्ध भई ‘नेपाली कम्युनिष्ट पार्टी’ को घोषणा गरिनु आफैँमा एउटा ऐतिहासिक उपलब्धि हो।
यो बृहत् वाम एकताको मुख्य कमान्डर नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ बन्नुले उनको नेतृत्वको जादू र रणनीतिक सक्षमतालाई प्रमाणित गरेको छ। विभाजनको लामो चक्रव्यूहपछि यो एकताको शङ्खघोषले राष्ट्र निर्माणमा स्थिरता र विकासको गति प्राप्त हुने आशा जागेको छ।
१. ‘युद्ध‘देखि ‘शान्ति‘सम्म: प्रचण्डको अद्भुत नेतृत्व कौशल
यस एकताको घोषणा सन्दर्भमा प्रचण्डको व्यक्तित्वलाई नेपाली कांग्रेसका महामन्त्री गगन थापाले वि.सं. २०७० साल मंसिरमा गरेको टिप्पणी सर्वाधिक मननीय छ। थापाले प्रचण्डलाई ‘दूरदर्शी र हिम्मत नहार्ने नेता’ भन्दै भनेका थिए,
“प्रचण्ड यु’द्धको मोर्चामा आफ्ना सबै सहकर्मीलाई सँगै हिँडाउन सक्ने र सँगै फर्काउन सक्ने क्षमता भएका नेता हुन्। शान्तिको मोर्चामा पनि उहाँले त्यही क्षमता देखाउन सक्नुपर्छ।”
यो एकतामा केन्द्रमा रहेका प्रचण्डको क्षमतालाई यसरि हेर्ने गरियो:
- अद्वितीय संयोजनकारी खुबी: दश वर्षअघिको यो भविष्यवाणी आज शान्तिको मोर्चामा चरितार्थ भएको छ। युद्धको मोर्चामा कठोरताका साथ सबैलाई एक ढिक्का बनाएका प्रचण्डले शान्तिको मोर्चामा आएर पनि १० वामपन्थी ध्रुवलाई एकजुट पार्न सक्नु उनको समकालीन राजनीतिमा बेजोड खुबी हो।
- समाजवाद उन्मुख बाटो: यो एकता पहल केवल शक्ति सञ्चयका लागि मात्र नभएर, नेपाली कम्युनिष्ट आन्दोलनलाई ‘सुस्थिर चिन्तन’ र ‘समाजवादी क्रान्तिको बाटो’ तर्फ उन्मुख गराउने दूरदर्शी कदम बनोस् भन्ने आम शुभकामना छ।
२. झलनाथ खनालको असन्तुष्टिमा प्रचण्डको ‘रणनीतिक विजय‘
एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले सुरुमा यो एकताको आधार, विशेषगरी ‘सुस्थिर चिन्तन’ मा प्रश्न उठाउँदै असहमति व्यक्त गरेका थिए। उनले एकतालाई अस्वीकार गर्दै नेकपा एमाले अध्यक्ष केपी ओलीलाई भेटेर एमालेमा प्रवेशको ढोका खोलेको खबर सार्वजनिक भएको थियो।
- कुशल व्यवस्थापन: यस्तो चुनौतीपूर्ण मोडमा, प्रचण्डले देखाएको रणनीतिक धैर्यता र मानव मनोविज्ञान बुझ्ने खुबी लोभलाग्दो छ। एकताको अन्तिम क्षणमा खनाललाई आफ्नै निवासमा बोलाएर भएको अन्तिम समझदारीले खनाललाई एकीकृत पार्टीको तेस्रो वरीयताको नेता बनायो।
- चाणक्य नीति: खनाललाई सम्मानजनक स्थान दिएर बृहत् पार्टी एकतालाई साकार पार्नु प्रचण्डको ‘रणनीति कला’ को अनुपम उदाहरण हो। तेस्रो वरियता पाएपछि झलनाथ खनाल एकीकृत भए तर जनार्दन, घनश्याम खतिवडा, रामकुमारीहरू आदि क्रान्तिकारी देखिने लहडमा एक्लिए।
३. बृहत् वाम एकतामा सहभागी १० दलहरु
काठमाडौंको भृकुटीमण्डपमा भएको यो एकता सम्मेलनमा प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम लगायतका नेताहरू सहभागी भए। नयाँ पार्टीको नाम ‘नेपाली कम्युनिष्ट पार्टी’ राखिएको छ र यसको चुनाव चिन्ह पाँचकुने तारा राख्ने सहमति भएको छ।
सहभागी प्रमुख पार्टीहरू:
- नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)
- नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)
- नेपाल समाजवादी पार्टी
- जन समाजवादी पार्टी, नेपाल
- नेपाल कम्युनिष्ट पार्टी
- नेकपा समाजवादी
- नेकपा माओवादी समाजवादी
- नेकपा साम्यवादी
- माओवादी कम्युनिष्ट केन्द्र
- देशभक्त समाजवादी मोर्चा
४. एकता भेलामा नेताहरूको मुख्य सन्देश:
| वक्ता | प्रमुख सन्देश |
| पुष्पकमल दाहाल ‘प्रचण्ड’ | बृहत् वाम एकताबाट समाजवादी क्रान्तिको वातावरण बन्दैछ। (यो एकता समाजवादी क्रान्तिको नयाँ धरातल तयार गर्ने ऐतिहासिक कदम हो।) |
| माधवकुमार नेपाल | पार्टीलाई व्यापक पुनर्गठन गर्दै क्रान्तिकारी शक्ति बनाउनुपर्छ। (देश, जनता र वामपन्थी आन्दोलनलाई नयाँ धरातलबाट उठाउन पुनर्गठन र रूपान्तरण अनिवार्य छ।) |
| झलनाथ खनाल | अब कहिल्यै नफुट्ने संकल्प गरौं; पार्टी प्रवेश गरेका खराब तत्त्वहरूलाई निकालेर फाल्नुपर्छ। |
| नारायणकाजी श्रेष्ठ | पार्टीलाई व्यापक रूपान्तरण र पुनर्गठन गर्नुपर्छ; वैज्ञानिक समाजवाद स्थापनाको लक्ष्यसहित पार्टी एकता भएको हो। जेन-जीले उठाएका मुद्दालाई एकीकृत पार्टीले ग्रहण गर्नुपर्छ। |
| महिन्द्र राय यादव | प्रचण्ड र माधव नेपाल पार्टीको होइन, अब देशको नेता बन्नुपर्छ। |
| वामदेव गौतम | समाजवाद निर्माणमा प्रवेश नगरेकाले जेनजी आन्दोलन भयो l |
५. भावी नेतृत्वलाई युवा पुस्ताको अपेक्षा (Gen-Z Demands)
यो एकता केवल सत्ताको गणितका लागि मात्र नभई राष्ट्रको समग्र रूपान्तरणका लागि हुनुपर्छ। युवा पुस्ता (Gen-Z) ले उठाएका मुद्दाहरूलाई एकीकृत पार्टीले प्राथमिकता दिनुपर्छ।
- स्थिर सरकार बनाउन प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री
- सांसदहरू मन्त्री नहुने, विज्ञ व्यक्ति नै मन्त्री हुने व्यवस्था
- भ्रष्टाचारको अन्त्य
- न्यूनतम शैक्षिक योग्यता निर्धारण: पालिकाका वडा अध्यक्ष, उपाध्यक्ष, अध्यक्षदेखि सांसद, मन्त्रीसम्मका लागि।
- स्वदेशमा नै रोजगारीको सिर्जना
- जनताले धन्न नसक्ने करको आतंक कम गर्न:
- रास्ट्रीय सभा ७ जना जतिको
- प्रतिनिधि सभा १००-११५ जति
- उपसभामुख र उपरास्ट्रपति हटाउने
- प्रदेश खारेज
- पूर्व विशिष्टको नाममा दिइने सबै सेवा सुविधा खारेज
- पालिकाको संख्या कटौती गरि ४००-४२५ जति
६. निष्कर्ष: एकीकरणको महानायक
२०७० सालमा गगन थापाले भनेको ‘दूरदर्शी र हिम्मत नहार्ने नेता’ को पहिचानलाई प्रचण्डले आज पुनः स्थापित गरेका छन्। आफ्ना सहकर्मीलाई युद्धको मोर्चामा सँगै हिँडाउन सक्नु र शान्तिको मोर्चामा झलनाथ खनाल जस्ता असन्तुष्ट नेतालाई समेत तेस्रो वरीयता दिएर बृहत् वाम एकतालाई मूर्तरूप दिन सक्नु उनको खुबी हो। नेपाली कम्युनिष्ट पार्टीको यस्तो चमत्कारी ऐतिहासिक एकताको सङ्घारका लागि प्रचण्डको नेतृत्व क्षमता र रणनीतिक धैर्यता आफैँमा प्रशंसनीय छ। अब यो एकताले नेपालको राजनीतिमा स्थिरता र समाजवादको बाटोमा नयाँ आयाम थप्न सकोस्।
