देवनारायण शर्मा
विराटनगर, १० असार
विराटनगरमा कुकुर संरक्षणको विषयमा सहायता माग्दै नगर प्रमुखको कार्यकक्ष पुगेका एलिना प्रसाईं र साहिल प्रसाईंबीच मेयर नागेश कोइरालासँग भनाभन भएको छ।
रानी क्षेत्रमा सञ्चालित ‘एलिना एनिमल्स प्रिजर्भेसन नेपाल’ नामक कुकुर सेल्टरका समस्या सुनाउँदै आर्थिक सहयोगको माग गर्दा, मेयर कोइरालाले नगरपालिकाको नीति अनुसार कुनै संस्थालाई बजेट नदिने स्पष्ट पारेका थिए।
“नीति तथा कार्यक्रममै उल्लेख गरिएको छ– हामी आफैँ सेवा दिन्छौँ, कुनै संस्थालाई बजेट दिँदैनौँ,” मेयर कोइरालाले भने, “धेरै पशु संरक्षण संस्थाहरूले माग गरेका छन्, एकलाई दिँदा अरु सास्थालाई पनि दिनु पर्छ, त्यहि भएर सबैलाई दिन सकिँदैन।”
यो जवाफपछि एलिना प्रसाईं भावुक बनेकी थिइन् र आँखा रसाएकी थिइन्। यता, साथमा रहेका उनका दाजु साहिल प्रसाईंले आवेगमा केही अपशब्द प्रयोग गर्दै “यी मुला मेयरले केही गर्दैनन्” भनेपछि वातावरण केही तिक्त बनेको थियो।
स्रोतका अनुसार, मेयर कोइराला सो शब्दप्रति आक्रोशित भएपनि कुनै हिंसात्मक व्यवहार नगरेको बताइएको छ।
साहिल प्रसाईंले भने सामाजिक सञ्जालमा पोस्ट गर्दै आफूलाई धम्की र हातपातको प्रयास गरिएको दाबी गरेका छन्। तर नगर प्रमुख पक्षले यस्तो आरोपलाई अस्वीकार गर्दै सामान्य विवाद मात्र भएको बताएका छन्।
सार्वजनिक सेवा र जनप्रतिनिधिको भूमिकामाथि फेरि प्रश्न उठाउने गरी घटेको यो घटनाले पशु संरक्षणको सवालमा नीति र कार्यान्वयनबारे गम्भीर बहस उठाएको छ।