देव नारायण शर्मा
बिराटनगर , १६ चैत
मोरङ, धनपालथान — जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय कर्सियाद्वारा सञ्चालित पशुबिमा क्षतिपूर्ति रकम वितरण कार्यक्रम २०८१ साल चैत १५ गते धनपालथान गाउँपालिका वडा नं ३ मा सम्पन्न भएको छ।
कार्यक्रममा प्रमुख अतिथि वडा अध्यक्ष नागेश्वर मण्डल, कोशी प्रदेश कार्यालयका मधुसुधन मण्डल, कर्सिया शाखा प्रमुख बासुदेव कुमार शाह र फिल्ड सहायक कमल कुमार सिंहको उपस्थिति रहेको थियो।

कार्यक्रम अन्तर्गत किसानहरूले खरिद गरेका उन्नत जातका गाई बाँझोपन भएका कारण बीमा कम्पनीबाट ५०% क्षतिपूर्ति रकम प्राप्त गरेका छन्। बीमा रकम पाउने किसानहरूमा जीवन विकास लघुवित्त वित्तीय संस्था लि. का केन्द्र नं १८ की नप्सिला मण्डलले रु ५०,०००, केन्द्र नं १८ कै सरिता देवी मण्डलले रु ५०,०००, केन्द्र नं ९८ की सपना कुमारी मण्डलले रु ७५,००० तथा केन्द्र नं ९८ कै श्यामबत्ती मण्डलले दुईवटा गाईको बीमा रकमस्वरूप रु १,५०,००० प्राप्त गरेका छन्।
प्रमुख अतिथि वडा अध्यक्ष नागेश्वर मण्डलले किसानहरूलाई बीमा रकम हस्तान्तरण गरेका थिए। बीमा रकम सहज रूपमा प्राप्त भएकाले किसानहरू असाध्यै खुसी भएका छन्। उनीहरूले यस्तो कार्यक्रमले पशुपालन व्यवसायलाई थप सुरक्षित बनाउने भन्दै खुशी व्यक्त गरेका छन्।
स्थानीय किसानहरूको आर्थिक सुरक्षाका लागि यस्तो योजनाले महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ।