मोरङ – रङ्गेली नगरपालिकामा बहुवर्षीय योजनाअन्तर्गत करिब ३८ किलोमिटर सडक कालोपत्रे कार्य सुरु भएको छ। मंगलबार रङ्गेली–१ बाबियविर्ता स्कुल चौकदेखि जमुवा–दिपुसम्मको करिब ४.५ किलोमिटर सडक पिच गर्दै योजनाको औपचारिक शुभारम्भ गरिएको हो।
नगरका सबै वडामा आवश्यकता अनुसार सडक कालोपत्रे गरिनेछ। वडाले आफैं योजना छनोट गर्ने प्रणालीमा काम अघि बढाइएको छ। नगरपालिकाले बजेटमा कुनै सिमा (सिलिङ) नतोकी आवश्यकताको आधारमा योजना कार्यान्वयन गरिरहेको छ।
नगर उपमेयर भूमा पराजुलीले भनिन्, “यो योजना रङ्गेलीको समग्र विकासतर्फको एक महत्वपूर्ण कदम हो। हामी सबै वडामा पूर्वाधारको समान विकास चाहन्छौं। जनताको विश्वास र अपेक्षालाई ध्यानमा राखेर पारदर्शी र प्रभावकारी काम गर्ने हाम्रो प्रतिबद्धता छ।”
परियोजनाको कुल लागत करिब ६३ करोड रुपैयाँ रहनेछ। यसले नगरभित्रको यातायात सहज बनाउने र आर्थिक गतिविधिमा गति थप्ने अपेक्षा गरिएको छ।