देवनारायण शर्मा
विराटनगर, १८ वैशाख

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा लगानीका लागि पर्याप्त सम्भावना र अनुकूल वातावरण रहेको बताउँदै स्वदेशी तथा विदेशी लगानीकर्तालाई ढुक्क भएर लगानी गर्न आग्रह गर्नुभएको छ।

कोशी प्रदेश सरकारले आयोजना गरेको ‘कोशी लगानी सम्मेलन २०८२’ उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले सांस्कृतिक, धार्मिक, र पर्यटकीय हिसाबले नेपाल आकर्षक गन्तव्य भएको उल्लेख गर्नुभयो। उहाँले प्रशासनिक संयन्त्रलाई आन्तरिक तथा बाह्य लगानी परिचालनमा अझ सक्रिय हुन निर्देशन समेत दिनुभयो।

“सडक, पुललगायतका पूर्वाधारहरू निर्माण भइसकेका छन्। सरकारका तर्फबाट कुनै अवरोध आउने छैन। हामी आवश्यक समन्वय र सहकार्य गर्न सधैं तयार छौं,” प्रधानमन्त्री ओलीले भन्नुभयो।

उहाँले कोशी प्रदेशको पूर्वाधार विस्तार उल्लेख गर्दै छ लेनको पूर्व–पश्चिम राजमार्ग निर्माण भइरहेकाले उत्पादनदेखि बजारसम्म सहज पहुँच सम्भव भएको जानकारी दिनुभयो। साथै, गुणस्तरीय वस्तु उत्पादनमा केन्द्रित हुनुपर्नेमा जोड दिँदै कच्चा पदार्थ आयात गरी स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो।

प्रधानमन्त्री ओलीले कोशी प्रदेशमा रहेको पूर्वाधार, विमानस्थल विस्तार, धार्मिक तथा प्राकृतिक सम्पदा, शिक्षित र मेहनती जनशक्ति जस्ता विशेषताहरूले लगानीमैत्री वातावरण सृजना गरेको बताउनुभयो। “सगरमाथा, जडिबुटी क्षेत्र, हिमाल र सम्पदा–सम्पन्न भूगोलले यो प्रदेश लगानीको केन्द्र बन्न सक्छ,” उहाँले भन्नुभयो।

युवालाई रोजगारीको खोजीमा विदेश जानु भन्दा स्वदेशमै उद्यमशीलतामा लाग्न आग्रह गर्दै प्रधानमन्त्रीले भने, “उद्यमशीलता दशक सफल भयो भने रोजगारी दशक पनि सफल हुन्छ। सरकार तालिम, सोच र सीप विकासमा साथ दिन तयार छ।”

साथै, प्रधानमन्त्रीले सगरमाथाको अन्तर्राष्ट्रिय ‘ब्राण्डिङ’ “माउन्ट एभरेष्ट” नभई “सगरमाथा” नामबाट गर्नुपर्नेमा जोड दिनुभयो।

सम्मेलनमा उहाँले अन्तर्राष्ट्रिय श्रम सङ्गठनको मान्यताअनुसार श्रमिक अधिकार, ट्रेड युनियन स्वतन्त्रता, र रोजगारदाता–श्रमिकबीच संवाद कायम राख्न सरकार प्रतिबद्ध रहेको पनि लगानीकर्ताहरूलाई जानकारी गराउनुभयो।

कार्यक्रममा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले स्वागत मन्तव्य दिनुभएको थियो।

0
0

By Dev

Leave a Reply

Your email address will not be published. Required fields are marked *