NV Khabar ( समा)
बिराटनगर ,१० वैशाख
भारतको जम्मू-कास्मिरस्थित पहलगाम नजिकैको बैसारन उपत्यकामा सोमबार भएको भीषण आक्रमणमा एक नेपाली नागरिकको पनि मृत्यु भएको पुष्टि भएको छ।
भारतीय पर्यटकलाई लक्षित गरी भएको उक्त आक्रमणमा हालसम्म २७ जनाको मृत्यु भएको छ। टाइम्स अफ इन्डिया अनुसार, ज्यान गुमाउनेमा एक नेपाली, एक यूएई नागरिक तथा बाँकी सबै भारतीय रहेका छन्। नेपाली मृतकको नाम र ठेगाना हालसम्म सार्वजनिक गरिएको छैन।
बैसारन उपत्यका, जुन पहलगामबाट करिब ५ किलोमिटर टाढा पर्छ, त्यही क्षेत्रमा उक्त आक्रमण भएको हो। जम्मू–कास्मिर प्रहरीका महानिरीक्षक विद्यकुमार बिर्डीका अनुसार, घटनास्थलसम्म प्रहरीले अझै पुग्न सकेको छैन। आक्रमणको जिम्मा अहिलेसम्म कुनै पनि समूहले लिएको छैन।
घटनापछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो साउदी अरब भ्रमण छोट्याउँदै मंगलबार राति नै भारत फर्किएको जनाइएको छ। उनको प्रारम्भिक कार्यक्रम अनुसार बुधबार रातिसम्म साउदीमै बस्ने योजना थियो।