रङ्गेली – पत्रकार महासंघ मोरङ शाखाले विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा शनिबार विराटनगरमा आयोजना गरेको कार्यक्रममा वर्ष २०७३ देखि प्रदान गर्दै आएको षष्टिका बस्नेत सूचनाको हक राष्ट्रिय पुरस्कार यस वर्ष मोरङका पत्रकार किशोर बुढाथोकीलाई प्रदान गरिएको छ। बुढाथोकीले एक लाख रुपैयाँ राशिको उक्त पुरस्कार प्राप्त गरेका हुन्।
त्यसैगरी, २५ हजार रुपैयाँ राशिको सूचनाको हक प्रादेशिक पुरस्कार झापाका पत्रकार सुरेन्द्र भण्डारीले प्राप्त गरेका छन्। सूचनाको हकका लागि योगदान पुर्याएका यी दुवै पत्रकारलाई कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की र विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले नगदसहित सम्मान गरेका हुन्।
कार्यक्रममा ६० वर्ष पूरा गरेका क्रियाशील पत्रकारमध्येबाट छनोट गरिने अग्रज पत्रकार सम्मान यस वर्ष विराटनगरका वरिष्ठ पत्रकार यज्ञ शर्मालाई प्रदान गरिएको छ। शर्मालाई दोसल्ला ओढाएर र सम्मानपत्रसहित सम्मान गरिएको हो।
उक्त पुरस्कार विराटनगरका समाजसेवी केदार बस्नेतले आफ्नी दिवंगत श्रीमती षष्टिका बस्नेतको स्मृतिमा स्थापना गरेका हुन्। पत्रकार महासंघ मोरङ शाखाले हरेक वर्ष यस पुरस्कार तथा अग्रज पत्रकार सम्मान कार्यक्रम आयोजना गर्दै आएको छ।