देव नारायण शर्मा
बिराटनगर , २० चैत
काठमाडौं । गत चैत्र ५ गते ट्रकबाट बरामद भएको २५ करोड बराबरको विदेशी मुद्राका मालिकको पहिचान भएको छ । प्रहरी अनुसन्धानबाट सो रकम सिन्धुपाल्चोकका नारायण पौडेलको भएको पुष्टि भएको छ ।
सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका-४ स्थायी घर भई हाल टोखा नगरपालिका-१० मा बस्दै आएका नारायण पौडेल २५ करोड बराबरको विदेशी मुद्राका वास्तविक मालिक रहेको खुलेको हो । प्रहरीका अनुसार पौडेलको नाममा पक्राउ पुर्जी जारी भइसकेको छ ।
गत चैत्र ५ गते ना ७ ख १६५२ नम्बरको ट्रकमा फल्स बटम बनाई रकम लुकाएर लैजान खोजेका ४३ वर्षीय कुसान लामालाई प्रहरीले केरुङतर्फ जाने क्रममा पक्राउ गरेको थियो । प्रहरी अनुसन्धानमा उनी यसअघि पनि सुन तस्करीमा संलग्न रहेको खुलेको छ ।
कुसान लामालाई यसअघि ७ किलो सुन सहित कलंकीबाट पक्राउ गरिएको थियो । उनले रसुवाबाट गल्छी हुँदै काठमाडौं ल्याउने क्रममा बा ८ च ७४२० नम्बरको हाइलक्स गाडीमा ७ किलो सुन लुकाएर ल्याएका थिए । सो घटनापछि उनी २०७८ सालमा रिहा भएका थिए ।
प्रहरीले नारायण पौडेलको खोजी कार्य तीव्र पारेको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।