दुर्गा नारायण खतिवडा (विवेक)
कानेपोखरी, ३१ बैशाख, बुधवार

मोरङको कानेपोखरी गाउँपालिकाले कृषकहरूको उत्पादनशीलता वृद्धि गर्न ५० प्रतिशत अनुदानमा ४ सय ५८ थान कृषि सामग्री वितरण गरेको छ। सामग्री वितरण मंगलबार कानेपोखरी–६ स्थित रमाइलोमा रहेको पुरानो गाउँपालिकाको भवनमा आयोजित कार्यक्रममा गरिएको हो।

कृषकहरूले आवश्यकताअनुसार माग गरेका सामग्रीमध्ये चार्जवाला टु इन वान स्प्रे ट्याङ्की १२५ थान, मकै छोडाउने मेसिन १०५ थान, मकै रोप्ने मेसिन ५० थान, कुटानी पिसानी कम्बाइन्ड मिल १४ थान, १ एचपिको पानी तान्ने मोटर १० थान, २ एचपिको मोटर १२४ थान र सबमर्सिबल पम्प ३० थान वितरण गरिएको हो।

कुल ४६० थान सामग्री खरिद गरिएको भए पनि २ थान वितरणबारे निर्णय गर्न बाँकी रहेको कृषि शाखा प्रमुख रोजिना भट्टराईले जानकारी दिइन्। उनका अनुसार उपकरण बिडिएस नेपाल कम्पनीसँग करिब ५५ लाख ९५ हजार ६१८ रुपैयाँमा खरिद गरिएको हो। सो मध्ये ५० प्रतिशत रकम पालिकाले व्यहोरेको हो भने बाँकी ५० प्रतिशत किसानले बेहोरेका छन्।

वडागत विवरण अनुसार वडा नं. १ का किसानले १२५ थान, वडा २ मा ९६ थान, वडा ३ मा ७७ थान, वडा ४ मा २६ थान, वडा ५ मा ९२ थान, वडा ६ मा ३७ थान र वडा ७ मा १३ थान सामग्री पाएका छन्।

आर्थिक विकास समितिका संयोजक सुशिल बुढाथोकीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि गाउँपालिका अध्यक्ष राजमती इङ्नाम रहनुभएको थियो। विशिष्ट अतिथि उपाध्यक्ष भोला प्रसाद अधिकारी तथा वडाध्यक्षहरू रत्न बहादुर कार्की, गोपाल कार्की र चरण गुरुङ अतिथिका रूपमा सहभागी थिए।

कार्यक्रममा अध्यक्ष इङ्नामले मन्तव्य राख्दै पालिकाले कृषिमा यान्त्रिकीकरण बढाउन दीर्घकालीन योजना अनुरूप किसानलाई निरन्तर सहयोग गर्दै आएको बताइन्। उनले पूर्व अध्यक्ष ताराबहादुर काफ्लेको पालादेखि नै अनुदानमा सामग्री वितरण कार्यक्रम सञ्चालन हुँदै आएको स्मरण गराउँदै अघिल्लो पटक सामग्री बेचबिखन भएको गुनासो उठेकाले यसपटक किसानहरूले वितरण सामग्रीको सही सदुपयोग गर्नुपर्नेमा जोड दिइन्।

उनले भनिन्, “यस पटक वितरण गरिएका सामग्रीले किसानको जीवनस्तर उकास्न मद्दत गर्छ भन्ने अपेक्षा लिएको छु। कृपया यसको दुरुपयोग नगर्नुहोस्।”

0
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *