कुलमानले अन्त्य गरे, ओली सरकारले सुरु गर्‍यो चितवनलाई पोलिरहेको छ!

राजन अधिकारीचितवन

श्रावण महिनाको घाम यसपालि अझ क्रूर बन्यो। तर त्यो भन्दा क्रूर सावित भयो – केपी शर्मा ओली नेतृत्वको सरकारको बेवास्ता। उज्यालो नेपाल बनाउने सपना देखाएका कुलमान घिसिङले लोडसेडिङ अन्त्य गरेर देशभरि आशाको उज्यालो छरेका थिए। तर, त्यो उज्यालो फेरि अन्धकारमा बदलिएको छ।

यसको दोष सिधै ओली सरकारलाई जान्छ – जसले कुलमान घिसिङ जस्तो सक्षम नेतृत्वलाई हटाएर विद्युत प्राधिकरणको बागडोर हितेन्द्रदेव शाक्य जस्तो अक्षम व्यक्तिलाई जिम्मा दियो।आज चितवनबाट सुरु भएको लोडसेडिङको यो ‘औपचारिक घोषणा’ त केवल एउटा सुरुवात हो। शाक्यको आगमन सँगै देशभर अघोषित लोडसेडिङ अघोषित रुपमा भएपनि चलिरहेको थियो।

यो कुनै उपहार होइन, ओली सरकारले दिएको अन्धकारको अभिशाप हो।

गर्मीको चुलीमा, जब स्कुलका विद्यार्थी परीक्षा दिइरहेका छन्, बृद्धबृद्धा चिसो पानीको आशामा पंखा नघुम्ने कोठामा पसिनाले निथ्रुक्क भइरहेका छन् — त्यसै बेला चितवनका जनताले पाए सरकारको ‘घोषित विशेष उपहार’ — लोडसेडिङ तालिका।

लोडसेडिङको पुनरागमन – “जनताको पीडा बुझ्ने कोही छैन”

प्राधिकरणको चनौली वितरण केन्द्रले प्रकाशित गरेको सूचना अनुसार चितवनका विभिन्न क्षेत्रमा दिनको ६ घण्टा — बिहान ३ घण्टा र बेलुका ३ घण्टा — बत्ती काटिनेछ। सीधा जनताको घर, खेत, अस्पताल, विद्यालय, उद्योग सबैमा ठाडो प्रहार गरिएको छ।

जब रोपाइँको पानी नपाएर किसान हाहाकार गरिरहेका छन्, अस्पतालमा बिरामी सास फेर्न संघर्ष गरिरहेका छन्, तब सरकार चुपचाप छ। के सरकार निद्रामा छ? कि उसलाई जनताको चित्कार सुन्ने फुर्सद छैन?

लोडसेडिङ तालिका – जनजीवनसँगको क्रूर मजाक

फिडर क्षेत्रबिहानबेलुका
नारायणी – माडी६:०० – ९:००३:०० – ६:००
मेधौली – विजयनगर – शुक्रनगर९:०० – १२:००६:०० – ९:००
जगतापुर – रामपुर१२:०० – ३:००९:०० – १२:००

प्राधिकरणको भनाइ छ — “सिँचाइको लोड बढेकाले लोडसेडिङ गर्नुपरेको हो।” तर प्रश्न उठ्छ — यही प्रणालीमा कुलमानले लोडसेडिङ अन्त्य गर्न सके, अहिले किन सकिएन? के प्रविधि फेरियो? कि नीयत फेरियो?

यो लोडसेडिङ प्रविधिको असफलता होइन — नेतृत्वको पतन हो। यो विद्युत अभाव होइन — सोच र दृष्टिकोणको अभाव हो।

सरकारलाई अब जवाफदेही बनाउनु पर्ने बेला आएको छ

केपी ओलीको सरकारको “सुखी नेपाली, समृद्ध नेपाल”को नारा अब खोक्रो सावित हुँदैछ। जनार्दन शर्मा उर्जामन्त्री हुँदा र प्रचण्ड नेतृत्वको सरकार रहँदा कुलमान घिसिङले जुन ‘उज्यालो नेपाल’ बनाएका थिए, अहिले त्यो फेरि झुटो सपना जस्तो लाग्न थालेको छ।

कुलमानको नेतृत्वमा जुन प्राधिकरणले नेपालीलाई गौरव दिलायो, अहिले त्यो प्राधिकरण फेरि अन्धकारको गोदमा पुगेको छ।

यो केवल चितवनको कथा होइन, सम्पूर्ण देशमा अँध्यारो फैलिने संकेत हो।

अब जनता चुप लाग्नेवाला छैनन्

नेपालीले धेरै सहन्छन् — घाम, बाढी, रोग, महँगी। तर सरकारले बारम्बार जनतालाई धोका दिन थालेपछि त्यो सहने सीमा पनि सकिन्छ।

यो सस्तो राजनीति होइन — जनताको जीवनको कुरा हो। यदि लोडसेडिङ यस्तै फैलिँदै गयो भने, यसले ओली सरकारको पतनको ढोका खोल्नेछ।”सबैलाई उज्यालो” भन्ने नाराको पछाडि अँध्यारो लुकेको रहेछ। अब समय आएको छ — जनताले प्रश्न उठाउने, सरकारलाई जवाफ माग्ने।के यही हो केपी ओलीको ‘मिसन २०८४’?कि फेरि अर्को झुटो सपना?

1
0

By Dev

Leave a Reply

Your email address will not be published. Required fields are marked *