देव नारायण शर्मा
विराटनगर , १५ चैत
नेपाल विद्युत् प्राधिकरणले भारतबाट थप ४ घण्टा बिजुली आयात गर्न पाउने भएको छ। यसअघि दैनिक १२ घण्टा आयात हुँदै आएकोमा अब शुक्रबारदेखि १६ घण्टा बिजुली ल्याउन पाइने व्यवस्था गरिएको छ।
प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यका अनुसार नेपाल पक्षको आग्रहपछि भारतले बिजुली आयातको समय वृद्धि गर्न सहमति जनाएको हो। ‘पहिले बिहान ६ बजेदेखि बेलुका ६ बजेसम्म बिजुली आयात गर्न पाइन्थ्यो, अब बिहान ६ बजेदेखि साँझ ५ बजेसम्म र राति ११ बजेदेखि बिहान ४ बजेसम्म ल्याउन पाइनेछ,’ उनले जानकारी दिए।
६५४ मेगावाटसम्म आयातको अनुमति
भारतले ढल्केबर–मुजफ्फरपुर ४०० केभी प्रसारण लाइनबाट ६०० मेगावाट र टनकपुर–महेन्द्रनगर लाइनबाट ५४ मेगावाट गरी कुल ६५४ मेगावाट बिजुली आयातको अनुमति दिएको छ। हिउँदमा नेपालको जलविद्युत् उत्पादन घट्ने भएकाले माग धान्न भारतबाट बिजुली खरिद गरिँदै आएको छ।
भारतले यसअघि मंसिरमा चैत २ सम्म दिनको २० घण्टा बिजुली आयात गर्ने अनुमति दिएको थियो। चैत ३ देखि असार १६ सम्म भने बिहान ६ देखि साँझ ६ बजेसम्म मात्र ल्याउन सक्ने गरी समयसीमा निर्धारण गरिएको थियो। हाल प्राधिकरणले दैनिक १२ घण्टा मात्र बिजुली आयात गर्दै आएको छ।
औद्योगिक करिडोरको लोडसेडिङ बन्द हुने
शाक्यका अनुसार रातिको समयमा पनि बिजुली आयात गर्न पाउने व्यवस्था भएपछि विराटनगर र भैरहवा औद्योगिक करिडोरको लोडसेडिङ हट्नेछ। ‘पिक आवर बाहेक अब औद्योगिक क्षेत्रमा लोडसेडिङ हुँदैन,’ उनले भने।
नेपालले इन्डियन इनर्जी एक्सचेन्ज लिमिटेड (आईएक्स) को डे–अहेड र रियल टाइम बजारबाट प्रतिस्पर्धात्मक रूपमा बिजुली खरिद गर्दै आएको छ। आईएक्समार्फत अहिलेसम्म दिउँसो साढे ५ सय मेगावाटसम्म आयात भइरहेको छ।
थप २३० मेगावाट ल्याउने प्रक्रिया अघि बढ्दै
नेपाल विद्युत् प्राधिकरणले भारतको एनटीपीसी विद्युत् व्यापार निगम (एनभीभीएन) सँग थप २३० मेगावाट बिजुली आयातका लागि प्रक्रिया अघि बढाएको छ। शाक्यका अनुसार गत असोजमा यससम्बन्धी सम्झौता भए पनि फलोअप नगर्दा भारतले उक्त बिजुली अन्यत्र बिक्री गरिसकेको थियो। अब पुनः बोलपत्र आह्वान गरिएको छ।
उनले प्रक्रियामा रहेका बिजुलीसमेत आयात गर्न सके औद्योगिक क्षेत्रको लोडसेडिङ २–३ घण्टामा सीमित हुने जानकारी दिए।