काठमाडौं, कात्तिक १२।

राम कुमार शर्मा / एनभी खबर


सोलुखुम्बु जिल्लामा विदेशी पर्यटक उद्धारका लागि गएको अल्टिच्युड एयर प्रालिको हेलिकोप्टर आज बिहान दुर्घटनामा परेको छ। उक्त दुर्घटनामा पाइलट क्याप्टेन विवेक खड्का सकुशल रहेका छन्।

कम्पनीले जारी गरेको प्रेस विज्ञप्तिअनुसार ९एन–एएमएस दर्ता नम्बरको हेलिकोप्टरले बिहान ७:४१ बजे लुक्लाबाट लोबुचेका लागि उडान भरेको थियो। तर अवतरणको क्रममा बिहान ७:५२ बजे हेलिकोप्टर दुर्घटनामा परेको हो।

दुर्घटनापछि क्याप्टेन खड्कालाई तत्काल उद्धार गरी सुरक्षित स्थानमा ल्याइएको र कुनै पनि मानवीय क्षति नभएको कम्पनीले स्पष्ट गरेको छ। हेलिकोप्टरमा अन्य यात्रु वा चालक दलका सदस्य नभएको पनि प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ।

कम्पनीले घटनासम्बन्धी सत्यतथ्य जानकारीका लागि आधिकारिक स्रोतमा आधारित समाचार मात्र प्रकाशन गर्न आग्रह गर्दै थप विवरण पछि सार्वजनिक गर्ने जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *