काठमाडौँ — गणतन्त्र पक्षधर समाजवादी मोर्चा र राजतन्त्र पुनर्स्थापनाको पक्षधर समूहहरूले आज काठमाडौँमा छुट्टाछुट्टै विरोध प्रदर्शन गर्दै छन्। गणतन्त्रको पक्षमा समाजवादी मोर्चाले सरकारका गलत नीतिहरू र ‘प्रतिगमन’ विरुद्ध शक्ति प्रदर्शन गर्ने जनाएको छ भने राजतन्त्र पुनर्स्थापनाको माग गर्दै राजतन्त्र समर्थक दलहरू प्रदर्शनमा उत्रने तयारीमा छन्।
गणतन्त्र पक्षधरहरूको प्रदर्शन
समाजवादी मोर्चाले माइतीघर, कुपण्डोल, त्रिपुरेश्वर, सुन्धारा, न्युरोड, सोह्रखुट्टे, शान्ति बाटिका, मैतीदेवी लगायत क्षेत्रबाट जुलुस निकाल्ने तयारी गरेको छ। जुलुसपछि भृकुटीमण्डपमा सभा हुनेछ, जहाँ माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द, नेपाल समाजवादी पार्टीका अध्यक्ष महिन्द्र राय यादवलगायत नेताले सम्बोधन गर्नेछन्।
माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले प्रदर्शनमा एक लाखभन्दा बढी सहभागिता हुने दाबी गरेका छन्। राजधानी आसपासका जिल्लाबाट प्रदर्शनकारीलाई काठमाडौँ ल्याउन सवारी साधनको समेत व्यवस्था गरिएको छ।
राजतन्त्र पक्षधरहरूको प्रदर्शन
राजतन्त्र पक्षधरहरू भने तीनकुनेमा प्रदर्शन गर्दैछन्। काठमाडौँ जिल्ला प्रशासन कार्यालयले उनीहरूलाई सो क्षेत्र प्रदर्शनका लागि तोकेको हो। राजतन्त्र पक्षधरहरूको प्रदर्शनको नेतृत्व राप्रपा, राप्रपा नेपाल लगायत दलहरूले गरिरहेका छन् भने दुर्गा प्रसाईंलाई प्रदर्शनको कमाण्डर तोकिएको छ।
सुरक्षा व्यवस्था कडा
दुवै पक्षको प्रदर्शन एकैदिन परेका कारण सुरक्षा सतर्कता उच्च बनाइएको छ। प्रहरी प्रशासनले दुवै समूहको प्रदर्शनलाई अलग राख्ने र आम नागरिकमा असहजता नहोस् भन्ने उद्देश्यले विशेष सुरक्षाको व्यवस्था मिलाएको जनाएको छ।
दुवै समूहले आफ्नो शक्ति प्रदर्शन भव्य हुने दाबी गरेका छन्, जसका कारण काठमाडौँको माहौल राजनीतिक रूपमा तातेको देखिन्छ।