नेपाली राजनीतिमा लामो समयदेखि सक्रिय हरिबोल गजुरेल नेकपा (माओवादी केन्द्र) का उपमहासचिव हुन्। उनी माओवादी आन्दोलनभित्र वैचारिक तथा सांगठनिक सुधारका पक्षमा निरन्तर आवाज उठाउँदै आएका नेताका रूपमा चिनिन्छन्। माओवादीको वर्तमान अवस्था र यसले भोगिरहेका समस्याहरूको गहिरो समीक्षासहित उनले लेखेका लेखहरू समयसापेक्ष र विचारोत्तेजक हुने गर्छन्। ‘माओवादी किन खुम्चियो?’ भन्ने शीर्षकको उनको लेख पनि माओवादी आन्दोलनको आत्मसमीक्षाका लागि एउटा महत्वपूर्ण सामग्री हो।

उनको लेखको मुख्य सार, माओवादी खुम्चिनुमा पार्टीभित्रै रहेका आन्तरिक कमजोरीहरू र मार्क्सवादी सिद्धान्तलाई सही तरिकाले आत्मसात् गर्न नसक्नु नै प्रमुख कारण हो भन्नेमा केन्द्रित छ।

हरिबोल गजुरेलको लेखको समीक्षा: ‘माओवादी किन खुम्चियो?’

नेकपा (माओवादी केन्द्र) का केन्द्रीय उपमहासचिव हरिबोल गजुरेलको मिति २०८२ साउन ६ गते ekantipur मा प्रकाशित ‘माओवादी किन खुम्चियो?’ शीर्षकको लेख माओवादी आन्दोलनको गहन विश्लेषण हो। यो लेखले माओवादी आन्दोलनको विगत, वर्तमान र भविष्यका चुनौती तथा समाधानका उपायहरूलाई गम्भीरतापूर्वक केलाएको छ।

हरिबोल गजुरेलको लेख माओवादी केन्द्रको वर्तमान अवस्था, यसको ऐतिहासिक उतारचढाव र भविष्यको दिशाबारे गरिएको एक महत्त्वपूर्ण आत्मसमीक्षा हो। उनले माओवादी आन्दोलनले प्राप्त गरेका सफलता र भोगेका असफलताका मूल कारणहरूको खोजी गर्दै पार्टीलाई पुरानो गौरवमा फर्काउने बाटो देखाउने प्रयास गरेका छन्।

लेखका मुख्य विश्लेषणहरू

गजुरेलले माओवादी खुम्चिनुका कारणहरूलाई मुख्यतया दुई भागमा विभाजन गरि दिएकाछन्:

  • विचार, नीति र विधिको विचलन: माओवादी आन्दोलनको सफलताको मूल आधार सही विचार, नीति र विधि थियो। जनयुद्धको समयमा पार्टीले नेपालको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थितिको गहिरो विश्लेषण गरेर एउटा स्पष्ट कार्यदिशा तय गर्‍यो। यसैको फलस्वरूप माओवादीले जनयुद्धमार्फत असाधारण सफलता हासिल गर्‍यो र नेपाली समाजको राजनीतिलाई नयाँ दिशामा मोड्न सक्यो। तर, जब माओवादी शान्ति प्रक्रियामा आयो, पार्टीको मूल सिद्धान्त र विचारमा विचलन आउन थाल्यो। विचार, नीति र विधिको बहस भन्दा व्यक्तिगत स्वार्थ, पद र पैसाको राजनीति हावी हुँदै गयो। यसले पार्टीभित्र अवसरवादीहरूको बिगबिगी बढायो। जनयुद्धमा सँगसँगै लडेका र ठूलो त्याग गरेका सहयोद्धाहरूलाई पन्छाएर शान्ति प्रक्रियापछि विभिन्न पार्टीबाट आएका लोभीपापी र स्वार्थी व्यक्तिहरूलाई नेतृत्वमा पुर्‍याइयो। यस्ता व्यक्तिहरूको जमातले पार्टीको वैचारिक आधारलाई कमजोर बनाउँदै लग्यो।

विचारमा विचलन आउँदा पार्टीको आधारभूत सिद्धान्त र लक्ष्यसमेत ओझेलमा पर्यो। माओले भनेजस्तै, जब विचार सही हुन्छ, तब अप्राप्त वस्तु पनि प्राप्त हुन्छ, तर विचार गलत हुँदा प्राप्त भएको वस्तु पनि गुम्छ। माओवादीको यही वैचारिक विचलनका कारण पहिलो संविधानसभामा पाएको अपार जनसमर्थनलाई जोगाउन सकेन। त्यसको परिणामस्वरुप दोस्रो संविधानसभामा लज्जास्पद हार व्यहोर्नुपर्यो र पार्टी निरन्तर खुम्चिँदै गयो। माओवादीको यो अवस्थाले विचार, नीति र विधिको महत्वलाई पुनः पुष्टि गरेको छ।

  • संगठन र नेतृत्व विकासमा कमजोरी: माओवादी खुम्चिनुका मुख्य कारणहरूमध्ये संगठनको कमजोर संरचना र नेतृत्व विकासको त्रुटिपूर्ण अभ्यास पनि हो। जसलाई गजुरेलले निम्न अनुसार ब्याक्या गरेको महसुस हुन्छ् l
  • विचार र वर्गगत आधारको विचलन: गजुरेलका अनुसार, माओवादीले शान्ति प्रक्रियापछि आफ्नो वैचारिक केन्द्रबिन्दु गुमायो। जनयुद्धकालमा ग्रामीण क्षेत्र र किसानलाई केन्द्रमा राखेको माओवादीले संविधानसभाबाट गणतन्त्र घोषणा भएपछि पनि आफ्नो कार्यदिशा परिवर्तन गर्न सकेन। समाजवादको आधारभूमि सहर र मजदुर वर्गलाई प्राथमिकतामा राख्नुपर्नेमा पार्टीले पुरानै नीतिलाई निरन्तरता दियो। यसले गर्दा काठमाडौँ र झापाजस्ता सहरी क्षेत्रमा पाएको अपार जनसमर्थन गुमाउँदै गयो। २०६४ को निर्वाचनमा काठमाडौँमा अध्यक्ष प्रचण्डलाई जिताउने जनताले २०७९ को निर्वाचनमा एक सिट पनि दिएनन्। यो विचलन नै पार्टी खुम्चिनुको प्रमुख कारण हो भन्ने उनको तर्क छ।
  • संगठन र सदस्यतासम्बन्धी कमजोरी: उनले माओवादीको सदस्यता वितरणलाई रुसी मेन्सेभिकको खुकुलो नीतिको संज्ञा दिएका छन्। पार्टीमा संगठित हुने, जिम्मेवारी पूरा गर्ने र लेबी तिर्ने जस्ता कम्युनिस्ट पार्टीका आधारभूत सिद्धान्तहरूको पालना नगरी नेताहरूले नै पैसा तिरेर सदस्य बनाउने विकृतिले पार्टीको गरिमा घटायो। यसले गर्दा पार्टीमा अवसरवादीहरूको बाहुल्य बढ्यो र पार्टीको जग कमजोर बन्यो। उनले गत विधान अधिवेशनले ल्याएको साधारण सदस्य र संगठित सदस्यको अलगअलग व्यवस्थालाई यस समस्याको समाधानका रूपमा प्रस्तुत गरेका छन्।
  • उत्तराधिकारीको अभाव: माओवादीमा नेतृत्व विकासको गलत बुझाइ र अभ्यासले उत्तराधिकारीको खडेरी परेको गजुरेलको विश्लेषण छ। नेतृत्वको भक्तिभाव वा अन्धविरोध गर्ने प्रवृत्तिले सच्चा उत्तराधिकारीको विकास हुन सकेन। उनले मार्क्स-एंगेल्स र माओको उदाहरण दिँदै सच्चा उत्तराधिकारी संघर्ष र प्रतिवादबाट मात्र तयार हुने तर्क गरेका छन्। प्रचण्डपछिको नेतृत्व कसले लिन्छ भन्ने स्पष्ट खाका नहुनुले पार्टीको भविष्यमाथि प्रश्नचिन्ह लागेको उनको भनाइ छ।
  • अन्तरसंघर्ष र वर्ग संघर्षको घुलमेल: शान्ति प्रक्रियापछि माओवादीभित्रको अन्तरसंघर्ष र वर्ग संघर्ष छुट्याउन नसकिने गरी घोलियो। जनयुद्धकालमा परोक्ष रूपमा जोडिएका यी दुई पक्ष शान्तिपछि एकै ठाउँमा मिसिँदा समस्या चुलियो। उनले धोबीघाट समीकरणको सन्दर्भ उल्लेख गर्दै यो घालमेलले पार्टीलाई टुटफुट र विभाजनतर्फ लगेको बताएका छन्। उनले पार्टीभित्रको आन्तरिक संघर्षलाई समाधान गर्न नसक्दा बाबुराम भट्टराईको बहिर्गमनपछिका घटनाहरूको पुनरावृत्ति हुन सक्ने खतरा औँल्याएका छन्।

समाजवादी क्रान्तिको नयाँ कार्यदिशा

यी सबै कमीकमजोरीहरूलाई आत्मसात् गर्दै माओवादी केन्द्र अहिले गम्भीर आत्मसमीक्षामा लागेको छ। गजुरेलको लेखको निचोड के हो भने, माओवादी आन्दोलन अहिले पनि आफ्नो वैचारिक र सांगठनिक जगलाई बलियो बनाउन सक्यो भने फेरि उठ्न सक्छ। उनले यसका लागि केही समाधानका उपायहरू पनि सुझाएका छन्:

  • समाजवादी क्रान्तिको स्पष्ट कार्यदिशा: पार्टीले समाजवादी क्रान्तिको कार्यदिशालाई मूर्त रूप दिँदै सहरी क्षेत्र, मजदुर र मध्यम वर्गलाई आफ्नो केन्द्रबिन्दुमा राख्नुपर्छ। २०८१ माघमा सम्पन्न केन्द्रीय समितिको बैठकले उपत्यका, मधेस र पूर्वी क्षेत्रलाई समाजवादी क्रान्तिको मुख्य केन्द्र मानेको निर्णयलाई उनले सही दिशाको सुरुवात मानेका छन्।
  • संगठनात्मक शुद्धीकरण: विधान अधिवेशनले गरेको निर्णयअनुसार पार्टी सदस्यतालाई व्यवस्थित र मर्यादित बनाउनुपर्छ। ‘बोल्सेभिक स्पिरिट’ लाई आत्मसात् गर्दै टोल, इकाइ र सेललाई उत्पादन अभियानसँग जोडेर मजबुत संगठनात्मक जग निर्माण गर्नुपर्छ।
  • नेतृत्वको घेराबन्दी तोड्ने: नेता-कार्यकर्ताले सामूहिक आत्मालोचना र संकल्पसहित पार्टीलाई स्वार्थ समूहको घेराबाट बाहिर निकाल्नुपर्छ। उनले नेतृत्वलाई चाकरी-चाप्लुसी गर्नेहरूको घेराबाट बाहिर निकाल्न कठोर कदम चाल्नुपर्ने आवश्यकतामा जोड दिएका छन्।
  • सच्चा उत्तराधिकारीको विकास: नेतृत्वको गलत सोचाइ र अभ्यासलाई सच्याउँदै वैचारिक संघर्षबाट सच्चा उत्तराधिकारीको जमात तयार गर्नुपर्छ। यसले कम्युनिस्ट आन्दोलनलाई निरन्तरता दिनेछ।
  • भ्रष्टाचार र सुशासनको अभियान: अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारको नेतृत्व गर्दा भ्रष्टाचारविरुद्ध, सुशासन र सामाजिक न्यायको पक्षमा ठोस काम गरेपछि पार्टीको छविमा सुधारको संकेत देखिएको छ। यसले माओवादीलाई पुरानो कित्ताबाट बाहिर निस्कन मद्दत गरेको छ।

समग्रमा, हरिवोल गजुरेलको यो लेख माओवादी केन्द्रका लागि एक गम्भीर आत्मसमीक्षाको दस्तावेज हो। यसले पार्टीलाई खुम्च्याउने गम्भीर वैचारिक, सांगठनिक र नेतृत्वसम्बन्धी कमजोरीहरूमाथि प्रहार गर्दै भविष्यको मार्गचित्र देखाउने प्रयास गरेको छ। यस लेखले ‘माओवादी, कांग्रेस र एमाले उस्तै हुन्’ भन्ने भाष्यलाई खारेज गर्दै माओवादीको रूपान्तरण र पुनःजागरणको आवश्यकतालाई जोडदार रूपमा उठाएको छ।

निष्कर्ष: फुट होइन, जुटको आवश्यकता

माओवादीले अहिले लिएका यी कदमहरू बालुवामा पानी हालेको जस्तो नभई मरुभूमिमा पानीको थोपा मिले जस्तो आशाजनक छन्। तर यी प्रयासहरूलाई सार्थक बनाउन नेतृत्वलाई चाकरी र चाप्लुसी गर्नेहरूको घेराबाट बाहिर निकाल्नु जरुरी छ। पार्टीलाई स्वार्थ समूहको दबाबबाट मुक्त गर्न कठोर कदम चाल्नैपर्छ।

जनयुद्धको बलिदान, सपना र मर्म कुनै एक समूहको निजी सम्पत्ति होइन। यो त लाखौं नेपाली जनताको साझा सम्पत्ति हो। आरोप–प्रत्यारोपमा अल्झिनुभन्दा आत्मालोचना र पारदर्शी समीक्षा गरी सबै माओवादी शक्तिहरू एकजुट हुनुपर्ने अहिलेको आवश्यकता हो। माक्र्सको वर्ग संघर्ष, ऐतिहासिक भौतिकवाद र अतिरिक्त मूल्यको सिद्धान्तको गहिरो अध्ययन गर्दै नेपाली समाजको विशिष्टताअनुसार समाजवादी क्रान्तिको कार्यभार पूरा गर्न सबै क्रान्तिकारी शक्तिहरूले एकताको बाटो रोज्नुपर्छ।

यो लेखले माओवादीलाई असफल हुनबाट बचाउन र यसलाई रूपान्तरण गर्न सकिने आशावादी बाटो देखाएको छ। सामूहिक आत्मालोचना र सामूहिक संकल्पका साथ अगाडि बढेमा मात्र माओवादीले आफ्नो गुमेको जनविश्वास फिर्ता लिन र समाजवादी क्रान्तिको कार्यभार पूरा गर्न सक्छ। गजुरेलको यो समीक्षाले माओवादी आन्दोलनलाई सैद्धान्तिक रूपमा सबल बनाउन र यसलाई नयाँ उचाइमा पुर्याउनका लागि एउटा महत्वपूर्ण मार्गनिर्देशन दिन्छ।

1
0

By Dev

Leave a Reply

Your email address will not be published. Required fields are marked *