मो.परवेज अंसारी
वैशाख ११, बिहीवार
विराटनगर – इटहरी वडा १९ लाई बालमैत्री वडा घोषणा गर्ने भएको छ। वडा १९ को आयोजना र एस. संकल्प नेपाल प्रा. लि.को सहकार्यमा वडाभरि बाल अधिकार प्रवर्द्धन सम्बन्धी कार्यक्रमहरू सञ्चालन भइरहेका छन्।
वडा बाल क्लबका अध्यक्ष शुसान्त भट्टराईका अनुसार, यही जेष्ठको मसान्तभित्र वडालाई औपचारिक रूपमा बालमैत्री घोषणा गरिनेछ। उनका अनुसार वडामा बालमैत्री वातावरण निर्माण गर्न विद्यालयदेखि समुदायस्तरका बालबालिकालाई लक्षित गर्दै विभिन्न सचेतनामूलक तथा सिर्जनात्मक कार्यक्रमहरू सञ्चालन भइरहेका छन्।
वडा अध्यक्ष नारायण चौधरीले वडाबाट बालमैत्री अभियानका लागि आवश्यक बजेट विनियोजन गरिएको जानकारी दिएका छन्। “नीति र व्यवहार दुबै पक्षलाई समेट्दै वडालाई बालमैत्री बनाउने हाम्रो साझा प्रयास हो,” उनले बताए।
बाल अधिकारको प्रवर्द्धनका लागि विद्यालयमा शिक्षक तालिम, बाल यौन दुव्र्यवहार, बाल श्रम र बाल विवाहविरुद्ध सचेतना, टोल-टोलमा बाल क्लब सशक्तीकरण, तथा सिर्जनात्मक प्रतियोगिता जस्ता गतिविधि सञ्चालन भइरहेको वडा बाल क्लबले जनाएको छ।
वडामा गठन भइसकेको बाल अधिकार समिति मार्फत स्थानीय तहमा बालबालिकाका सवालहरूमा निर्णय गर्न सजिलो भएको क्लब अध्यक्ष भट्टराईले बताए। “अब बालबालिकाले आफ्ना हक अधिकारको वकालत गर्न सक्ने ठाउँ पाएका छन्,” उनले थपे।
एस. संकल्प नेपाल प्रा. लि.का प्रतिनिधिहरूले स्थानीय अभिभावक, शिक्षक, सामाजिक संस्था र बालबालिकाको सक्रिय सहभागिता बालमैत्री अभियानको बलियो पक्ष बनेको बताएका छन्। उनीहरूका अनुसार यस्ता कार्यक्रमहरूले समुदायमै बालअधिकारबारे नयाँ चेतना ल्याएको छ।
वडाभित्र बालमैत्री पूर्वाधार निर्माण, विद्यालय बाहिर रहेका बालबालिकाको पहिचान र पुनःस्कुलिङ अभियान सञ्चालन गर्नेसमेत तयारी भइरहेको छ। बालमैत्री घोषणा भएसँगै इटहरी वडा नं. १९ बाल अधिकार प्रवर्द्धनमा उदाहरणीय वडाको रूपमा स्थापित हुने अपेक्षा गरिएको छ।