स्थानीयको स्वास्थ्य जोखिम र दुर्गन्धको गुनासो, सञ्चालक भन्छन् — “मेरो सानो फर्म हो, नियमभित्रै सञ्चालन गरेको छु”
देवनारायण शर्मा / विराटनगर १८ कार्तिक
मोरङ — रंगेली नगरपालिका–२ बेतौनाका स्थानीय बासिन्दाले गाउँभित्र सञ्चालनमा रहेका कुखुरा फर्मप्रति कडा आपत्ति जनाउँदै न्यायक समितिमा औपचारिक निवेदन दर्ता गरेका छन्।

स्थानीयको भनाइअनुसार गाउँ समाजले यसअघि नै गाउँभित्र कुखुरा फर्म खोल्न नपाइने सामूहिक निर्णय गरेको थियो। तर, सो निर्णय विपरीत अहिले अमाश कृषि फर्म र दुर्गा कृषि फर्म सञ्चालनमा आएकाले वातावरणीय समस्या उत्पन्न भएको उनीहरूको दाबी छ।


फर्मबाट निस्कने दुर्गन्ध, फोहोर व्यवस्थापनको अभाव, झिंगाको बढ्दो संख्याका कारण स्वास्थ्यमा असर परिरहेको र गाउँको बसोबास असहज बन्दै गएको स्थानीयको गुनासो छ।
स्थानीयले तत्काल कारबाहीको माग गर्दै फर्म बन्द गर्न आग्रह गरेका छन्। उनीहरूले यसअघि २०७५–७६ सालतिर सञ्चालन भएको विराट पोल्ट्री फर्म ले पनि यस्तै समस्या ल्याएको र लामो आन्दोलनपछि फर्म हटाइएको स्मरण गराएका छन्। त्यसपछि गाउँ समाजले सामूहिक निर्णयमार्फत भविष्यमा कुनै पनि पोल्ट्री फर्म सञ्चालन नगर्ने सहमति गरेको थियो।
तर अहिले पुनः फर्म सञ्चालनमा आएको भन्दै स्थानीयले त्यस निर्णय उल्लङ्घन भएको बताएका छन्।
फर्म सञ्चालकको पक्ष
फर्म सञ्चालकका अनुसार, उनले सञ्चालन गरेको फर्म पूर्ण रूपमा नियमको दायराभित्र रहेको छ र त्यसले गाउँमा कुनै पनि किसिमको मानवीय क्षति, दुर्गन्ध वा स्वास्थ्य जोखिम निम्त्याएको छैन।

उनले भने, “विगतमा सञ्चालन भएको विराट पोल्ट्री फर्मको उद्देश्य र स्वरूप बेग्लै थियो। त्यो ठूलो संस्था थियो र त्यसका कार्य पनि फरक थिए। तर मेरो फर्म सानो स्तरको हो, केवल करिब हजारवटा कुखुरा पालिन्छ। हरेक ३२ देखि ३५ दिनभित्र उत्पादन सकाएर बिक्री गरिन्छ।”
उनका अनुसार सानो आकार र व्यवस्थित व्यवस्थापनका कारण दुर्गन्ध, फोहोर वा झिंगाको समस्या उत्पन्न नभएको दाबी गरिएको छ।
