राम कुमार शर्मा
बिराटनगर, ४ चैत
नेपाल प्रहरीको ३१औँ प्रहरी महानिरीक्षक ( IGP ) मा दीपक थापा नियुक्त भएका छन्। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले प्रहरी अतिरिक्त महानिरीक्षक ( IGP ) थापालाई आईजीपीमा बढुवा गर्ने निर्णय गरेको हो।
नवनियुक्त प्रहरी प्रमुख थापा यसअघि केन्द्रीय अनुसन्धान ब्यूरो ( CIB ) को नेतृत्व गरिरहेका थिए। प्रहरी नियमावली, २०१२ अनुसार सरकारले उपयुक्त देखेका उम्मेदवारलाई प्रहरी महानिरीक्षकमा बढुवा गर्न सक्ने व्यवस्था छ।

थापासँगै एआईजी टेकबहादुर तामाङ र सुदीप गिरी पनि प्रहरी प्रमुख बन्ने दौडमा थिए। अन्तिम समयमा तीनै जना आकांक्षीहरूले राजनीतिक समर्थन जुटाउन सक्रिय प्रयास गरेका थिए। तर, सरकारले वरिष्ठताको आधारमा थापालाई प्रहरी प्रमुख बनाउने निर्णय गरेको हो।
थापाले अबको कार्यकालमा संगठनको सुदृढीकरण, शान्ति सुरक्षा व्यवस्थापन, र अपराध नियन्त्रणलाई प्रभावकारी बनाउन भूमिका खेल्ने अपेक्षा गरिएको छ।