✍️ चन्द्रप्रसाद अधिकारी
(लेखक बरिष्ठ प्राध्यापक, शिक्षाविद्, विश्लेषक तथा अनुसन्धानकर्ता हुन्)

आज देशको अवस्था देखेर मन रोएको छ। जहाँ विकासका सम्भावनाहरू फस्टाउनुपर्ने हो, त्यहाँ विनाशको राजनीति हावी भइरहेको छ। विडम्बना नै भन्नुपर्छ, हातमा ढुङ्गा बोकेर, खोक्रा नारा लगाएर र नेताको चाकडी गरेर सत्तामा पुगेकाहरूले देश चलाइरहेका छन्। उनीहरूसँग न कुनै दृष्टिकोण छ, न कुनै अध्ययन छ, न कुनै अनुभव छ, न कुनै प्रयोग छ, नत कुनै अभ्यासनै छ। छ त केवल एक मात्रै झुटको खेती गर्ने कला र फोस्रो मुर्दावाद–जिन्दावादको नारा। यस्तो नेतृत्वबाट देशको विकास कसरी सम्भव होला?

देश चलाउनु र चलाइदिनुमा आकाश-जमिनको फरक

देश ‘चलाइदिनु’ र ‘चलाउनु’ फरक कुरा हुन्। देश चलाइदिन हातमा ढुङ्गा, मुखमा खोक्रा नारा, झुटको खेती र नेताको चाकडी पर्याप्त होला, तर देश चलाउनका लागि गहिरो ज्ञान, दूरदृष्टि, योग्यता, क्षमता, अध्ययन, लगनशीलता, इमान्दारिता कामको अनुभव चाहिन्छ। एउटा देश चलाउनु केटाकेटीको खेल होइन। हाम्रो देशको वर्तमान नेतृत्वलाई हेर्दा लाग्छ, उनीहरूबाट यो सम्भव नै छैन, किनकि उनीहरूमा न अध्ययन छ, न अनुभव छ, न अभ्यास नै छ, न प्रयोग गर्ने दृष्टिकोण नै छ। छ त केवल हातमा ढुङ्गा, मुखमा खोक्रा नारा, झुटको खेती र नेताको चाकडी l

उनीहरूले देशलाई एउटा डुङ्गा ठानेका छन्, जसलाई जतिबेला जहाँ पुर्‍याए पनि हुन्छ। “बिना भिजनको नेतृत्व, जहाज बिनाको कप्तान जस्तै हो।” – एक अज्ञात विद्वानले भनेझैं, भिजन नभएको नेतृत्वले देशलाई कहाँ पुर्‍याउला?

योग्यताहीन नेतृत्व र देशको भविष्य

हामी कल्पना गर्न सक्छौं, हाम्रो देशको प्रधानमन्त्री, अर्थमन्त्री, शिक्षामन्त्री, अन्य मंत्री जस्ता महत्वपूर्ण पदहरूमा आसीन व्यक्तिहरू मध्ये कतिपयको योग्यता एस. ई. ई. तहभन्दा पनि कम छ। उनीहरूसँग न कुनै उद्योगधन्दा कसरी चलाउने भन्ने ज्ञान छ, न आर्थिक नीतिको, न शिक्षाको महत्वकै ज्ञान। जसले आफ्नो जीवनमा कहिल्यै प्रयोगशाला देखेको छैन, जसले कहिल्यै अध्ययनको गहिराइ बुझेको छैन, उसले कसरी देशलाई विज्ञान र प्रविधिको युगमा अगाडि बढाउन सक्छ? डा. सर्वपल्ली राधाकृष्णनले भनेका छन्, ज्ञान नै शक्ति हो, र देशको भाग्य शिक्षाको प्रयोगशालामा लेखिन्छ।” तर, हाम्रो देशको प्रयोगशाला त रित्तो छ किनकी नेतृत्व मा त्यो गुणको कमि छ l

नेतृत्व भनेको अनुसन्धान र सही प्रयोग हो

नेतृत्व भनेको कुर्सीमा बसेर आदेश दिनु मात्र होइन, यो त एउटा अनुसन्धान र सही समयमा ज्ञानको सही प्रयोग हो । एउटा डाक्टर, शिक्षक, इन्जिनियर, ड्राइभर आदि हुनका लागि न्यूनतम योग्यता तोकिएको हुन्छ। तर तिनै डाक्टर, शिक्षक, इन्जिनियर, ड्राइभर आदिका लागि नीति निर्माण गर्न जाने वडाध्यक्ष, उपमेयर, मेयर, सांसद, मन्त्री, प्रधानमन्त्री आदिको योग्यता हातमा ढुङ्गा, मुखमा खोक्रा नारा र झुटको खेती नै हो त?

एउटा डाक्टरले बिरामीको उपचार गर्नुअघि रोगको निदान गर्छ, एउटा इन्जिनियरले पुल बनाउनुअघि नक्सा बनाउँछ र नापजाँच गर्छ अनि मात्र काम सुरु गर्छ। एउटा किसानले खेतमा धान रोप्नुअघि बीउ राख्छ, खेत जोत्छ, सम्याउँछ र अनि मात्र धान रोप्छ। तर यहाँ त कुनै योजना, कुनै अनुभव र कुनै अध्ययन बिना नै देश चलाउने अधिकार पाएका छन्। परिणामस्वरूप, देशमा न उद्योगधन्दा फस्टाएको छ, न रोजगारी सिर्जना भएको छ, न त गरिबीको अन्त्य नै भएको छ। अन्धाधुन्द कर बढेको छ, गरिबी हटाउने नीति भनिएको छ तर गरिबी झन्-झन् बढेको देखिन्छ। भएका उद्योग बन्द छन्, मानिस बेरोजगार छन्। सबै युवा १२ कक्षा सकेर विदेशिन हतारिएका छन्। गाउँमा मानिस मर्दा लास उठाउन खेताला खोज्नुपर्ने अवस्था देखा परिसक्यो, बेरोजगारीले सीमा नाघिसक्यो। योहान भोन गेटेले भनेका छन्, जान्नु मात्र पर्याप्त छैन, त्यसलाई प्रयोग गर्नुपर्छ। इच्छा शक्ति मात्र पर्याप्त छैन, त्यसलाई काममा परिणत गर्नुपर्छ।”

जनताको मौनता: कमजोरीलाई बलियो बनाउने माध्यम

जब देशको नेतृत्व गर्ने व्यक्तिहरूलाई आफ्नै खुट्टामा उभिएको अनुभव छैन, तब उनीहरूले कसरी युवालाई रोजगारी दिने? जब उनीहरूलाई अर्थशास्त्रको ‘क’, ‘ख’ थाहा छैन, तब कसरी देशको आर्थिक अवस्था सुधार्ने? जब उनीहरूले शिक्षाको महत्व बुझेका छैनन्, तब कसरी गुणस्तरीय शिक्षाको प्रत्याभूति दिने? हिजो शिक्षक महासंघसँग असार १५ गतेभित्र शिक्षा नीति ल्याउने प्रण गरेका शिक्षामन्त्री आज के गर्दैछन्? अब प्रश्न उठेको छ, के यही २०८२ कै असार १५ गते शिक्षा नीति आउँछ त?

यस्तो नेतृत्व शैलीले देशलाई विकासको बाटोमा होइन, विनाशको गतिमा धकेलिरहेको छ। अब जनता मौन बस्ने बेला छैन। हाम्रो मौनताले नै उनीहरूको कमजोरीलाई बलियो बनाइरहेको छ। त्यसैले, २०८४ मा कतै मत नै हाम्रालाई भन्दा नि राम्रालाई दिएर आफ्नो मत बदल्ने पो हो कि? अब्राहम लिङ्कनले भनेझैं,अन्धकारमा बसेर उज्यालोको आशा गर्नुभन्दा आफैं एउटा सानो बत्ती बाल्नु उत्तम हुन्छ।”

त्यसैले, अब हामीले प्रश्न गर्नुपर्छ—हामीलाई भाषण गर्ने नेता चाहिएको होइन, भिजन र क्षमता भएको नेतृत्व चाहिएको हो। हामीलाई ढुङ्गा चलाउने होइन, देशलाई सही दिशामा लैजाने सक्षम चालक चाहिएको हो। देश विकासका लागि हामी सबैले योग्यता, अनुभव र इमान्दारिता भएको नेतृत्वलाई मात्र स्वीकार गर्नुपर्छ। नत्र हाम्रो देशको भविष्य अन्धकारमा हराउनेछ।

 

2
0

By Dev

Leave a Reply

Your email address will not be published. Required fields are marked *