छिमेकी मुलुकहरूमा निपाह भाइरस संक्रमणका घटनाहरू देखिन थालेपछि नेपालमा पनि स्वास्थ्य सतर्कता कडा पारिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निपाह भाइरसलाई उच्च जोखिमयुक्त संक्रामक रोगका रूपमा लिँदै देशभरका अस्पताल तथा सीमावर्ती नाकाहरूलाई विशेष निगरानीमा राख्न निर्देशन दिएको छ।

निपाह भाइरस एक जनावरबाट मानिसमा सर्ने (जुनोटिक) भाइरस हो, जसको मुख्य प्राकृतिक स्रोत फल खाने चमेरा हुन्। स्वास्थ्य विज्ञहरूका अनुसार चमेराले छोएका वा खाएका फलफूल, संक्रमित जनावरसँगको सम्पर्क तथा संक्रमित व्यक्तिको नजिकको सम्पर्कबाट यो भाइरस मानिसमा सर्न सक्छ।

मन्त्रालयका अनुसार निपाह भाइरसको इन्क्युबेसन अवधि सामान्यतया ४ देखि १४ दिनसम्म रहने भए पनि केही अवस्थामा ४५ दिनसम्म लक्षण देखिन ढिलाइ हुन सक्छ। प्रारम्भिक लक्षणमा ज्वरो, टाउको दुखाइ, मांसपेशी दुख्ने, बान्ता, थकान तथा कमजोरी देखिने गर्छ। संक्रमण गम्भीर बन्दै जाँदा सास फेर्न गाह्रो हुने, लगातार खोकी लाग्ने, मानसिक अवस्था परिवर्तन हुने, झट्का लाग्ने, बेहोस हुने तथा मस्तिष्क सुन्निने (इन्सेफ्लाइटिस) जस्ता जटिल लक्षण देखिन सक्ने मन्त्रालयले जनाएको छ।

स्वास्थ्य विज्ञहरूका अनुसार निपाह भाइरसको मृत्युदर ४० देखि ७५ प्रतिशतसम्म रहेको छ। हालसम्म यस रोगको निश्चित औषधि वा खोप उपलब्ध नभएकाले लक्षणअनुसार सहायक उपचार मात्र गरिँदै आएको छ।

नेपालमा हालसम्म निपाह भाइरस संक्रमणको पुष्टि नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। यद्यपि खुला सिमाना र अन्तर्राष्ट्रिय आवतजावतका कारण सम्भावित जोखिमलाई मध्यनजर गर्दै अन्तर्राष्ट्रिय विमानस्थल, सीमावर्ती नाका तथा ठूला अस्पतालहरूलाई तयारी अवस्थामा राखिएको छ।

स्वास्थ्य मन्त्रालयले सर्वसाधारणलाई काँचो फलफूल राम्ररी धोएर मात्र सेवन गर्न, चमेराले छोएको आशंका भएका फल नखान, ज्वरो तथा स्नायुसम्बन्धी लक्षण देखिए तत्काल नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्न आग्रह गरेको छ। संक्रमण नियन्त्रणका मापदण्ड पालना गर्न र जनचेतना बढाउन विशेष अभियान सञ्चालन गर्ने तयारी पनि मन्त्रालयले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *