✍️ चन्द्रप्रसाद अधिकारी(बरिष्ठ प्राध्यापक, शिक्षाविद्, विश्लेषक तथा अनुसन्धानकर्ता हुन)

आजकल कलेजका ‘कन्फेसन’ पेजहरूमा देखिने केही अप्रिय घटनाहरूले हाम्रो समाजको एक संवेदनशील पाटोलाई उजागर गरेको छ। विशेष गरी, पूर्वी नेपालका इटहरी, धरान, विराटनगर, दमक, बिर्तामोड लगायतका सहरहरूमा यो समस्याले भयावह रूप लिँदै गएको पाइन्छ। आफूलाई ‘पढेलेखेको’ र ‘सभ्य’ ठान्ने हामी युवाहरूले नै बिभिन्न कलेज र कलेजका साथीहरूका सस्थागत तथा व्यक्तिगत तस्बिर राखेर जानीजानी वा अन्जानमा सामाजिक साईबर अपराध गर्नुका साथै आफनो र अरुको जीवनलाई मजाकको विषय वस्तु बनाइरहेका छौँ।

यो कार्यले तपाई हामीलाई एकछिन क्षणिक रमाइलो त देला, तर यस कार्यले हाम्रो नैतिकता, सभ्यता, सामाजिक जिम्मेवारी र कानुनी दायरालाई गम्भीर रुपमा असर पार्नुका साथे हाम्रो नैतिकतामा नै प्रश्नचिह्न लगाईरहेको छ ।

नेपालको संविधानले हरेक नागरिकलाई बोल्न, लेख्न र पढ्न पाउने अभिव्यक्ति तथा स्वतन्त्रताको अधिकार दिएको छ। तर, यो कुरा सत्य हो कि, आफूलाई लागेको कुरा लेख्ने बहानामा कतै हामीले अरूको अधिकार त खोसिरहेका छैनौँ? किनकि, त्यही स्वतन्त्रताले जब अर्काको मर्यादामा ठेस पुर्याउँछ भने त्यो स्वतन्त्रता नभएर अपराध बन्न पुग्छ।

महान् दार्शनिक सुकरातले भनेका थिए, हामीले आफूलाई बुझ्नको लागि सबैभन्दा पहिले अरूलाई बुझ्नु आवश्यक छ।” हाम्रो कार्यले कसैको मनमा कस्तो चोट पुर्‍याउँछ, उसको भविष्यमा कस्तो नकारात्मक असर पर्छ भन्ने कुरालाई हामीले कहिल्यै नजरअन्दाज गर्नु हुन्न।

महान् लेखक जर्ज बर्नार्ड शाको भनाइ पनि यहाँ सान्दर्भिक छ, मानिसहरू आफूलाई राम्रो देखाउन चाहन्छन्, तर त्यसो गर्न अरूलाई नराम्रो बनाउनु पर्छ भन्ने भ्रममा पर्छन्।” जब हामी कसैको मजाक उडाउँछौँ, तब हामी आफूलाई महान् ठानिरहेका हुन्छौँ, तर वास्तवमा हामीले आफ्नो नैतिकताको धरातललाई कमजोर बनाइरहेका हुन्छौँ।

यस विषयमा एल्बर्ट आइन्स्टाइनले भनेको एउटा भनाइ पनि मननीय छ, शिक्षित हुनुको अर्थ ज्ञानको भण्डार हुनु मात्र होइन, बरु अरूको सम्मान गर्न सक्ने क्षमताको विकास गर्नु पनि हो।” हामीले पाएको शिक्षालाई यदि हामीले साथीभाइको इज्जत र मर्यादामाथि आक्रमण गर्न प्रयोग गर्छौँ भने, त्यो शिक्षाको कुनै अर्थ रहँदैन।

अहिलेको डिजिटल युगमा हामीले गर्ने हरेक क्रियाकलापको गहिरो प्रभाव हुन्छ। आजको एउटा सानो मजाकले भोलि कसैको मानसिक स्वास्थ्यमा दीर्घकालीन असर पुर्‍याउन सक्छ। यसैले, हामीले हाम्रो काम र बोलीमा विशेष ध्यान दिनुपर्छ। प्रख्यात नेता नेल्सन मन्डेलाले भन्नुभएको थियो, हामीले असल र खराबको बीचमा फरक छुट्याउन सक्नुपर्छ।” यो कुरा हामीले साइबर संसारमा पनि लागू गर्नुपर्छ।

सरोकारवालाहरूलाई समाधानका लागि अनुरोध

अन्तमा, यो कुरा बुझ्न जरुरी छ कि अरूलाई मजाक बनाउने कार्य कुनै पनि कोणबाट सभ्य र असल नागरिकको काम होइन। यसले तपाईंलाई कानुनको नजरमा अपराधी बनाउन सक्छ र तपाईंको भविष्यको बाटोलाई पनि अप्ठ्यारोमा पार्न सक्छ।

यस गम्भीर विषयलाई सम्बोधन गर्न विद्यार्थी, अभिभावक, नागरिक समाज, टोलबासी, बुद्दीजीबी, सामाजिक अभियान्ता, राजनीतिक दल, पत्रकार, प्रहरी प्रशासन, शिक्षक, प्राचार्य र व्यवस्थापन समिति लगायत सबै सरोकारवालाहरूलाई यथासम्भव चाँडो पहल गर्न हार्दिक अनुरोध गर्दछौँ। आउनुहोस्, हामी सबैले मिलेर एक स्वस्थ र मर्यादित अनलाइन वातावरण बनाऔँ। हामी पढेलेखेका छौँ, त्यसैले हाम्रो व्यवहार पनि त्यसै अनुसारको बनाउन एकआपसमा हातेमालो गरौ। हिमाला पहाड तराई कोहि छैनौ पराई l

कलेज कन्फेसन पेजहरूलाई साथीहरूको गल्ती औँल्याउने वा उनीहरूको मजाक उडाउने माध्यम होइन, बरु कलेजको अनुभव, पढाइका चुनौती र सुखदुःखका क्षणहरू बाँड्ने एउटा सकारात्मक प्लेटफर्म बनाऔँ। यो नै एक असल र शिक्षित नागरिकको परिचय हो।

साइबर अपराध रोक्न गरिनुपर्ने पहलहरू

यस्ता समस्याको समाधानका लागि विद्यार्थी, अभिभावक, शिक्षक, प्रशासन र प्रहरी लगायत सबै सरोकारवालाहरूको संयुक्त प्रयास अति नै आवश्यक हुन्छ।

१. विद्यार्थीहरूमा जागरूकता कार्यक्रम सञ्चालन गर्ने:

  • साइबर अपराध, यसका कानुनी प्रावधान र व्यक्तिगत जीवनमा यसले पार्ने नकारात्मक असरबारे विद्यार्थीहरूलाई जानकारी दिने।
  • कलेज र विद्यालयहरूमा नैतिक शिक्षा तथा डिजिटल शिष्टाचार (Digital Etiquette) सम्बन्धी कक्षा र कार्यशालाहरू नियमित रूपमा सञ्चालन गर्ने।
  • विद्यार्थीहरूलाई सामाजिक सञ्जालको सही प्रयोग र जिम्मेवारीपूर्ण व्यवहारबारे सिकाउने।

२. कलेज प्रशासनको सक्रिय भूमिका:

  • कलेजहरूले यस्ता कन्फेसन पेजहरूलाई अनौपचारिक रूपमा निगरानी गर्ने र त्यहाँ हुने अनुचित गतिविधिहरूलाई तत्काल रोक्न पहल गर्ने।
  • साइबर बुलिङ र व्यक्तिगत मानहानि गर्ने व्यक्तिलाई कडा आचारसंहिता बमोजिम कारबाही गर्ने नीति बनाउने र त्यसलाई कार्यान्वयन गर्ने।
  • विद्यार्थीहरूलाई गुनासो सुन्ने संयन्त्र (Grievance Redressal Mechanism) उपलब्ध गराउने, जहाँ उनीहरूले आफूमाथि भएको अन्यायबारे निर्धक्क भएर जानकारी दिन सकुन्।

३. अभिभावकहरूको दायित्व:

  • आफ्ना बालबालिकाहरूको अनलाइन गतिविधिबारे जानकारी राख्ने र उनीहरूलाई सामाजिक सञ्जालको सुरक्षित प्रयोगबारे सल्लाह दिने।
  • बालबालिकालाई अरूको सम्मान गर्न र कसैलाई पनि इन्टरनेटमा दुर्व्यवहार नगर्न सिकाउने।
  • कुनै समस्या देखिएमा तत्काल कलेज प्रशासन वा प्रहरीसँग सम्पर्क गर्ने।

४. प्रहरी प्रशासन र साइबर ब्युरोको सक्रियता:

  • साइबर अपराधसम्बन्धी उजुरीलाई गम्भीरतापूर्वक लिने र त्यसमाथि छिटोछरितो अनुसन्धान गर्ने।
  • साइबर अपराधमा संलग्न व्यक्तिलाई विद्यमान कानुनअनुसार कारबाही गर्ने।
  • यस किसिमका अपराधबारे समुदायमा जागरूकता फैलाउन नियमित अभियानहरू सञ्चालन गर्ने।

५. नागरिक समाज र सञ्चार माध्यमको भूमिका:

  • नागरिक समाजका अगुवाहरूले यस विषयमा सार्वजनिक बहस चलाउने र सचेतनाका कार्यक्रमहरू आयोजना गर्ने।
  • सञ्चार माध्यमले यस्ता घटनाहरूलाई गम्भीरताका साथ प्रस्तुत गर्ने र यसले समाजमा पार्ने नकारात्मक प्रभावबारे जानकारी दिने।

६. कानुनी कडाइ:

  • नेपालको विद्युतीय कारोबार ऐन, २०६३ र अन्य सम्बन्धित कानुनहरूमा रहेका प्रावधानहरूलाई प्रभावकारी रूपमा लागू गर्ने।
  • यदि कानुनमा कुनै कमीकमजोरी देखिएमा त्यसलाई समयसापेक्ष संशोधन गर्ने।

यी बुँदाहरूको प्रभावकारी कार्यान्वयन भएमा कलेज कन्फेसन पेजहरूमा हुने अनुचित र आपत्तिजनक गतिविधिहरूलाई नियन्त्रण गर्न सकिन्छ। यसका लागि सबै पक्षको समन्वयात्मक प्रयास अपरिहार्य छ।

निस्कर्ष: यो समस्याको समाधानका लागि विद्यार्थी, अभिभावक, कलेज प्रशासन, प्रहरी र नागरिक समाज लगायत सबै सरोकारवालाहरूले आ-आफ्नो भूमिका निभाउन जरुरी छ। विद्यार्थीहरूमा नैतिक शिक्षा र डिजिटल शिष्टाचारबारे सचेतना फैलाउनु, कलेजहरूले कडा आचारसंहिता लागू गर्नु, अभिभावकले आफ्ना बालबालिकाको अनलाइन गतिविधिमा ध्यान दिनु र प्रहरी प्रशासनले साइबर अपराधका घटनालाई गम्भीरतापूर्वक लिएर कारबाही गर्नु आजको आवश्यकता हो।

आउनुहोस, हामी सबैले मिलेर एउटा सभ्य, मर्यादित र सुरक्षित अनलाइन वातावरण निर्माण गर्नुपर्छ। पढेलेखेका नागरिकको हैसियतले हामीले आफ्नो ज्ञान र विवेकलाई समाजलाई नकारात्मक प्रभाव पार्ने काममा नभई सकारात्मक परिवर्तन ल्याउने काममा लगाउनुपर्छ। कलेज कन्फेसन पेजलाई आरोप-प्रत्यारोपको थलो नभई अनुभव र विचारको आदानप्रदान गर्ने रचनात्मक माध्यम बनाउनु आजको अपरिहार्य आवश्यकता हो।

म यसकुरामा प्रतिबद् छु तपाई नि ….?

2
0

By Dev

Leave a Reply

Your email address will not be published. Required fields are marked *