रमेश कुमार मण्डल/ उदयपुर, साउन १६ शुक्रवार
अध्ययन गर्न मन त धेरैको हुन्छ, तर साधन नभएर पछि पर्ने विद्यार्थीहरूको कथा हामीले धेरै सुनेका छौं। यस्तै केही विद्यार्थीहरूका अनुहारमा बिहीबार उत्साह देखिन्थ्यो। किनभने उनीहरूले पहिलो पटक आफ्नै नयाँ झोला, कापी र जमेट्री हात पारिरहेका थिए।

प्राज्ञिक विद्यार्थी परिषद् नेपाल र सेवा तथा विकासका लागि युवाको संयुक्त प्रयासमा उदयपुर जिल्लास्थित बिहीवार दुई सामुदायिक विद्यालयमा शैक्षिक सामग्री वितरण कार्यक्रम सम्पन्न भएको हो। त्रियुगा नगरपालिका वडा १० स्थित श्री बालमन्दिर माध्यमिक विद्यालय र वडा ११ मा रहेको श्री त्रियुगा माध्यमिक विद्यालय, गाईघाटमा अध्ययनरत ११० जना विद्यार्थीलाई नयाँ झोला, कापी, जमेट्री प्रदान गरिएको छ। साथै, विद्यालयलाई नेपाली शब्दकोश र प्राज्ञिक बोलचाल पुस्तकसमेत हस्तान्तरण गरिएको छ।

कार्यक्रममा त्रियुगा नगरपालिकाका मेयर श्री बसन्त बस्नेत, प्राज्ञिक विद्यार्थी परिषद् नेपालकी राष्ट्रिय सचिव सुश्री मुना बिष्ट, कोशी प्रदेश सचिव श्री नरेश प्रसाद ताजपुरिया, प्रदेश सदस्य श्री जीवश प्रसाद शाह, विद्यालयका प्रधानाध्यापक, शिक्षक, व्यवस्थापन समिति र स्थानीय विशिष्ट व्यक्तिहरूको उपस्थिति थियो।

विद्यार्थीहरूको अनुहारमा देखिएको खुशीले कार्यक्रमको प्रभाव मापन गर्न सजिलो बनायो। “पढ्न मन लाग्छ, अब सजिलो पनि हुनेछ”, एक विद्यार्थीले खुसी हुँदै भनिन्। परिषद्का प्रतिनिधिहरूले शैक्षिक सामग्रीले सिकाइमा सहजता ल्याउने विश्वास व्यक्त गर्दै आगामी दिनमा अझ प्रभावकारी कार्यक्रम सञ्चालन गरिने बताए।
