काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले गम्भीर तथा दीर्घकालीन रोगबाट पीडित नेपाली नागरिकलाई सरकारले उपचार खर्च उपलब्ध गराउने निर्णय गरेको जानकारी दिएका छन्।
उनका अनुसार, मिर्गौलाको उपचार गराइरहेका बिरामीले अधिकतम ८ लाख ५० हजार रुपैयाँसम्म उपचार सहायता पाउनेछन्। यो सहायता सरकारको विशेष स्वास्थ्य कार्यक्रम अन्तर्गत प्रदान गरिनेछ।
यसैगरी, क्यान्सर, मुटु रोग, मस्तिष्कको गम्भीर चोट (हेड इन्जुरी), मेरुदण्डको चोट (स्पाइनल इन्जुरी), सिकलसेल एनिमिया, पार्किन्सोनिज्म र अल्जाइमर रोगका बिरामीहरूले एक लाख रुपैयाँसम्म उपचार सहयोग प्राप्त गर्नेछन्।
प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमार्फत् जनाउँदै भने, “यसले असाध्य रोग लागेका बिरामीहरूको उपचारमा राहत पुग्ने सरकारको विश्वास छ।”
स्वास्थ्य मन्त्रालयको सहकार्यमा लागू गरिने यो कार्यक्रमले आर्थिक अभावका कारण उपचारबाट वञ्चित हुने अवस्थालाई न्यून गर्ने अपेक्षा गरिएको छ।