विराटनगर – कैलाली जिल्ला कारागारमा एक कैदीको रहस्यमय अवस्थामा मृत्यु भएको छ। डडेल्धुराका २८ वर्षीय हरीश पालीको मृत्युपछि उनका आफन्तले कारागारभित्रै कुटपिट गरी हत्या गरिएको गम्भीर आरोप लगाएका छन्।
बैंकिङ कसुरमा कैद भोगिरहेका पाली सोमबार राति करिब साढे १० बजे आफ्नो कोठामा अचेत अवस्थामा फेला परेका थिए। तत्कालै सेती प्रादेशिक अस्पताल लगिए पनि उपचारकै क्रममा मृत्यु भएको कैलाली कारागारका जेलर पदम तिमिल्सिनाले जानकारी दिए। उनका अनुसार अस्पताल पु¥याउँदा पालीलाई उच्च ज्वरो र कम रक्तचाप देखिएको थियो।
तर, मृतकको शरीरका विभिन्न भागमा चोटपटक र निलडाम देखिएपछि घटनाले नयाँ मोड लिएको छ। परिवारजनले ती घाउचोटलाई आधार बनाई पालीको स्वाभाविक मृत्यु नभई कुटपिट गरेर हत्या गरिएको दाबी गरेका छन्। ‘शरीरभरि निलडाम र चोटपटक छ, यो बिरामी भएर मरेको होइन, मारेको हो,’ एक आफन्तले भने, ‘न्याय नपाएसम्म हामी शव बुझ्दैनौँ।’
पालीको शव हाल सेती प्रादेशिक अस्पतालमै राखिएको छ। जिल्ला अदालत कैलालीले उनलाई २०८० सालमा बैंकिङ कसुरमा १० दिन कैद र दुई लाख रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो। फैसला पश्चात् फरार रहेका उनलाई असार १ गते मात्र प्रहरीले पक्राउ गरी कारागार चलान गरेको थियो।
यस घटनाबारे विस्तृत छानबिनको माग गर्दै मृतकका आफन्त र अधिकारकर्मीहरूले न्यायको माग गरेका छन्।