मोरङ जिल्लाभित्रका सबै पालिकाहरूले आर्थिक वर्ष २०८२/८३ का लागि आफ्ना वार्षिक बजेट सार्वजनिक गरिसकेका छन्। कसैले अर्बपारको आकांक्षा बोके, कसैले यथार्थको चौकटभित्र रहेर योजनाबद्ध खर्चको तयारी गरे। यसबीच कोशी प्रदेशकै केन्द्रीय सहर विराटनगरले आफ्नै गम्भीर उपस्थिति कायम राखेको छ।
विराटनगर महानगरपालिकाले १६औं साधारण सभाबाट ४ अर्ब ४० लाख रुपैयाँको बजेट ल्यायो। यीमध्ये धेरैजसो रकम आधारभूत संरचना, स्मार्ट सहर योजना, सडक विस्तार र सामाजिक सुरक्षातर्फ केन्द्रित गरिएको छ। तर, अघिल्ला वर्षहरूमा देखिएको कार्यान्वयनको ढिलाइ अझै चुनौती हो।
नगरपालिकाहरूमा सबैभन्दा धेरै बजेट ल्याउने हो सुन्दरहरैंचा नगरपालिका। यसले १ अर्ब ७१ करोड २७ लाख १ सय ८० रुपैयाँ बराबरको बजेट ल्याउँदै अग्रता लिएको हो।
उर्लाबारी नगरपालिका दोस्रो स्थानमा छ, जसले १ अर्ब १८ करोड ४० लाख ५४ हजार ५०० रुपैयाँको बजेट सार्वजनिक गर्यो।
तेस्रोमा रङ्गेली नगरपालिका छ – ९३ करोड ४० लाख ८९ हजार रुपैयाँ बजेटसहित।
त्यसपछि रतुवामाई नगरपालिका ८३ करोड ८५ लाख ११ हजार, पथरी शनिश्चरे नगरपालिका ८१ करोड ९९ लाख, बेलबारी नगरपालिका ७६ करोड ६२ लाख ८० हजार र सुनवर्षी नगरपालिका ६७ करोड १३ लाख २२ हजार रुपैयाँ बजेटसहित अगाडि देखिन्छन्।
लेटाङ्ग नगरपालिकाले ६१ करोड ६ लाख २८ हजार २ सय रुपैयाँको बजेट १७औं साधारण सभाबाट पारित गरेको हो।
अब गाउँपालिकातर्फ हेर्दा, केराबारी गाउँपालिका सबैभन्दा अगाडि छ। यसले ८४ करोड ८ लाख ५८ हजार रुपैयाँ बजेट पारित गर्दै मिक्लाजुङलाई पछि पार्यो।
मिक्लाजुङ गाउँपालिका दोस्रो स्थानमा रह्यो — ७९ करोड ९२ लाख रुपैयाँ बजेटसहित।
त्यसपछि बुढीगंगा गाउँपालिका करिब ७६ करोड, कानेपोखरी गाउँपालिका ६७ करोड २९ लाख ९६ हजार, जहदा ६० करोड २७ लाख ९० हजार, धनपालथान ५९ करोड १८ लाख ७३ हजार ३११ र कटहरी ५८ करोड ९१ लाख ४४ हजार ५०० रुपैयाँको बजेटसहित देखिन्छन्।
गाउँतर्फ सबैभन्दा कम बजेट ग्रामथान गाउँपालिकाको छ। करिब ५२ करोड रुपैयाँ।