ढाका — बंगलादेशको राजधानी ढाकास्थित दियाबारी क्षेत्रमा सोमबार दुर्घटनाग्रस्त भएको वायुसेनाको एफ-७बीजीआई प्रशिक्षण विमान दुर्घटनामा मृत्यु हुनेको संख्या ३१ पुगेको छ। बंगलादेशको अन्तर सेवा जनसम्पर्क निर्देशनालय (ISPR) ले मंगलबार दिउँसो प्रेस विज्ञप्ति जारी गर्दै उक्त जानकारी दिएको हो।
ISPR का अनुसार विमान दुर्घटनामा घाइते भएका व्यक्तिहरूको विभिन्न अस्पतालहरूमा उपचार भइरहेको थियो, तर मृत्यु हुनेको संख्या मंगलबारसम्म ३१ पुगेको पुष्टि गरिएको छ। मृतकमध्ये २५ जना बालबालिका, एकजना पाइलट तथा एकजना शिक्षक रहेको बंगलादेशका प्रमुख सल्लाहकारका विशेष सहायक डा. सयेदुर रहमानले पत्रकार सम्मेलनमार्फत जानकारी दिएका थिए।
दुर्घटनाको कारणबारे विस्तृत अनुसन्धान जारी रहेको र प्रारम्भिक रिपोर्टअनुसार विमान उडानको केही समयमै प्राविधिक गडबडी देखिएको उल्लेख गरिएको छ। यो विमान ढाकाको माइलस्टोन स्कूल एण्ड कलेजको क्याम्पसमा खसेर दुर्घटनाग्रस्त भएको थियो।
घटनापछि बंगलादेशको अन्तरिम सरकारले एकदिने राष्ट्रिय शोक घोषणा गर्दै मृतकप्रति श्रद्धाञ्जली व्यक्त गरेको छ। दुर्घटनाले देशभर शोकको वातावरण सृजना भएको छ।