मोरङको कानेपोखरी गाउँपालिकास्थित जनसेवा माध्यमिक विद्यालयको प्राङ्गणमा आयोजित दशौँ राष्ट्रिय CHITF तेक्वान्दो च्याम्पियनसिप प्रतियोगिता – २०८२ शनिबार एक विशेष समापन समारोहका साथ सम्पन्न भएको छ। प्रतियोगिता कोशी प्रदेश CHITF तेक्वान्दो संघको आयोजनामा तथा कानेपोखरी गाउँपालिकाको सहकार्यमा तीन दिनसम्म सञ्चालन भएको थियो।
गत जेष्ठ १५ गतेदेखि सुरु भएको प्रतियोगितामा देशका विभिन्न १२ जिल्लाहरू—नवलपरासी, बाग्लुङ, रुपन्देही, पाल्पा, गुल्मी, तेह्रथुम, काठमाडौं, भक्तपुर, कास्की, काभ्रे, म्याग्दी र मोरङ—बाट करिब ३ सय खेलाडीहरूको उत्साहजनक सहभागिता रहेको थियो। तेक्वान्दो संघका सचिव दिनेश सुब्बाले यो प्रतियोगिता राष्ट्रिय स्तरमा खेलाडीहरूको क्षमता अभिवृद्धि तथा अनुशासन विकासमा सहायक हुने विश्वास व्यक्त गरे।
तीन दिनसम्म चलेको प्रतिस्पर्धामा विभिन्न तौल समूह र उमेर वर्गका खेलाडीहरूले आफ्नो तेक्वान्दो कौशल प्रदर्शन गरे। दर्शक तथा अभिभावकको बाक्लो उपस्थितिका बीच खेलहरू रोमाञ्चक र प्रतिस्पर्धात्मक बने।
प्रतियोगिताको समापन कार्यक्रममा कानेपोखरी गाउँपालिका अध्यक्ष राजमती इङ्नाम, उपाध्यक्ष भोलनाथ अधिकारी, विभिन्न वडाका अध्यक्षहरू, राजनीतिक दलका प्रतिनिधि तथा संघ–संस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। विजयी खेलाडीहरूलाई नगद पुरस्कार, मेडल तथा प्रमाणपत्र प्रदान गरियो।





