अशोक कुमार ठाकुर
काठमाडौं, ९ चैत
अन्तर्राष्ट्रिय फुटबल खेलमा सिंगापुरविरुद्ध नेपालले पहिलो जित हात पारेको छ । मैत्रीपूर्ण अन्तर्राष्ट्रियका लागि दुई टोली ३६ वर्षपछि एक अर्काविरुद्ध मैदान उत्रिँदा नेपालले सिंगापुरलाई १-० गोल अन्तरले हराएको हो ।
सिंगापुरविरुद्ध औपचारिक खेलमा इतिहासमै पहिलो पटक गोल गरेको नेपालले सोही गोलमार्फत बनेको अग्रता जोगाउँदै जित हात पार्यो ।
सिंगापुर नेसनल स्टेडियममा जिलेस्पीजंग कार्कीले खेलको १२औं मिनेटमा गोल गर्दै नेपाललाई अग्रता दिलाए । मुख्य प्रशिक्षक म्याट रसको प्रशिक्षणमा पहिलो खेल खेलेको नेपालले सोही अग्रतालाई अन्त्यसम्म कायम गर्यो ।
त्रिभुवन आर्मी एफसीबाट घरेलु फुटबल खेल्ने जिलेस्पीले नेपालका लागि लगातार दोस्रो खेलमा गोल गरेका हुन् । उनले यसअघि गत नोभेम्बरमा भएको अफगानिस्तानविरुद्धको मैत्रीपूर्ण खेलमा पनि गोल गरेका थिए ।
नेपाल र सिंगापुर सन् १९८९ पछि पहिलो पटक आमुन्ने सामुन्ने भएका हुन् । यसअघि नेपाल र सिंगापुरबीच ४ पटक प्रतिस्पर्धा भएको थियो। जहाँ सिंगापुरले ३ खेल जित्दा १ खेल गोलरहित बराबरीमा सकिएको थियो ।
नेपालले एएफसी एसियन कप छनोटको तयारीका क्रममा मैत्रीपूर्ण खेल खेलको हो । छनोट अन्तर्गत नेपालले चैत १२ गते मलेसियासँग खेल्नेछ । यसै खेलमार्फत डिफेन्डर सुमन श्रेष्ठले नेपाली राष्ट्रिय फुटबल टोलीबाट अन्तर्राष्ट्रिय डेब्यू गरेका छन् ।