मोरङको धनपालथान गाउँपालिकामा राजवंशी समाज विकास समिति, धनपालथान गापा समितिको आयोजनामा २०८२ साल पौष २९ गते ९औँ राष्ट्रिय भक्का दिवस भव्य रूपमा सम्पन्न भएको छ।
कार्यक्रमको अध्यक्षता सुनीता राजवंशीले गर्नुभएको थियो भने प्रमुख अतिथिका रूपमा धनपालथान गाउँपालिका–६ का वर्तमान वडाध्यक्ष मोहम्मद हुसैन(रोजित) को उपस्थिति रहेको थियो। कार्यक्रममा स्थानीयवासी, विभिन्न समुदायका प्रतिनिधि तथा शुभेच्छुक गरी करिब १८ सयदेखि २ हजार मानिसको उल्लेखनीय सहभागिता रहेको थियो, जसले यस दिवसको महत्व र लोकप्रियता झल्काएको छ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि मोहम्मद हुसैन (रोजित)ले ९औँ राष्ट्रिय भक्का दिवस सफलतापूर्वक सम्पन्न भएकोमा बधाई तथा शुभकामना व्यक्त गर्नुभयो। उहाँले राजवंशी समुदायलाई इमानदार, मर्यादित र अनुशासित समुदायको रूपमा उल्लेख गर्दै आफ्नो ८ वर्षे वडाध्यक्ष कार्यकालमा राजवंशी समुदायले शिक्षा, सामाजिक सद्भाव, विकास र स्थानीय सम्पत्तिको संरक्षणमा सधैं सहयोग गरेको अनुभव साझा गर्नुभयो। विशेषगरी जेन–जेड पुस्तासँग समेत समुदायले निरन्तर संवाद र सहकार्य गर्दै आएको उहाँको भनाइ थियो। सो अवसरमा उहाँले कार्यक्रमका लागि रु. ५० हजार आर्थिक सहयोग प्रदान गर्ने घोषणा पनि गर्नुभयो।
कार्यक्रममा विभिन्न वक्ताहरूले आ–आफ्नो धारणा राख्दै भक्का खानपान, कला, संस्कृति र सभ्यताको संरक्षण तथा प्रवर्द्धनमा राष्ट्रिय भक्का दिवसको भूमिका महत्वपूर्ण रहेको बताए। कार्यक्रममा राजवंशी समाज विकास समिति केन्द्रिय उपाध्यक्ष लक्ष्मी राजवंशी, अधिवक्ता राजकुमार राजवंशी, किराँत याक्थुङ चुम्लुङ केन्द्रिय सदस्य नारायण प्रसाद योङ्सो, तथा गेटवेल अस्पतालका निर्देशक राजेन्द्र चौधरी (राजवंशी) लगायतको सहभागिता रहेको थियो।
यस अवसरमा राष्ट्रपति कार्यालयबाट जारी शुभकामना सन्देश पनि स्मरण गरिएको थियो। शुभकामना सन्देशमा भाषा, संस्कृति, चाडपर्व र परम्परा नेपालको मौलिक पहिचान र गौरव भएको उल्लेख गर्दै तिनको संरक्षण, संवर्द्धन र विकास गर्नु सबै नेपालीको साझा दायित्व भएको बताइएको छ। विविध जातजाति, भाषाभाषी र संस्कृतिले भरिएको नेपालमा यस्ता दिवसहरूले सद्भाव, मित्रता, भ्रातृत्व र राष्ट्रिय एकताको भावना मजबुत बनाउने विश्वास व्यक्त गरिएको छ।
कार्यक्रममा सहभागी वक्ताहरूले भविष्यमा राष्ट्रिय भक्का दिवसले राजवंशी समुदाय मात्र नभई समग्र नेपाली समाज र राष्ट्रको सांस्कृतिक पहिचानलाई थप उजागर गर्ने विश्वास व्यक्त गरे।
