✍️ देवनारायण शर्मा, २ असार, विराटनगर

पाल्पाको पूर्वखोला गाउँपालिका–५ मा आज साँझ एक बोलेरो जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने एकजना गम्भीर घाइते भएका छन्।

आर्यभञ्ज्याङबाट रामपुरतर्फ अण्डा बोकेर जाँदै गरेको लु १ च ६७५६ नम्बरको बोलेरो वीरकोटस्थित आर्यभञ्ज्याङ–रामपुर कच्ची सडकखण्डमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ।

दुर्घटनामा परी सवारी धनी बगनासकाली गाउँपालिका–१ गाप्टुङ घर भई हाल बुटवल उपमहानगरपालिका–११ मझुवा बस्दै आएका ४६ वर्षीय विनोद ढुंगाना र अर्का एक अन्दाजी ४५ वर्षीय पुरुषको ज्यान गएको हो।
ढुंगानाको लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचारका क्रममा मृत्यु भएको हो भने अर्का व्यक्तिको मृत्यु मिसन अस्पताल पाल्पामा भएको हो।

जिपका चालक बुटवल उपमहानगरपालिका–११ का ३० वर्षीय राजु खड्का गम्भीर घाइते छन्। उनको लुम्बिनी मेडिकल कलेजमा उपचार भइरहेको छ।

प्रहरीका अनुसार बोलेरो जिप सडकबाट करिब ३०० मिटर तल खसेको थियो। दुर्घटनाको कारण खुल्न नसकेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

📌 सम्बन्धित थप अपडेटको लागि हाम्रो पेज फलो गर्न नबिर्सनुहोस्।

0
0

By Dev

Leave a Reply

Your email address will not be published. Required fields are marked *