सुर्खेत — हनी ट्रयापमा पारेर आर्थिक लाभ लिएको आरोपमा एक महिला पक्राउ परेकी छन्। २०८१ साल भदौ महिनामा वीरेन्द्रनगर नगरपालिका–६ स्थित बुलबुले भ्यु होटलमा मनोज कोइराला र शिन्दु चन्दबीच सहमतिमा भेटघाट र सम्बन्ध भएको थियो।
तर, उक्त सम्बन्धलाई आधार बनाई शिन्दु चन्दले सामाजिक सञ्जालमा नाङ्गो फोटो सार्वजनिक गरिदिने धम्की दिँदै जबरजस्ती करणी मुद्दामा फसाउने डर देखाएर पीडितबाट विभिन्न मितिमा गरी कुल रु. १४ लाख २५ हजार रकम असुलेको प्रमाणसहित उजुरी परेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।
उक्त उजुरीका आधारमा खटिएको प्रहरी टोलीले हाल वीरेन्द्रनगर–९ बसोबास गर्दै आएकी दैलेख नौमुले गाउँपालिका–८ स्थायी ठेगाना भएकी करिब २१ वर्षीया शिन्दु चन्दलाई पक्राउ गरेको हो। चन्दमाथि आर्थिक लाभ (एक्सटर्सन) लिएको कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।