✍️ मनोज कुमार राजबंशी
युवा नेता तथा समाजसेवी, नेकपा (माओवादी केन्द्र)
नेपालका लाखौँ युवाहरू ठूला सपना बोकेर, पारिवारिक दुःखलाई सुखमा रूपान्तरण गर्ने आशा सहित देश छाडेर विदेशिन्छन्। तर यो यात्राको सुरुवातदेखि नै उनीहरू अनगिन्ती समस्याको सामना गर्न बाध्य छन्। यिनै समस्याहरू निम्न बुँदाहरूमा स्पष्ट पार्न चाहन्छु :
१. वैधानिक ठगी र अव्यवस्था
नेपालमा म्यानपावर कम्पनीहरूले आकर्षक अफर लेटर देखाएर ‘धेरै सुविधा पाउनुहुन्छ’ भनेर आश्वासन दिन्छन्। तर जब श्रमिकहरू गन्तव्य देशमा पुग्छन्, अफर लेटरमा उल्लेख गरिएका सुविधा र तलब कागजमा मात्रै सीमित हुने गर्छ।
२. जबर्जस्ती स्वीकृति लिने चलन
अन्तिम चरणमा, म्यानपावर अफिस वा कुनै होटलमा बोलाएर श्रमिकसँग जबर्जस्ती ‘१० हजार मात्र तिरेको छु’ भन्ने भिडियो खिचिन्छ। त्यो पनि मोबाइल बन्द गराएर, बन्द कोठाभित्र एजेन्टको निर्देशनमा “हो” भन्न बाध्य पारिन्छ।
३. अन्तर्राष्ट्रिय सम्झौताहरूको अवमूल्यन
नेपाल सरकार र विदेशी कम्पनीहरूबीच भएको सम्झौता व्यावहारिक रूपमा लागू हुन सक्दैन। जब श्रमिक गन्तव्य देशमा पुग्छ, ती सम्झौताहरूको कुनै अर्थ हुँदैन। त्यसको जिम्मेवार को ?
४. विमानस्थलमै विभेदपूर्ण व्यवहार
नेपालको विमानस्थलमै श्रमिकहरू र भ्रमण (भिसिट) मा जानेहरूबीच विभेद हुन्छ। श्रमिकप्रति हेपाहा व्यवहार गरिन्छ, जो अत्यन्तै लज्जास्पद छ।
५. दूतावास र कूटनीतिक उदासीनता
विदेशमा रहेका नेपालीहरूको हक र हितको रक्षाका लागि राजदूतहरू नियुक्त गरिन्छन्। तर अधिकांश अवस्थामा, तिनले समस्या समाधान गर्नुभन्दा समस्या बेवास्ता गर्ने र जनतालाई निराश बनाउने काम गर्छन्।
६. श्रमिकको योगदान र पीडा
नेपाली श्रमिकहरूले रेमिट्यान्स पठाउँछन्, जसबाट देश चलिरहेको छ। तर जब उनीहरू विदेशी भूमिमा निधन हुन्छन्, शव ल्याउन महिनौं लाग्छ। यस्तो व्यवहार मानवताको अपमान हो।
निष्कर्षमा, यस्ता समस्या दशकौं पुराना भए पनि समाधानका लागि गम्भीर प्रयास अझै भएको छैन। अब समय आएको छ — संसदभित्र रहेका सबै माननीय सांसदहरूले एकपटक आत्मसमीक्षा गरून् :
के हामी सच्चै जिम्मेवार छौं ?
के नेपाल सरकारको निर्णयलाई अन्य मुलुकहरूले बेवास्ता गर्छन् ?
हामीले यी सवालको जवाफ कहिले दिने ?
देश, जनता, श्रमिक — सबैको भरोसालाई कायम राख्न अब सजग, सक्रिय र जवाफदेही बन्नुपर्ने समय हो।