रङ्गेली, मोरङ्ग – समाजसेवी मेहताको सक्रियताले चन्दा उठाएर ६८ वर्षीय कान्त्री देवीराजवंशीको झुपडीमा मिटर सहितको पहिलोपटक बत्ती बलेको छ।

मोरङ्गको हुलाकी सडकको छेउमै रङ्गेली ६ स्थित ऐलानी जग्गामा बास, माटो, खिया लागेको जस्ताले बनेको जिर्ण झुपडीमा एक्लै बस्दै आएकी उनी विगत चार दशकदेखि अन्ध्यारोमै बाँचिरहेकी थिइन्। सन्तान कोही पनि छैन, झन्डै एक वर्ष अघि श्रीमानको मृत्यु पछि उनी झनै एक्लै भई, साँझ परेपछि मट्टी तेलको कुपी बालेर रात काट्थिन्।

घरकै अगाडि बसेर उनले वर्षौंदेखि पापड, प्याजी, आलुचप र भक्का बेचेकी छन्। बिहानदेखि बेलुकीसम्म उनी त्यही सानो पसलमै रमाइरहन्छिन्। यही व्यवसायबाट जसोतसो छाक टार्दै आइरहेकी छन्।

कति ग्राहकले बारम्बार खाइरहे, कहिलेकाहीं उधारोमा पनि लिए। तर जसले उनका हातका भक्का चाखे, उनी बस्ने घरको अँध्यारो चाहिँ कहिल्यै चाखेनन्।

त्यो अँध्यारो देखे समाजसेवी तथा जेष्ठ नागरिक समाज रङ्गेलीको अध्यक्ष लक्ष्मीप्रसाद मेहताले। उनले साथीभाइहरूसँग कुरा गरेर चन्दा उठाए र उनीकै सक्रियतामा कान्त्री देवीको झुपडीमा पहिलोपटक मिटर जडान गरियो र बत्ती बल्यो।

लक्ष्मीप्रसाद मेहता भन्छन् “म उहाँको घरमा साँझतिर पुगेको थिएँ। हातमा मट्टीतेलको कुप्पी, आँखामा थकान र अनुहारमा चिन्ता थियो। त्यो देखेर म चुप बस्न सकिनँ। साथीभाइहरूसँग सल्लाह गरेँ, चन्दा उठायौँ। अन्ततः मिटर जडान गरेर बत्ती बलाउने काम सफल भयो। अब उहाँ अन्धकारमा बस्नुपर्ने छैन।”

बत्ती बल्नेबित्तिकै कान्त्री देवीका आँखा रसाए। केहीबेर उनी बोल्नै सकिनन्। कान्त्री देवी भन्छिन् “जीवनभर म अँध्यारोमै बसें। कहिल्यै सोचिनँ कि मेरो घरमा पनि बत्ती बल्छ। जब मिटरको बटन थिचेर उज्यालो आयो, बल्ल मैले महसुस गरेँ। कि म पनि यही समाजको छु। र यो समाजमा मेरो पनि अस्तित्व छ भनेर। त्यो उज्यालो मात्र थिएन, त्यो मेरो जिन्दगीमा फेरि सुरु भएको एक नयाँ बिहान थियो।”

अहिले पनि कान्त्री देवीको झुपडीको भित्ताहरू चर्किएका छन्, छानो चुहिने छ। बर्खामा भित्र पानी सर्छ, हिउँदमा चिसोले कठ्यांग्रिन्छ। तर अब त्यो झुपडी अन्धकारमा छैन, उज्यालोले त्यो कोठा छोएको छ।

यदि समाजको साथ निरन्तर रह्यो भने, त्यो उज्यालो बल्ने कोठा मात्र होइन, एक सुरक्षित घर बन्न सक्नेछ। जहाँ एक वृद्धा आत्मसम्मानसाथ बाँची रहनेछिन्।

अब त्यो उज्यालोलाई भत्किँदो भित्ताबाट बचाउने, चुहिँदो छानामाथि छायाँ दिनुपर्ने र जीवनलाई उज्यालोको मात्र होइन, सुरक्षा र सम्मानको घरको आवस्यकता छ।

4
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *