मिलन काफ्ले,

पाल्पा, ३ बैशाख

राष्ट्रको गौरवशाली इतिहास र वीर गोरखालीहरूको सम्मानमा नेपाली सेनाले गोरखादेखि ऐतिहासिक जितगढी (बुटवल) सम्मको पदयात्रा जारी राखेको छ। पृथ्वी नारायण शाहको नेपाल एकीकरणकालीन अभियानमा र नेपाल–अंग्रेज युद्धका क्रममा प्रयोग गरिएका किल्ला तथा गढिहरूको स्मरण गर्दै सेनाको टोलीले चैत्र २८ गते गोरखा दरबारबाट पदयात्रा सुरु गरेको हो। टोली बैशाख ७ गते बुटवलस्थित जितगढी पुग्ने लक्ष्यमा छ।

नेपाली सेनाका सहसेनानी टोली क्याप्टेन रमेश अधिकारीका अनुसार यो पदयात्रा नयाँ पुस्तामा राष्ट्रिय इतिहासप्रति जागरुकता जगाउने उद्देश्यले विगत केही वर्षदेखि नियमित रूपमा आयोजना हुँदै आएको छ।

कुल ३०५ किलोमिटर दूरीको यो यात्रामा पाल्पा जिल्लामात्रै १६५ किलोमिटरको यात्रा तय हुनेछ। हाल सेनाको टोली पूर्वखोला गाउँपालिकाबाट रम्भा गाउँपालिका हुँदै माथागढी गाउँपालिका तर्फ अघि बढिरहेको छ। यात्राका क्रममा सम्बन्धित पालिका क्षेत्रहरूमा जनप्रतिनिधि, कर्मचारी तथा स्थानीय बासिन्दाले स्वागत, बिदाइ, खानपान र आवश्यक समन्वय गर्दै सेनाको उत्साह अभिवृद्धि गरिरहेका छन्।

रम्भा गाउँपालिका अध्यक्ष विष्णु प्रसाद भण्डारीले सेनाको ऐतिहासिक यात्रालाई सहयोग गर्न पाउँदा पाल्पाबासीलाई गर्व लागेको बताउनुभयो।

४८ जना सदस्यीय सेनाको टोली बाजागाजा, विभिन्न प्रतीकात्मक झण्डाहरू र एकीकरण दीप सहित आकर्षक शैलीमा यात्रामा सहभागी छ। बैशाख ७ गते जितगढी पुगेर बुटवलमा आयोजना हुने भव्य विजय जुलुसमा टोली सहभागी हुने तयारीमा छ।

पाल्पाको तैनाथवाला कर्णेल उजिर सिंहको नेतृत्वमा नेपाली फौजले अंग्रेज सेनालाई जितगढी युद्धमा परास्त गरेको ऐतिहासिक विजयको स्मरणमा प्रत्येक वर्ष बैशाख ७ गते ‘विजय उत्सव’को रूपमा गौरवका साथ मनाउने परम्परा छ।

1
0

By Dev

Leave a Reply

Your email address will not be published. Required fields are marked *