हुलाकी राजमार्गअन्तर्गत मोरङको रतुवा–केशलिया (६ किमि) सडक खण्ड निर्माणको ठेक्का रद्द गरिएको छ। सडक विभाग मातहतको हुलाकी राजमार्ग निर्देशनालयअन्तर्गत योजना कार्यालय इटहरीले मंगलबार श्रेष्ठ कन्स्ट्रक्सन कम्पनी प्रा.लि. (हेटौंडा) सँगको ठेक्का सम्झौता अन्त्य गरेको सार्वजनिक सूचना जारी गरेको हो।

२३ कात्तिक २०७६ मा ८३ करोड ९९ लाख रुपैयाँमा तीन वर्षभित्र काम सक्ने गरी सम्झौता भएको यो परियोजना २०७९ कात्तिकभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको थियो। तर निर्माण प्रगति करिब २५ प्रतिशत मात्र पुगेपछि, दुई पटक म्याद थपिँदा पनि काम अगाडि नबढेपछि ठेक्का तोडिएको योजना कार्यालयका प्रमुख युवराज पोखरेलले बताए।

कम प्रगति, बारम्बार ताकेता बेवास्ता

उक्त सडकका कतिपय भाग ४ लेन र कतिपय ६ लेनमा स्तरोन्नति गर्ने समझदारी थियो। तर निर्माण व्यवसायीले ताकेता बेवास्ता गरेको, साइट ठप्प बनाएको, कार्यतालिका तथा स्रोत परिचालन योजना विश्वसनीय नभएको र चित्तबुझ्दो स्पष्टीकरण नआएपछि सार्वजनिक खरिद कानूनअनुसार ठेक्का रद्द गरिएको कार्यालयले स्पष्ट पारेको छ।

ठेक्का रद्दसँगै ४ करोड १९ लाख रुपैयाँ कार्य सम्पादन जमानत र ९ करोड ६७ लाख रुपैयाँ पेश्की (१०% ब्याजसहित) जफतका लागि बैंकमा पत्राचार भइसकेको कार्यालयले जनाएको छ। साथै कम्पनीलाई कालोसूचीमा राख्न सिफारिस गरिने तयारीसमेत छ।

योजना कार्यालयले १५ दिनभित्र उपस्थित भएर नापजाँच तथा वित्तीय फरफारक प्रक्रियामा सहकार्य गर्न निर्माण कम्पनीलाई आग्रह गरेको छ। समयमै उपस्थित नभएमा कार्यालयले स्वयं नापजाँच अघि बढाउने जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *