मिथिलाञ्चलको सांस्कृतिक गाथामा गहिरो स्थान ओगटेको सल्हेश फूलवारी मा यस वर्ष पनि अनौठो रहस्य बोकेको सुनाखरी फूल फुलेको छ।
हरेक वर्ष जस्तै, नयाँ वर्षको पहिलो दिन अर्थात् बैशाख १ गते मात्र फुल्ने यो फूल हेर्न आज बिहानैदेखि फूलवारीमा श्रद्धालु तथा पर्यटकहरूको भीड लागेको छ।

सल्हेश फूलवारी सिराहा जिल्लाको लहान नजिक अवस्थित छ। यहाँको मुख्य आकर्षण रहन्छ — वर्षको एकमात्र दिन फुल्ने सुनाखरी फूल। न देखिने न चिनिने यो फूल बैशाख १ गतेको बिहान अचानक फुल्ने र केही दिनमै हराउने स्थानीयहरू बताउँछन्।

स्थानीय जनमान्यता अनुसार यो फूल वीर सल्हेश को स्मृतिमा फुल्छ। सल्हेश मिथिला क्षेत्रका न्यायप्रिय योद्धा तथा आदर्श प्रेमीको रूपमा स्मरण गरिन्छन्। जनजातीय लोककथामा उनी श्रमजीवी र उत्पीडित वर्गका पक्षमा सदैव आवाज उठाउने साहसी पात्रका रूपमा चित्रित छन्।

फूल हेर्न आएका श्रद्धालुहरूका अनुसार हरेक वर्ष फूल फुल्नुलाई अद्भुत चमत्कार मानिन्छ। फूलसँग जोडिएको विश्वासअनुसार यो प्रकृतिको विशेष संकेत हो, जुन वीर सल्हेशको उपस्थितिको अनुभूति गराउँछ।

यस अवसरमा आज सल्हेश फूलवारीमा सल्हेश मेला समेत आयोजना गरिएको छ। मेलामा मिथिलाञ्चलका विभिन्न ठाउँबाट आएका श्रद्धालुहरूले सल्हेश गीत, नाचगान र पूजा आराधना गर्दै सांस्कृतिक उत्सवमा सहभागिता जनाएका छन्।

स्थानीय समाजसेवीहरू भन्छन्, “सुनाखरी फूल हाम्रो संस्कृति, आस्था र इतिहासको जिवन्त प्रतीक हो। हामी यो परम्परालाई जोगाउने प्रयासमा छौं।”

सल्हेश फूलवारी नेपालको पर्यावरणीय, ऐतिहासिक र धार्मिक दृष्टिले अध्ययनयोग्य तथा पर्यटकहरूका लागि आकर्षक गन्तव्य बन्न सक्ने सम्भावना बोकेको स्थल हो।

0
0

By Dev

Leave a Reply

Your email address will not be published. Required fields are marked *