देवनारायण शर्मा
विराटनगर, २३ असार
प्रहरीले लागुऔषध सेतो हेरोईन ६.५ किलोग्राम र खैरो हेरोईन ४०० ग्रामसहित चार जनालाई पक्राउ गरेको छ। पक्राउ परेकामध्ये एक जना त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका हुन् भने बाँकी तीन जनालाई मोरङको रंगेलीबाट नियन्त्रणमा लिइएको हो।
त्रिभुवन विमानस्थलमा खटिएको लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय गौचरको टोलीले मिति २०८२ असार २१ गते राती ११ बजे बैंककबाट काठमाडौँ आएका भारतिय नागरिक ६५ वर्षीय राकेश वहाबलाई पक्राउ गरेको हो। उनी थाई एअरवेजको TG 309 नम्बरको उडानमार्फत आएका थिए। प्रहरीको क्रिमिनल प्रोफाइलिङका क्रममा उनकी साथबाट ल्याइएको लगेजमा लुकाइएको अवस्थामा ६.५ किलो सेतो हेरोईन फेला परेको हो।
त्यसैगरी, बिशेष सूचनाको आधारमा लागुऔषध नियन्त्रण ब्यूरो र इलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको संयुक्त टोलीले मोरङको रंगेली नगरपालिका–८ बाट भारत बिहार अररिया, कुर्साकाटा १४ टाँवाबारीकी ४५ वर्षीया हसीना खातुन, स्थानीय ३८ वर्षीय सुशील बुढाथोकी र ५४ वर्षीय कृतानन्द ठाकुरलाई पक्राउ गरेको हो। ती व्यक्तिहरूको साथबाट ४०० ग्राम खैरो हेरोईन फेला परेको थियो।
पक्राउ गर्ने क्रममा प्रहरीलाई आत्मरक्षा गर्नका लागि एक राउण्ड हवाई फायर समेत गर्नुपरेको जानकारी दिइएको छ। पक्राउ परेका सबै व्यक्तिमाथि लागूऔषध (नियन्त्रण) ऐन २०३३ बमोजिम आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।