देव नारायण शर्मा
बिराटनगर, ३० असोज
मोरंग, इलाका प्रहरी कार्यालय रङ्गेलीले बिहीबार धनपालथान–४ कर्सिया बजारस्थित श्री शारदा माध्यमिक विद्यालयमा नागरिक सुनुवाइ तथा सुरक्षा संवाद कार्यक्रम सम्पन्न गरेको छ।

कार्यक्रममा धनपालथान गाउँपालिकाका अध्यक्ष, वडाध्यक्षहरू, जनप्रतिनिधि, स्थानीय नागरिक तथा समुदायका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो। सो अवसरमा जिल्ला प्रहरी कार्यालय मोरङकी प्रवक्ता डीएसपी कोपिला चुडाल, मायागञ्ज सशस्त्र प्रहरी बलका डीएसपी मानबहादुर कटुवाल, र इलाका प्रहरी कार्यालय रङ्गेलीका इन्स्पेक्टर नरेन्द्र कुमार बोगटी समेत उपस्थित हुनु भएको थियो।

कार्यक्रमका क्रममा सहभागीहरूले प्रहरी सेवाको प्रभावकारिता, जनसहभागिता, लागुऔषध नियन्त्रण, सामाजिक विकृति–विसंगति नियन्त्रण र समग्र सुरक्षा व्यवस्थासम्बन्धी विविध सुझाव र विचारहरू राखेका थिए।

कार्यक्रममा बोल्दै डीएसपी कोपिला चुडालले प्रहरी सेवा सुधार र समुदायसँगको सहकार्य बलियो बनाउन नागरिकको प्रत्यक्ष सुझाव अमूल्य हुने बताउनुभयो। उहाँले समुदायको सहयोग र विश्वास बिना प्रभावकारी सुरक्षा सम्भव नहुने भन्दै प्रहरी जनताको सेवामा निरन्तर समर्पित रहेको स्पष्ट पार्नुभयो।
प्रहरीका अनुसार यस्ता नागरिक सुनुवाइ तथा अन्तरक्रिया कार्यक्रमहरू नियमित रूपमा सञ्चालन गर्दै समुदायसँग सहकार्यमा अपराध नियन्त्रण र शान्ति–सुरक्षाको सुदृढीकरणमा सहयोग पुर्याउने उद्देश्य राखिएको छ।


