काठमाडौं | सरकारले ६ वर्षपछि पुनः सडक प्रयोग गरेबापत दस्तुर (पट्के ट्याक्स) उठाउने व्यवस्था सक्रिय पारेको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय मातहतको सडक बोर्ड नेपालले मंसिर १ गतेदेखि भैरहवा–भूमही २९ किलोमिटर सडकमा दस्तुर उठाउन थालेसँगै देशभरका २२ सडकमा टोल गेट सञ्चालन गर्ने तयारी गरेको हो।

बोर्डका अनुसार भैरहवा–भूमही खण्डमा दैनिक ७५ देखि ८० हजार रुपैयाँसम्म संकलन भइरहेको छ। ठूला सवारी साधनले ३० रुपैयाँ र साना तथा मझौला सवारीले २० रुपैयाँ तिर्ने व्यवस्था छ। उठेको रकममध्ये दुई तिहाइ सडक मर्मत–सम्भारमा खर्च गरिने र एक तिहाइ बोर्डको कोषमा राखिने बताइएको छ। दस्तुर उठाउने सबै प्रक्रिया डिजिटल हुँदै आएको बोर्डले जनाएको छ।

यस्तै, मुग्लिन पोखरा र नारायणघाट बुटवल सडक खण्डमा पनि छिट्टै टोल गेट सञ्चालनमा ल्याइने भएको छ। मन्त्रालयले देशभर २२ सडकमा दस्तुर लागू गर्ने योजनाअनुरूप आवश्यक तयारी तीव्र बनाएको छ। नागढुंगा सुरुङमार्ग सञ्चालनमा आएपछि त्यहाँ प्रवेश गर्ने सवारी साधनबाट ५० देखि ५०० रुपैयाँसम्म दस्तुर लिने कार्यविधि पनि पारित भइसकेको छ।

कोरोना महामारीअघि नौबिसे, मुग्लिन, गैंडाकोटलगायत क्षेत्रमा लागू गरिएको पट्के दस्तुर प्रणाली २०७६ यता बन्द भएको थियो। अब स्तरोन्नति भएका सडकहरू सुचारु भएपछि क्रमशः सबै स्थानमा दस्तुर लागू गरिने मन्त्रालयको भनाइ छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *