विराटनगर- राजनीतिक अस्थिरतासंगै जेनजी आन्दोलनबाट शिथिल बनेको आर्थिक क्षेत्रलाई चलायमान बनाउने उद्देश्यसहित विराटनगरमा विराट ट्रेड एक्स्पो २०८२ हुने भएको छ ।


विराटनगरमा सोमबार आयोजित पत्रकार सम्मेलनमा आयोजक मोरङ उद्योग ब्यापार संघले एक्स्पो पौष ९ गतेबाट १९ गतेसम्म हुने जानकारी दिएको छ । पत्रकार सम्मेलनमा संघका अध्यक्ष अनुपम राठीले यसपटक एक्स्पो विराटनगर १ जिल्ला प्रहरी कार्यालय नजिकको खुला चौरमा हुने जानकारी दिए ।


अध्यक्ष राठीले विराटनगर क्षेत्रका आर्थिक गतिविधिलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा झल्काउँदै आर्थिक क्षेत्रलाई चलायमान बनाउने उद्देश्ले गर्न लागिएको बताएका थिए ।
एक्स्पोमा विभिन्न उत्पादनका करिब २ सय ३० वटा स्टल रहने जानकारी दिएका अध्यक्ष राठीका अनुसार एक्स्पोमा करिब २ लाख सर्वसाधारणले आवलोकन गर्ने अपेक्षा गरेको बताए । जहाँ स्वदेशी उत्पादनसहित कृषि, पर्यटन, ऊर्जा लगायत अन्य सम्भावित क्षेत्रहरुको प्रवद्र्धन एवं विकासलाई जोडिने बताएका अध्यक्ष राठीले घरेलु, साना, मझौला तथा ठूला उद्योगका उत्पादनसंगै यस प्रदेशका महत्व झल्किने कला–संस्कृति, पर्यटनलगायतलाई समेत समावेश गरिने उनले बताए ।


त्यसैगरी, एक्स्पोमा छिमेकी राष्ट्र भारत, बंगलादेश, पाकिस्तानबाट समेत ब्यापारिक स्टल राखिने उनको भनाइ छ । एक्स्पोमा स्टार्टअप, साना तथा मध्यम उद्यम, पर्यटन, सूचना प्रविधि, कर तथा लेखा, र महिला उद्यमशीलता सम्बन्धी विभिन्न छलफल तथा गोष्ठीमार्फत सहभागीहरूलाई उपयोगी ज्ञान, सीप र अवसर प्रदान गरिने बताइएको छ ।
त्यसैगरी, एक्स्पोलाई ब्यापारिक केन्द्रमा मात्र सीमित नराखी मनोरञ्जनका लागि सांगीतिक कार्यक्रम समेत गरिने संघले जनाएको छ । यसपटक एक्स्पोमा कुमः सागर, रक हेड्स, कुटुम्वलगायतले मनोरञ्जन दिनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *